संसद् विघटनपछिको भद्रगोल राजनीति



विनोद पौडेल

बाह्रबर्से सशस्त्र द्वन्द्व र विद्रोहपछि भएको पहिलो निर्वाचनमा नेकपा माओवादीले राम्रै छाप छोड्न सफल बनेको थियो । नेकपा माओवादी केन्द्रको साख उच्च नै थियो । किनभने नेकपा माओवादीले आम सर्वहारा जनताको अगुवाइको नेतृत्वकारी भूमिका निर्वाह गरेको थियो, त्यसैले हुनुपर्छ सशस्त्र द्वन्द्वमा सर्वहारा जनताले नेकपा माओवादीलाई निकै साथ दिए । नेपालीको हकहितको आन्दोलनलाई साथ दिँदा हजारौं शहीद भए भने कैयौं अंगभंग भए । टुहुरा, विधवा, बेसहारा त कति भए भए । त्यसको हिसाबकिताब आजसम्म पनि छैन ।

सशस्त्र द्वन्द्वलाई छोडेर हतियार बिसाई शान्ति प्रक्रियाअनुरुप सरकारमा प्रवेश गरेको माओवादीले निर्वाचनमा राम्रो मत ल्याउन सफल भयो । सरकार पनि उसकै बन्यो । तर ती सर्वहारा जनताको मुद्दालाई टेकेर सरकारमा पुगेको नेकपा माओवादीका शीर्षनेताले ती विगतलाई चटक्कै बिर्र्सिए । फलस्वरुप त्यसपछिका निर्वाचनको परिणाम भने सन्तोषजनक हुन सकेन । नेकपा माओवादीभित्रका बौद्धिक भनिएका बाबुराम भट्टराई, क्षमतावान् मानिएका पुष्पकमल दाहाल प्रचण्डका चर्तिकला हेरेर बस्न बाध्य भए कार्यकर्ताहरु तथा आमनेपाली नागरिक ।नेकपा माओवादी पार्टीभित्रको असन्तुष्टिलाई लिएर १२ वर्षको द्वन्द्वकालका सहयात्रीलाई छोडेर बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरे भने प्रचण्डका अन्य दुई योद्धा मानिएका मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लप पनि आ–आफ्नो बाटो लागे । नेकपा माओवादी केन्द्रमा प्रचण्डलाई एक्लो बनाएपछि पार्टी निकै कमजोर भैसकेको थियो । विकल्पमा बिस्तारै नेकपा माओवादी र नेकपा एमाले पार्टीबीच सहकार्य भयो, पार्टी नाम रह्यो नेकपा (नेपाल कम्युनिस्ट पार्टी) । त्यसपश्चात् निर्वाचन भयो ।

जनताले पनि पत्याए, ठूलै आशाको केन्द्र माने, बहुमतको सरकार बन्यो । प्रचण्ड र ओली एउटै पार्टीका नेता भए, नेता मात्र भएनन् पार्टीका यी दुई प्रथम र द्वितीय अध्यक्ष पनि बने । केपी शर्मा ओलीले भने प्रधानमन्त्रीको पदसमेत हात लगाए । प्रमुख नेताहरुको नेतृत्व रह्यो । ती निमुखा जनता जहाँको त्यहीँ नै रहे । न मुलुक अगाडि बढाउन सके, न त आममानिसको जीवनस्तर नै उकास्न सके । आखिरमा दुवै कम्युनिस्ट एक हुँदा पनि हात लाग्यो शून्यको अवस्था भयो ।एकपछि अर्को समस्याले पिरोल्ने मुलुकमा कोरोना भाइरसले आर्थिक, सामाजिक हिसाबमा निकै सतायो । तर पनि यी राजनीतिज्ञको भने घैंटोमा घाम कहिल्यै लागेन । हुँदा–हुँदा दुई पार्टीको एकतापछि बनेको सरकार पनि लामो समय टिक्न सकेन । आपसी भागवण्डा नमिल्दा प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेस गरेको केही घण्टा नबित्दै सदर गरी निर्वाचन गर्नेसमेत धोषणा भयो । विघटनकै विषयलाई लिएर नेकपा दुई ध्रुवमा बाँडियो, एउटा प्रधनमन्त्री ओली समूह त अर्को प्रचण्ड–माधव समूह । निकै लामो समय ओलीलाई साथ दिएका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले ओलीलाई साथ नदिई प्रचण्डलाई साथ दिए । यसबाट के प्रस्ट हुन्छ भने, माधव र झलनाथ केपी ओलीका कार्यबाट रुष्ट थिए । यता प्रचण्डको समूहमा माधव, झलनाथसँगै अन्य नेता आए । सोही क्रम ओली समूहमा पनि चल्यो । यता माधवकुमार प्रचण्डको समूहमा द्वितीय अध्यक्षसमेत हुन भ्याए । संसद् विघटनको मुद्दा सर्वोच्चमा चल्दै थियो, यता दुई समूहमा सकेका निर्णय हुँदै गए, नियुक्तिका कार्य तीव्र हुँदै गए । प्रचण्ड–माधव समूहले संसद् विघटनको विरुद्धमा चर्को नाराबाजी गरे ।

