लुकामारी खेल्ने ठाउँ बने सेनिटाइज मेसिन

माल पाएर चाल नपाएपछि



रोशन पराजुली, हेटौंडा  ।

कोरोनाको पहिलो कहर देखिएपछि पूर्वी नेपालका प्रदेशहरुबाट बागमती प्रदेश प्रवेश गर्ने नाका हेटौंडा–१५ को रातोमाटे प्रहरी पोस्टनजिक स्थापना गरिएका सेनिटाइज मेसिन र पानीट्यांकी फोहोर फाल्ने डस्टबिनका रूपमा प्रयोग हुन थालेको छ । रातोमाटे चेकपोस्टमै प्रवेश गर्ने सवारीलाई सेनिटाइज गर्न वैशाखमै राखिएको ‘डिस्इन्फेक्सन टनेल’ पनि प्रयोगमा छैन ।

नाका भएर जिल्ला प्रवेश गर्नेलाई मेसिनमार्फत सेनिटाइज गर्ने कार्य केही समय चल्यो । तर, पछिल्लो समय भने लथालिंग छ ।हेटौंडा उपमहानगरपालिकाको पहलमा करिब १ लाख ६० हजार रुपियाँ खर्चेर स्थापना गरिएको मेसिन पनि प्रयोगविहीन छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरअगाडि लायन्स तथा लियो क्लबहरुले जडान गरेको सेनिटाइज टनेलमा राख्ने मेडिसिन छैन । न त सेनिटाइज सेवा लिने भेटिन्छन् । सेनिटाइजको कुरै छाडौं, त्यहाँ हातधुन पानी राखिएको ट्यांकी र साबुनको कसैले वास्ता गर्दैनन् । प्रदेशसभामा राखिएका सेनिटाइज मेसिनपट्टि सांसद्को आँखा पुग्दैन । औद्योगिक क्षेत्रमा राखिएको हातधुने ट्यांकीको हालत पनि उस्तै छ । यी त उदाहरण मात्र हुन् ।कोरोना संक्रमणको त्रास कायम रहेका बेला हेटौंडाका विभिन्न स्थानमा दाताहरुले लाखौं खर्च गरेर राखेका सेनिटाइजर मेसिनमा खिया लाग्न र मानिसको नजरबाट टाढिन थालेका हुन् । पछिल्लो समय कोरोना कहरप्रति मानिसले बेवास्ता गरेको यी र यस्ता प्रसंगले पुष्टि गरेको छ ।

विश्व स्वास्थ्य संगठनले संक्रमणबाट बच्न साबुनपानीले बारम्बार मिचीमिची हात धुन सुझाव दिएपछि मकवानपुरका धेरै ठाउँमा हातधुने व्यवस्था गरिएको थियो ।
रातोमाटेको सेनिटाइजर मेसिन बालबालिकाको लुकामारी खेल्ने स्थान बनेको छ । गत वैशाखमा मकवानपुरलाई कोरोना संक्रमणबाट सुरक्षित राख्न प्रवेश गर्ने मुख्य नाकामध्ये हेटौंडाको रातोमाटे चेकपोस्टमा सेनिटाइज मेसिन जडान गरिएको हो । प्रदेश–२ का बारा, पर्सा, रौतहटसहित भारतबाट आउने मुख्य नाकामा मेसिन जडान गरिएका थिए ।सवारीबाट भाइरस नसरोस् भन्नाका लागि नाकाबाट प्रवेश गर्ने हरेक सवारीलाई सेनिटाइज गर्ने गरिएको थियो । प्रदेश सरकारको लगानी र मकवानपुर उद्योग वाणिज्य संघको संयोजनमा २ लाख ७० हजार खर्चेर टनेल राखिएको थियो ।

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लायन्स क्लबले जडान गरेको मेसिनको हालत पनि उस्तै छ । त्यही जडान गरिएको पानीट्यांकी विद्यालयलाई हस्तान्तरण गर्ने सोच लायन्सले बनाएको लायन्स क्लब डिस्ट्रिक गभर्नर शम्भु नकर्मीले बताउनुभयो ।हेटौंडाका विभिन्न २५ स्थानमा लियो तथा लायन्स क्लबले हात धुने स्टेसन तथा सेनिटाइज मेसिन जडान गरेका थिए । कहीं प्रदेशसभाको समन्वय, कतै वडाको त कतै प्रहरीको उपयोगिताका लागि मेसिन तथा पानीट्यांकीहरु जडान गरिएका थिए ।‘हस्तान्तरण गरिएपछि सम्बन्धित निकायले त्यसप्रति चासो नदेखाउँदा दुःख लागेको छ ।’ –नकर्मीले अन्य २७ भन्दा बढी स्थानमा स्थानीय रेडक्रससँग समन्वय गरेर मेसिन राखिए पनि हालको अवस्था देख्दा उदेक लागेको बताउनुभयो ।मानिसको चहलपहल हुने सार्वजनिकस्थलमा राखिएका धारा साबुनविहीन छन् । कतिपय ठाउँका ट्यांकीमा पानी राख्न छाडिएको छ । जबकि, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले कोरोना संक्रमणको समयमा ट्यांकी राखिएकामध्ये २२ ठाउँमा धारा उपलब्ध गराएको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले बताउनुभयो ।

कोरोना संक्रमणको जोखिम कम भएका कारण साबुनको प्रयोग नभएको हेटौंडा उपमहानगरका प्रशासकीय अधिकृत जगन्नाथ सापकोटाले स्वीकार गर्नुभयो । ‘हाल कोरोना कम छ । त्यसैले प्राथमिकतामा राखेनौं ।’ –उहाँको भनाइ छ । त्यसताका नगरपालिकाले कार्यालय प्रवेशमा निकै कडाइ गरेको थियो ।जिल्ला प्रहरी कार्यालय नजिक सडकमा हिँडिरहनुभएका विष्णु विकले हात धुने बानी छुट्दै गएको बताउनुभयो । उहाँले कोरोनाको उच्च जोखिम भएका बेला हात धोए पनि हाल कोरोना नभएको महसुस गर्दै हातधुन छाडिएको बताउनुभयो ।विश्व स्वास्थ्य संगठनले ४० प्रतिशत सरुवा रोग हात धोएर रोकथाम गर्न सकिने बताएको छ । तर, कोरोना संक्रमण पूर्णरूपमा नियन्त्रणमा नआउँदै हातधुने बानी छुट्न थालेकाले जोखिम बढेको हेटौंडा अस्पताल प्रमुख डा। प्रवीण श्रेष्ठले बताउनुभयो । केही दिनअघि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर स्वास्थ्य मापदण्ड पालना गर्न सचेत गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्