रूपबहादुरको पाँच गोल



बाँके, (नेस)  ।

रूपबहादुर लामाको ५ गोलसँगै सुदूरपश्चिमको स्टार सिटी युथ क्लवले कर्णाली प्रदेशको लेकाली युथ क्लबलाई ७–१ गोलले पराजित गरेको छ ।सुदूरपश्चिम पाँचौ खेल खेल्दासम्म अपराजित रहेको छ । बिहीबार पाँचांै खेल खेलेको सुदूरपश्चिमले कर्णालीलाई फराकिलो अन्तरले पराजित गरेको हो । कर्णालीले शुरुवाती गोल गरे पनि मध्यान्तर पछि सम्हालिन नसक्दा धेरै गोल खाएको थियो ।

कर्णालीका रोशन राना मगरले ९ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । सुदूरपश्चिमका लामाले ३६ मिनेटमा गोल गरेर टिमलाई बराबरीमा फर्काए । मध्यान्तरपछि सुदूरपश्चिम चढेर खेल्दा कर्णाली दबाबमा परेको थियो । सुदूरपश्चिमका लागि ५५ र ६५ मिनेटमा गोल गर्दै रूपबहादुरले ह्याट्रिक पूरा गरे । त्यसपछि ८२ र ८६ मिनेटमा अरु गोल थपे । सुदूरपश्चिमका लागि टोपबहादुर विष्टले ६७ मिनेट र ऋतिक खड्काले ९१ मिनेटमा गोल गरेका थिए ।

नेपालगञ्जमा चलेको एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको सुदूरपश्चिम र एउटा पनि खेल जित्न नसकेको कर्णालीबीचको खेल एकतर्फी हुने आँकलन थियो । मध्यान्तरसम्म राम्रो खेले पनि त्यसपछि कर्णालीले खेल्न सकेन । सुदूरपश्चिमका खेलाडीले खेलाई खेलाई गोल गरे । कर्णाली यसअघि बागमतीसँग ९–१ गोलले पराजित भएको थियो ।सुदूरपश्चिम लिगको शीर्ष स्थानमा रहेको छ । पाँचौं खेल खेल्दा सुदूरपश्चिमको १३ अंक भएको छ । उसले अझै एउटा खेल खेल्न बाँकि रहेको छ ।खेलमा सुदूरपश्चिमका रूपबहादुर ‘म्यान अफ द म्याच’ भए ।

प्रतिक्रिया दिनुहोस्