‘पहाडकी रानी’ मा चहलपहल



तनहुँ ।

कोभिड–१९ का कारण विश्व नै आक्रान्त बन्यो । मान्छेले मान्छेलाई देख्दा भाग्नुपर्‍यो । एक स्थानबाट अर्को स्थान जान रोक लगाइयो । व्यापार, कलकारखाना, उद्योग धन्दा, विद्यालय, यातायातलगायतका सबै ठप्प भए । यो काहाली लाग्दो समय पार गर्दै अहिले पुनः सबै क्षेत्रमा चहलपहल बढ्न थालेको छ ।

‘पहाडकी रानी’ बन्दीपुरमा पछिल्लो समय आन्तरिक एवं बाह्य पाहुनाको चहलपहलमा वृद्धि हँुदै गएपछि होटल व्यवसायी खुशी भएका छन् । बन्दीपुरमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक हुने गरेको तनहुँ उद्योग वाणिज्य सङ्घ, बन्दीपुर बजार एकाइका सभापति एवं होटल व्यवसायी बैश गुरुङले जानकारी दिनुभयो ।

दिनमा झण्डै छ –सात सयका हाराहारीमा घुम्न आउने गरे पनि बास बस्ने पर्यटक भने कम रहेका छन् । उहाँले भन्नुभयो, “होटलमा बास बस्नेको सङ्ख्या मुश्किलले डेढ÷दुई सय हुने गरेको छ ।” आन्तरिक पर्यटकको भीडमा न्यून सङ्ख्यामा आठ÷दश बाह्य पर्यटक देखिन थालेपछि व्यवसायी उत्साहित भएको उहाँले बताउनुभयो ।

प्याराग्लाइडिङको रौनक

पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको सो क्षेत्रमा एक पटक पुगेका पर्यटक पुनः दोहो¥याएर जाने गरेका छन् । बन्दीपुरको पाराग्लाइडिङ पर्यटकको रोजाइमा पर्न थालेपछि भीड बढ्न थालेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो ।

“बन्दीपुरमा आन्तरिक पर्यटक बढ्दै गएको र प्याराग्लाइडिङमा रमाउनेको सङ्ख्या पनि वृद्धि हुन थालेपछि व्यवसायी खुशी हुन थालेको छ”,उहाँले भन्नुभयो ।

साहसिक पर्यटकका लागि बन्दीपुरको थानीमाई डाँडाबाट प्याराग्लाइडिङ गरी बन्दीपुर–२ स्थित भूमर्सेमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ । पोखराको ब्लु स्काइ कम्पनीले पर्यटकलाई ल्याएर प्याराग्लाइडिङ गराउँदै आएको बताइएको छ । दिनहुँ नभए पनि कुनैकुनै दिन २० देखि ५० जनासम्म पर्यटक ल्याएर प्याराग्लाडिङ गराउँदा बन्दीपुरमा छुट्टै रौनक थपिएको छ । ब्लु स्काइले पर्यटकलाई प्याकेज बनाएर उडाउने गरेको समितिले जनाएको छ ।

उक्त कम्पनीले तीन वर्ष अघिदेखि नै कम्पनी दर्ता गरी प्याराग्लाइडिङ थालेको समितिका अध्यक्ष प्रधानले बताउनुभयो । विगत वर्षमा चीन, अमेरिका, फ्रान्स, इटाली, जर्मनीलगायतका पर्यटक आउने गरेकामा कोरोना भाइरसको प्रभावले गर्दा आन्तरिक पर्यटक मात्रै आकाशमा रमाउने गरेका छन् ।

एक किसिमको हावा आइरहने भएकाले बन्दीपुर प्याराग्लाइडिङको लागि उपयुक्त स्थान मानिएको छ । बन्दीपुरको प्याराग्लाइडिङबाट हिमाल, हरियाली डाडाँकाँडा, सुन्दरबस्ती, टार, नदी, खोलाका साथै अन्य रमणीयस्थल देख्न सकिने भएकाले विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।

प्याराग्लाइडिङको आकर्षण बढाउन थानीमाई जाने सडकको स्तरोन्नति गरिएको छ । उहाँले भन्नुभयो, “प्याराग्लाइडिङ स्थलसँगै मिनी ग्रेटवालका साथै साइकल लेन निर्माण सम्पन्न गरिएको छ ।”

दमौलीको खेलमैदान दोहोरो चपेटामा

तनहुँको सदरमुकाम दमौलीस्थित खुला मैदान दोहोरो चपेटामा परेको छ । व्यास नगरपालिकाले उद्यान र मञ्च निर्माण प्रक्रिया अघि बढाएको तथा सामाजिक सञ्जाल र स्कूल अफ डेमोक्रेसी नेपाल तनहुँले यथास्थितिमा राख्न माग गरेका छन् । पाँच वर्षअघिको सर्वदलीय बैठकबाट निर्णय भएकाले नगरबासीकै हितका लागि संरचना निर्माण गर्न लागिएको नगरपालिका कार्यालयले जनाएको छ ।

स्कूल अफ डेमोक्रेसीले मङ्गलबार मात्रै हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालय र व्यास नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए । खेलमैदान यथास्थितिमा राख्नुपर्ने अडानसहित प्रमुख जिल्ला अधिकारी सागर आचार्य र नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाइएको हो ।

स्कूल अफ डेमोक्रेसी तनहुँका अध्यक्ष डम्बर अधिकारीले खुला मैदान दमौलीको गहना भएको हुँदा यसलाई जोगाएर राख्नुपर्ने र र संरचना बिगार्न नहुने बताउनुभयो ।

भूकम्पलगायत प्रकोप, आकस्मिक हेलिकोप्टर अवतरण, ज्येष्ठ नागरिक तथा बालबालिकाका हिँडडुल गर्नसमेत खुला मैदान आवश्यक पर्ने उहाँको भनाइ थियो ।

नगर प्रमुख न्यौपानेले विभिन्न सभासम्मेलन र कार्यक्रम आयोजना गर्दा अभाव भएको हुँदा मञ्च निर्माण गरिएको बताउँदै अन्य संरचना निर्माण गर्ने विषयमा नगरपालिका छलफलका लागि तयार रहेको जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्