हुन्डी कारोबारीविरुद्ध कठोर बन्दै प्रहरी



नेपाल समाचारपत्र, वीरगन्ज ।

जिल्ला प्रहरी कार्यालय पर्साले अवैद्य वित्तीय कारोबार (हुन्डी) कारोबारमा संलग्नलाई आफूहरुले सीधै मुद्दा दर्ता गराएको जनाएको छ । बुधबार प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी गत माघ महिनादेखि चैत १० गतेसम्मको आफूले गरेको कामको विवरण प्रस्तुत गर्दै प्रहरीले सो कुरा बताएको हो ।

उपरीक्षक बेलबहादुर पाण्डेले वीरगन्जको ट्राफिक व्यवस्थापन सुधारदेखि अपराध नियन्त्रणमा महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो । पर्सा प्रहरीले यो करिब साढे दुई महिनाको अवधिमा हुन्डी कारोबारमा संलग्नहरुलाई पक्राउ गरी पहिलोपटक आफूहरुले मुद्दा दायर गरेको बताउनुभयो ।हुन्डी कारोबारमा संलग्नहरुलाई सीधै मुद्दा दायर गर्नेमा पर्सा मात्रै पहिलो प्रहरी कार्यालय रहेको पनि प्रहरी उपरीक्षक पाण्डेको दाबी छ । आफू पर्सामा आएपछि पर्सा गढीका स्थानीय अकलेश राउत यादवको हत्यामा संलग्नहरुलाई पक्राउ गरेर अदालतमा पेस गर्न सफल भएको, वीरगन्जका ९ वर्षीय बालक राजन पटेलको हत्यारालाई नियन्त्रणमा लिन सफल भएको, गत साउन ३२ गते गोली लागेर ज्यान गुमाएका महम्जान मियाँ अन्सारीको हत्या भएको पुष्टि भएको र उनको हत्यामा संलग्नलाई पक्राउ गरी अदालतमा पेस गर्न सफल भएको, बालविवाह गराउने खोज्नेहरुलाई पक्राउ गर्न सफल भएको, बैना कागज भनी कपाली तमसुक बनाई संगठितरूपमा ठगी गर्ने गिरोहलाई नियन्त्रणमा सफल भएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो । लागू औषध तथा समाजमा हुने सामाजिक विकृति, जुवा तासविरुद्ध समेत पर्सा प्रहरी सक्रिय भएर लागिरहेको पनि उहाँले बताउनुभएको छ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्