उता ओली समूहले निर्वाचनको तयारी भन्दै कार्यकर्ता भेला पारे । एकपछि अर्को दुवै पक्षले कार्यक्रम गरे । जनता सडकमा उतारे, आफ्नो स्वार्थ पूरा गरे । जनतालाई प्रयोग गरे, आफू ठूलो बने । बस्, यस्तै राजनीतिको भूमिकामा रहिरहे ।संसद् विघटनले गर्दा मुलुक अस्थिरतातिर धकेलिएको स्पष्ट थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका उखानटुक्के गफ र उनका क्रियाकलापले जनता दिक्क थिए भने पार्टीभित्र पनि उनका सहकर्मीहरु पनि रुष्ट थिए भन्ने कुरा पार्टी विभाजनतर्फ जाँदा स्पष्ट नै थियो । केपीको नेतृत्वदेखि आजित भएका समकक्षीहरु उनका विपक्षमा उभिएर खरोरुपमा उत्रिए, जसलाई एक किसिमले सर्वोच्च अदालतले साथ दिएकै मान्नुपर्छ, संसद् पुर्नस्थापनाको फैसलाको निर्णय गरिदिएर । जुन निर्णयले केपी ओलीलाई धक्का लाग्यो, तैपनि उनले सहजरुपमा सामना भने गरेकै थिए । उनमा अर्को कुनै विकल्प पनि शायदै थिएन ।उता प्रचण्ड–माधव समूहमा संसद् पुनस्र्थापना भएकोमा खुशीयाली छाएको थियो । किनभने केपीको विरुद्धमा लड्न थप सहज भएको उनको समूहलाई लागेको थियो । प्रचण्ड–माधव समूहमा त्यो खुशीयाली लामो समय टिक्न सकेन । कारण नेकपा एमाले र नेकपा माओवादीको सहकार्यपछि निर्वाचन आयोगले नेकपा पार्टी भनिदिएको वैधानिकता सर्वोच्चद्वारा खारेज गरिदियो र ऋषिराम कट्टेलको नाममा नेकपा पार्टी रहेको भन्दै साबिकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पुनः उदयको घोषणा गरिदियो । यस घटनापछि राजनीतिक वृत्त तरंगित भयो । हिजो केपीका साथ छोडेका नेता आज केपीकै शरणमा पुगे भने उता प्रचण्डलाई साथ नदिएका माओवादी नेता पनि प्रचण्डकै शरणमा पुगे ।

१२ बर्से द्वन्द्वबाट खासै निकास नभएको भन्दै उता द्वन्द्व अझै बाँकी छ भन्ने विप्लव पनि यसै बेला सरकारमा गएका छन् । प्रचण्डको साथ छोडेका विप्लव समूह हेरौं कति दिन केपीको बुई चढी बस्न सक्लान् । एमाले र माओवादी केन्द्र पुनः ब्युँतिएपछि अब राजनीतिमा नयाँ मोड आएको छ । यस्ता मोड अगाडि पनि नआएका भने होइनन् । यस्ता मोडलाई सहज पार्न सबै राजनीतिज्ञ एक हुन्छन् तर भाग नमिल्दा भने एक–अर्काको उछितो काढ्दै बस्छन् । ठ्याक्कै त्यस्तै अवस्था आजको राजनीतिक वृत्तमा सृजना भएको छ । लामो इतिहास नहेरौं, संसद् विघटनपछिको यो दुई महिनामा थुप्रै उथलपुल भएका छन् । ओली समूह र प्रचण्ड–माधव समूहको सम्बन्ध भने पानी बाराबारको थियो । तिनै नेता आज पुनः भेटवार्तामा छन् । केपी ओली र माधव नेपाल छलफलका क्रममा छन् । निकासको बाटो खोज्दै छन् । हिजोसम्म सम्पर्कमा नरहेका यी दुई नेता भेटवार्तामा लागेका छन् । यसबाट के कुरा प्रस्ट हुन्छ भने, एक–अर्काको आवश्यकता महसुस भएको मान्न सकिन्छ । यदि यस्ता कुरालाई बेलैमा ख्याल गर्ने हो र एक–अर्कोको परिपूरक ठान्ने हो भने द्वन्द्वको सृजना नै आउन थिएन । नेताका यस्ता गतिविधिले वाक्क भएका जनता÷कार्यकर्ता कतिन्जेल मुकदर्शकको भूमिका रहिरहने ? काम पर्दा मात्र कार्यकर्ता सम्झने नेताबाट प्रगतिको आश कहिले गर्ने ? यी नेताले जनताको आँखामा कहिलेसम्म छारो मात्र हालिरहने ?

प्रतिक्रिया दिनुहोस्