विद्यार्थी ब्याडमिन्टन प्रतियोगिता गर्दै प्रहरी



हेटौंडा, (नेस) ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले विद्यार्थीबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।मकवानपुरका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १२ वर्षमुनि र १२ वर्षमाथिका विद्यार्थीबीच प्रतिस्पर्धा गर्न लागिएको कार्यालयले जनाएको छ ।

ब्याडमिन्टन जिल्ला संघको टेक्निकल सहयोग र खेलप्रेमीको आर्थिक सहयोगमा चैत १९, २० र २१ गते हेटौंडा—११ को कभर्डहलमा प्रतियोगिता हुने प्रतियोगिता संयोजक प्रहरी निरीक्षक रोशन थापाले जानकारी गराए ।प्रतियोगिताका लागि १७ गतेसम्म टिम दर्ता गर्ने समय रहेको प्रनि थापाले बताए । टिम दर्ता निःशुल्क छ । प्रतियोगिताअन्तर्गत पुरुष सिंगल, डबल्स र महिलातर्फ सिंगल प्रतिस्पर्धा हुने जनाइएको छ । विजेताले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताका उत्कृष्ट ३० जनालाई निःशुल्करूपमा दुई महिना प्रशिक्षण दिइने प्रनि थापाले जानकारी गराए । राष्ट्रियस्तरका प्रशिक्षकले प्रशिक्षण दिनेछन् । विद्यार्थीलाई खेलक्षेत्रमा आकर्षित गर्न प्रशिक्षणले भूमिका खेल्ने कार्यालयको अपेक्षा रहेको प्रनि थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्