थ्री नेसन्स कपमा नेपालको नमीठो शुरुआत



नेपाल समाचारपत्र, काठमाडौं  ।

घरेलु टिम नेपालको ‘थ्री नेसन्स कप फुटबल प्रतियोगिता’मा नमीठो शुरुआत भएको छ । दशरथ रंगशालामा बिहीबार खेलेको खेलमा नेपालले पाहुना टिम किर्गिस्तानको यु २३ टिमसँग गोलरहित बराबरी खेलेको हो । यो नतिजासँगै उद्घाटन खेलमा जित निकालेको अर्को पाहुना टिम बंगलादेश फाइनलमा प्रवेश गरेको छ । बंगलादेशले किर्गिस्तानलाई १–० ले हराएको थियो ।

बंगलादेशले ३ अंक जोडेको छ भने नेपाल र किर्गिस्तानको समान १-१ अंक छ । नेपालले शनिबार लिगको दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । नेपालले सो खेलमा बराबरी मात्रै खेले पनि सोमबार हुने फाइनलमा खेल्न पाउनेछ । यदि, ठूलो अन्तरले हारेमा भने किर्गिस्तानको भाग्य खुल्नेछ ।खेलमा बाक्लै दर्शकबीच नेपाली खेलाडीहरू कयौं गोलको अवसर गुमाएका थिए । जसमा एउटा पनि अवसरलाई गोलमा परिणत गर्न सकेन । ६६औं मिनेटमा किर्गिस्तान १० खेलाडीमा सीमित हुँदा पनि त्यसको फाइदा नेपालले लिन सकेन । १० जना खेलाडीबाट खेलेर पनि किर्गिस्तानले बाँकि बचेको समयमा नेपाललाई रोक्यो ।

नेपालले शुरूदेखि नै आक्रमक खेल देखाएका थियो । खेलको पहिलो हाफमा नेपालले धेरै गोल गर्ने मौका खेर फालेको थियो । दोस्रो मिनेटमै अञ्जन विष्टले पोस्ट प्रहार गरे तर, बल पोस्टभन्दा बाहिरियो । अन्जनले नै चौथो मिनेटमा तेज तामाङको फ्रि–किक प्रहारमा हेड गरे पनि बलले गोलको दिशा लिन सकेन ।यसैगरी, नवौं मिनेटमा त्रिदेव गुरुङले गरेको कर्नरमा दिनेश राजवंशीले क्लोज रेन्जमा हेड गरे । त्यो प्रहार पनि खेर गएको थियो । यसको दुई मिनेटमा कर्नर बललाई अनन्त तामाङले हेड गरे तर, बल बाहिरियो । यस्तै, अभिषेक रिजालले २९औं मिनेटमा डिबक्समा गोल गर्ने अवसर खेर फाले । ३३ औं मिनेटमा रवि पासवानले क्रस गरेको राम्रो प्रहारमा पनि अन्जनले गोलपोस्ट नजिकैबाट हाने । उनको प्रहार पोस्टकै नजिकबाट बाहिरियो ।

दोस्रो हाफमा पनि नेपालको आक्रमक खेल जारी रह्यो । ४९औं मिनेटमा कर्नरमा आएको बललाई तेजले हेड गरेको बललाई किर्गिस गोलरक्षकले सजिलोसँगै बचाएका थिए । ६३औं मिनेटमा रन्जित धिमालको फ्रिकिकमा अन्जनको हेड प्रहार पोस्टनजिकैबाट बाहिरियो । लगत्तै रञ्जितकै फ्रिकिकमा अञ्जनको हेड प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।६६औं मिनेटमा किर्गिस्तान १० खेलाडीमा समेटियो । अभिषेक रिजाललाई लडाएपछि भारतीय रेफ्री क्रिस्टल जोनले कप्तान तासिभ कामोलिदिनलाई दोहोरो पहेलो कार्ड देखाएका थिए । ७५औं मिनेटमा दिनेशको पासमा सुजल श्रेष्ठले पेनाल्टी बक्सबाट गरेको प्रहार गोलपोस्टभन्दा माथि गएको थियो । ७९औं मिनेटमा अनन्तको ओभर हेड किकलाई किर्गिस गोलरक्षकले बचाए । यो खेलसँगै संजोक राई र त्रिदेव गुरुङको अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्