स्काभेटर पल्टिँदा चालकको मृत्यु



पाँचथर । यहाँको सडकको ट्र्याक खोल्दै गरेको स्काभेटर पल्टिदा चालकको मृत्यु भएको छ । निर्माणाधीन तमोर कोरिडोर सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा ट्र्याक खोल्दै गरेको ना १ क ८३२१ नम्बरको स्काभेटर आज चिप्लिएर दुर्घटना भएको हो । भीरमा ट्र्याक खोल्दै गरेको स्काभेटर चिप्लिएर करिब ५०० मिटर तल झरेर दुर्घटना भएको हो ।

दुर्घटनामा स्काभेटर चालक दोलखाको तामाकोशी गाउँपालिका–३ पुरानोगाउँका २८ वर्षीय पवन महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उक्त दुर्घटनामा चालकको टाउको र शरीर फरकफरक स्थानमा फेला परेको प्रहरीले जनाएको छ । तारे भीरबाट झरेको स्काभेटर तीन टुक्रा भएको छ । चालकलाई स्काभेटरको धारिलो भागले काटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सामुदायिक वन क्षेत्र भएकाले यहाँ सडक विस्तारको कार्य लामो समयदेखि अवरुद्ध थियो । हालैमात्र यहाँ सडकको ट्र्याक खोल्ने काम शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्