काठमाडौं जोड्ने छोटो बाटोमा गाडी सरर..



नेपाल समाचारपत्र, हेटौंडा ।

करिब एक दशकदेखि हेटौंडा–काठमाडौं रुटको सुमो चलाउँदै आउनुभएका ओमशान्ति सुमो सेवाका सरेश प्रधानको बुधबारको यात्रा छुट्टै रह्यो । करिब दुई महिनापछि कुलेखानी–फाखेल–काठमाडौं यात्रा निकै फरक पाएको उहाँको अनुभव छ ।

त्यतिका वर्ष साँघुरो बाटोमा यात्रा गरिरहनुभएका उहाँ खुला र फराकिलो बाटोको यात्रा छुट्टै आनन्ददायक रहेको प्रतिक्रिया दिनुहुन्छ । उहाँका अनुसार हाल बाटोको बीचमा ढलान गरी फराकिलो बनाइएको छ । त्यसकारण पनि यात्रा सुनौलो भयो । ‘स्ल्याब ढलान हुँदैछ ठाउँठाउँमा,’ प्रधान भन्नुहुन्छ–‘काम सम्पन्न नहुँदा त यतिको राम्रो छ बाटो, काम सम्पन्न भएपछि त उत्कृष्ट हुनेछ ।’सूर्य सुनुवार करिब दुई वर्षदेखि सुमो चलाइरहनुभएको छ । हाल हरेराम हरेकृष्ण सुमो सेवामा कार्यरत् उहाँले पनि बुधबार सुमो चलाउँदा निकै सहजता महशुस गर्नुभयो ।

दुई महिनाअघिसम्म कुलेखानीकै बाटो कच्ची टर्निङ थियो । बुधबार ती प्वाइन्टमा ढलान भएको देख्दा खुशी लागेको उहाँले बताउनुभयो । कुलेखानी–फाखेल बाटो नखुल्दा विकल्पका बाटोको यात्रा गर्नुभएका हेटौंडा–५ का केशव तिमल्सिना बुधबार छोटो दुरीको बाटो खुल्ने भन्नेबित्तिकै कामका लागि काठमाडौं जान झोला कस्न थाल्नुभएको थियो ।एक प्राइभेट कम्पनीमा काम गर्दै आउनुभएका उहाँ कामको सिलसिलामा काठमाडौं धाइरहनुपर्ने हुन्छ । काठमाडौं पुगेपछि उहाँले भन्नुभयो–आजको यात्रा निकै सहजपूर्ण रह्यो । चौंडा बाटो र स्ल्याब भएको बाटो देख्दा आफूलाई खुशी लागेको उहाँले बताउनुभयो ।पहिलाभन्दा खाल्डाखुल्डी निकै कम छन् । मोडहरुमा ढलान गरिएका छन् । सुमोले यसपटक त्यति उफारेको अनुभूति नगरेको तिमल्सिनाको भनाइ छ । दुई महिनापश्चात् कुलेखानीको बाटोमा सुमो गुडाउँदा निकै सजिलो महसुस गरिएको सुनुवारको भनाइ छ । ‘धेरै परिर्वतन भएछ । निर्माण कार्य जारी छ । तर, हाल जति काम भएका छन्, तीे उत्कृष्ट भएको पाएँ,’ उहाँको अनुभव छ ।

मर्मतका लागि बन्द गरिएको ठीक २ महिनापछि भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकखण्डमा बुधबार यातायात पुनर्संचालनमा आएको हो । पुरानो सडक स्तरोन्नति र कालोपत्र गर्न बन्द गरिएको सडकखण्डमा यातायात पुनर्संचालनमा आएको बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।
सडक स्तरोन्नतिका लागि बागमती प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले चालू आर्थिक वर्षमा बजेट विनियोजित गरेनुसार सडक निर्माण गरिएको यातायात निर्देशनालय निर्देशक डा। सहदेव भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भीमफेदी–देउराली भञ्ज्याङ ८ किलोमिटरमा १८ करोड तथा देउराली–कुलेखानी हेबीसम्मका साढे ७ किलोमिटरमा १६ करोड गरी ३४ करोड बजेटमा सडक निर्माण गरिएको हो । भीमफेदी–कुलेखानी हेबीसम्म साढे १५ किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य भइरहेको र जेठभित्र कालोपत्र सम्पन्न गर्ने गरी निर्माण व्यबसायीलाई निदेशन दिइएको निर्देशनालयले जनाएको छ । उक्त बाटो भएर दैनिक करिब ६ सय सुमो गुड्छन् । मदन भण्डारी राजमार्गअन्तर्गत् सिस्नेरी–काठमाडौं दक्षिणकाली जोड्ने सडकको पनि स्तरोन्नति भइरहेको निर्देशक डा। भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्