राजनीतिक सत्ता समीकरण



सनत गिरी

यति बेला नपाली राजनीतिमा अब के होला भन्ने अवस्था छ । साथै अब कस्तो सरकार बन्ला भनेर आमजनता व्यग्र प्रतीक्षामा छन् । अब यही सरकार कायम रहला या नयाँ सरकार बन्ला ? यति बेला मुलुकको राजनीतिक धु्रवीकरणमा राष्ट्रिय जनता पार्टी(राजपा) निर्णायक शक्तिको रुपमा रहेको छ । राजपाले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरे ओली सरकार नै कायम रहनेछ । राजपाले साथ दिएमा कांग्रेस, माओवादी केन्द्र र राजपाको त्रिशङ्कु सरकार बन्ने अवस्था पनि छ । त्यसो त राजपामा कांग्रेस, माओवादी केन्द्रको गठबन्धनमा सहभागी हुने कि केपी ओलीको सरकारलाई साथ दिने भनेर नेताहरु विभाजित छन् ।

खास गरी राजपाका अध्यक्ष महन्थ ठाकुरर वरिष्ठ नेता राजेन्द्र महतो केपी ओलीको सरकारलाई निरन्तरता दिने पक्षमा उभिएका छन् भने अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव कुनै पनि हालतमा केपी ओलीलाई साथ दिन नहुने पक्षमा उभिएका छन् । यसको मतलब भट्टराई र यादव कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको पक्षमा उभिएको स्पष्ट हुन्छ । हुन त माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको पूर्वसमर्थन फिर्ता लिएको छैन । जसको कारण वर्तमान सरकार बहुमतमै छ । यदि माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लियो भने वर्तमान सरकार अल्पमतमा पर्नेछ । त्यसपछि बल्ल नयाँ सरकार बन्ने अध्याय शुरु हुन्छ । नयाँ गठबन्धनका लागि माओवादी केन्द्रले कांग्रेस र राजपासँग वार्ता गरिरहे पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने किन फिर्ता लिइरहेको छैन, त्यही अचम्मको विषय बन्न पुगेको छ ।त्यसो त कांग्रेसले नयाँ सरकारका लागि सभापति शेरबहादुर देउवालाई अघि सारेको छ । साथै माओवादी केन्द्र र राजपाले नयाँ सरकारको पहल थाल्न देउवालाई आग्रह गरिरहेका छन् । तर देउवा नयाँ सरकारभन्दा पनि नयाँ निर्वाचनकालागि जोड दिइरहेका छन् । देउवा फेरि प्रधानमन्त्री बन्ने अवसर छोडेर किन नयाँ निर्वाचन, नयाँ निर्वाचन भनिरहेका छन् ?हुन त कम्युनिस्ट पार्टीहरु फुटेको अवस्थामा निर्वाचनमा जाँदा पार्टीलाई फाइदा पुग्ने हुन सक्छ । देउवा नयाँ सरकारका लागि पनि र निर्वाचनमा पनि जोड दिन थालेका छन् ।

त्यसो त प्रधानमन्त्री ओली पनि नयाँ निर्वाचनमा जोड दिइरहेका देखिन्छन् । सत्तामा रहेको बेला निर्वाचनमा जाँदा फाइदा मिल्ने ओलीको विश्लेषण हुन सक्छ । यसै मेसोमा माओवादी केन्द्रका नेताहरुले भने बोलेका छैनन् । सर्वाेच्च अदालतको फैसलाले पूर्वनेकपा एमाले र माओवादी केन्द्रका नेताहरुलाई अलग–अलग पारिदिएको छ । सर्वाेच्च अदालतको फैसलापछि सहकार्य गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह अप्ठ्यारोमा परेका छन् । सबैभन्दा बढी अप्ठ्यारो माधव नेपाल–झलनाथ खनाल समूहलाई परेको देखिन्छ । एमाले अध्यक्ष केपी ओलीले माधव–झलनाथ समूहलाई पेल्न थालेका छन् । यसका कारण माधव–झलनाथ समूह पार्टीमा समानान्तर गतिविधि सञ्चालन गरिरहेका छन् ।पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत चाहिने भएकाले माधव–झलनाथ समूहले पार्टी फुटाउन सकेका छैनन् । यो समूहमा केन्द्रीय समितिमा ४० प्रतिशत भए पनि संसदीय दलमा यो संख्या छैन । हुन त सर्वाेच्चले नेकपालाई पूर्ववत्रुपमा एमाले र माओवादी केन्द्र पुनस्र्थापना गरिदिएपछि प्रधानमन्त्रीसमेत रहेका ओलीले माधव नेपाल समूहका दर्जनौं नेताको पद खोसेका छन् । एमाले माधव नेपाल समूहलाई सर्वाेच्चको फैसलाले चोट पु¥याएको छ । अब नेपाल–खनाल समूह पार्टीमै रहने र समानान्तर गतिविधि गर्ने निष्कर्षमा पुगेको देखिन्छ ।
त्यसो त विगतको शक्तिशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी यसपटक खुम्चेर बस्नुपर्ने अवस्थामा छ ।

