धार्मिक द्वन्द्वमाथि मालिनी



बुद्ध थिएटर फेस्टिवलको चौथो दिन मालिनी देखाइएको छ। बंगाली कवि रवीन्द्रनाथ टैगोरको कथामा आधारित नाटकलाई झोराहाट नाट्य समूहले मञ्चन गरेको हो।

हिन्दू र बुद्ध धर्मबीचको द्वन्द्वको कथामा बनेको नाटकले धर्मभन्दा पनि मानवता ठूलो भएको सन्देश दिन्छ। कथाअनुसार काशीकी राजकुमारी मालिनी हिन्दू धर्म मान्ने परिवारमा हुर्के–बढेकी छिन्। तर, बौद्ध भिक्षुको सल्लाहअनुसार मालिनी बुद्ध धर्म ग्रहण गर्छिन्। यसले काशीमा द्वन्द्व सिर्जना गर्छ। हिन्दू धर्मका पक्षपाती मालिनीलाई दरबारबाट निकाल्ने अभियानमा लाग्छन् त्यसमा पनि खास गरी केमानकर। उनले धर्मलाई जीवन–मरणको सवाल बनाउँछन् र हर हालतमा मालिनीलाई देश निकाला गर्नुपर्ने अडान राख्छन्। यता मालिनीलाई भने देश छोड्न कुनै समस्या छैन। उनी त देश राज्य सुख सुविधा सबै छाड्ने अभिप्रायले नै बुद्ध धर्ममा लागेकी हुन्छिन्। तर, दरबार त्याग्ने बेलामा उनले गरेका कुराले हिन्दू ब्राह्मण पनि प्रभावित हुन्छन् र मालिनीको अनुयायी बन्छन्। यसले केमानकरलाई झन् इखालु बनाउँछ र उनी बाहिरको सेना बोलाएर पनि राज्य आक्रमणको तानाबुना बुन्न थाल्छन्। धर्मलाई निरपेक्षरूपमा हेर्नुपर्छ भन्ने मत राख्ने सुप्रियाको मद्दतले काशीका राजाले केमानकरका सबै षड्यन्त्र असफल पार्छन्।

१ घन्टा समयावधिको नाटकलाई सुदीपजंग कार्कीले निर्देशन गरेका हुन्। नाटकको अनुवाद नेचुरल्ली दीपकले गरेका हुन्। नाटकमा भरत गुरागाईं, प्रज्ज्वलकाफ्ले, गोमा पौडेल, सुरज माझी, प्रदीप सरदारलगायतका कलाकारले अभिनय गरेका छन्। भगवान् गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यसहित डबली थिएटरको आयोजनामा शुरु भएको बुद्ध थिएटर फेस्टिभल भोलि शनिबारसम्म चल्नेछ। फेस्टिभलको पाँचौं दिन बिहीबार भने हङकङबाट सहभागी नाटक सिद्धार्थ इन हङकङ देखाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्