विगतको निर्वाचनमा फुटेर भाग लिँदा पार्टीको पूर्वछवि धुमिल मात्र भएन, आममतदातामा कुन राप्रपा, कुन चिह्नमा मत दिने भन्ने अन्यौल थियो । त्यसमाथि कांग्रेससँग पूर्वनेताहरुले आफू मात्र उठ्ने गरीसहकार्य गर्दा देशभरका मतदाताले आफ्नो पार्टीलाई मत दिन पाएनन् । यति बेला प्रमुख नेताहरुले सो कुरालाई स्वीकार गरेको अवस्था छ । अगामी दिनमा राप्रपालाई वैकल्पिक शक्ति बनाउने अभियानमा पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी लागेको देखिन्छ । यसबाट राप्रपालाई मत दिइरहेका आमकार्यकर्ता खुशी छन् ।हुन त नेपालमा राजनीतिक अस्थिरता भएको अवस्थामा देशी–विदेशी शक्तिहरु खुशी हुने गर्छन् । खास गरी नेपाली राजनीतिमा विगतमा जस्तै प्रभाव जमाउँदै आएको भारत यति बेलाको राजनीतिक समीकरणमा मौन देखिन्छ । भारत खास गरी अमेरिका र चीनको प्रभाव नेपाली राजनीतिमा नपरोस् भन्न चाहन्छ । यसै मेसोमा चीन भने नेपालमा कम्युनिस्ट व्यवस्था स्थापित होस्, कम्युनिस्टहरु मिलुन् भन्ने चाहन्छ । यसरी हेर्दा भारत, चीन, अमेरिकाको नेपालमा आ–आफ्नै किसिमको स्वार्थ छ । त्यसैले राजनीतिक दलका नेताहरु पनि भारत, चीन र अमेरिकाको लबिङमा लागेको राजनीतिक अवस्थाले देखाउँदै छ ।यति बेला मुलुकको राजनीतिक समीकरणलाई हेर्दा विगतको त्रिशङ्कु संसद्लाई सम्झाएको छ । जुन बेला कांग्रेस र एमालेको संख्या हाराहारीमा थियो । राप्रपाको निर्णायक संख्या थियो । जुन बेला राप्रपाका तत्कालीन नेता सूर्यबहादुर थापा कांग्रेसको समर्थन र नेता लोकेन्द्रबहादुर चन्द एमालेको समर्थनमा पालैपालो प्रधानमन्त्री भएका थिए । अहिले राजपाको ३२ सांसद पनि ओलीलाई टिकाउन र कांग्रेस माओवादी केन्द्रसहितको नयाँ सरकार निर्माण गर्न निर्णायक देखिन्छ ।

सत्ताको खेलमा कतै ३२ सिट भएको राजपाको नेताले प्रधानमन्त्री बन्ने मौका पाउने त होइनन् । यो गम्भीर विषय हो । त्यसो त प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुको एउटै स्वर सुनिन थालेको छ । यी दुई पार्टी नयाँ जनादेशमा जान चाहन्छन् ।एमाले र माओवादी केन्द्रको गठबन्धनलाई जनताले झन्डै दुई तिहाइ बहुमत दिएकै थिए । आपसमा मिल्न नसकेर अब चुनावमा जाँदा जनताले फेरि पत्याऊलान् ? कांग्रेसलाई कम्युनिस्टले देश चलाउन सक्दैनन् भन्ने बाटो छ तर एमाले र माओवादी केन्द्र के भनेर जनतामा जाने ? त्यसमाथि आपसमै बाझाबाझ गर्दा जनताले के भन्लान् ? यदि पार्टी र मुलुकको भविष्य सोच्ने हो भने केपी ओली, माधव नेपाल, झलनाथ खनालमात्र होइन अलग पार्टीमा रहेका पुष्पकमल दाहाल प्रचण्डबीचमा पनि एकता छैन । कांग्रेस चुनावमा जान हतारिनुको प्रमुख कारण पनि कम्युनिस्टहरुको वर्तमान फुटलाई आधार मानेर हो । कांग्रेस चुनावमा जान हतारिनुको अर्काे कारण छैन । त्यसमाथि चुनावी अवस्थामा पार्टीले सरकार चलउने मौका पाए झन् राम्रो हुन्थ्यो भन्ने कांग्रेसी नेताहरुको आँकलन छ ।

जनताले एमाले र माओवादी केन्द्रलाई ५ वर्षका लागि सरकार चलाउन स्पष्ट म्यान्डेट दिएका हुन् । यो पाँच वर्षको अवधिमा अझै दुई वर्ष सरकार चलाउने अवधि छ । यदि एमाले र माओवादी केन्द्र यसरी नै वारपारको अवस्थामा चुनावसम्मै कायम रहे भने अबको जनमनत कांग्रेसतिर नजाला भन्न सकिन्न । यस्तै राजपा, राप्रपाजस्ता वैकल्पिक शक्तिको पनि नयाँ निर्वाचनमा राम्रो परिणाम आउने आँकलन गरिन्छ । जनता सधैँ झुक्किरहँदैनन् । जनता परिवर्तन चाहन्छन्, शान्ति, स्थिरता चाहन्छन्, विकास चाहन्छन् । त्यसको लागि स्वविवेकी नेतृत्व आवश्यक पर्छ । त्यसो त निर्वाचनमा जाने नै हो भने सबै प्रमुख पार्टीमा एकता हुनु जरुरी छ । सबै पार्टीेको समहमतीय सरकार निर्माण गरेर चुनावमा जाँदा उपयुक्त हुन्छ । नेता हो ! देश हेर, जनता हेर, आफ्नो आदर्श व्यवहारमा उतार । भन्ने एउटा र गर्ने अर्काे नगर ।

प्रतिक्रिया दिनुहोस्