खडक वारियर्स र तिलाठी कोईलाडी विजयी



नेपाल समाचारपत्र, राजविराज ।

सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत चौथो दिन बजाज खडक वारियर्स र तिलाठी कोईलाडी जायन्टसले जित हात पारेका छन् ।

मंगलबार पहिलो खेलमा विवेक यादव कप्तानीको खडक वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई ८९ रनले हरायो । राज रंगशालामा सम्पन्न खेलमा खडक वारियर्सले १ सय ९५ रनको लक्ष्य दिएकोमा रुपनी राईडर्सले १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सक्यो । रुपनीको लागि फिर्दोश अन्सारीले सर्वाधिक ५४ रन बनाए । फिर्दोसले ३४ बलमा ८ चौका र २ छक्का प्रहार गरेका थिए । अन्यमा सुनील धमलाले १६ रन बनाउनु बाहेक बाँकि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । माथिल्लो क्रममा ब्याटिङ गरेका लोकेश बम, कप्तान कुशल र निरज मुखिया खाता नखोली आउट भए ।

खडक वारियर्सको बलिंगमा गोमानंद अमात्यले सर्वाधिक ३ विकेट लिए उनले त्यति विकेट लिन ३ ओभरमा १५ रन मात्रै खर्चेर घातक बलिङको नमुना पेस गरेका थिए । यस्तै, अनिल खरेल र विवेक यादवले समान २ विकेट तथा भुलावन सहानी र पवन सर्राफले समान १ विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ गरेको खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । वारियर्सको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका अनिल शाहले शतक प्रहार गरे । यो अनिलको जारी लिगमा लगातार दोस्रो शतक समेत हो । उनले १ सय १३ रन बनाउने क्रममा ६४ बलको सामना गरेका थिए ।

अनिलकोे इनिङमा १२ चौका र ७ छक्का सामेल थिए । उनले अर्धशतक ४४ बलमा पूरा गरेपछि अर्को १६ बलमा ५० रन जोडेर शतकमा पुगेका थिए । उनले ६० बलमा शतक पूरा गरेका थिए । उनलाई फिर्दोशले क्याच आउट गराएका थिए । अनिलले अघिल्लो खेलमा बोदे बर्साईन थन्डर्स बिरुद्ध शतक प्रहार गरेका थिए ।
खडकका लागि कप्तान विवेकले पनि आक्रामक ब्याटिङ गरे । नटआउट रहेका उनले मात्र २३ बलमा अर्धशतक प्रहार गरेका थिए । उनले ४ चौका र ४ छक्का प्रहार गरेका थिए । अनिल र विवेकले तेश्रो विकेटको लागि केवल ५४ बलमा १ सय ३८ रनको शतकीय साझेदारी गरेका थिए । रुपनी राईडर्सको बलिंगमा अनिल यादवले २ विकेट लिए भने फिर्दोश र कुशलले समान १ विकेट लिए । ‘प्लेयर अफ द म्याच’ अनिल शाह चुनिएका थिए ।

दोश्रो खेलमा दीपेन्द्र ऐरी कप्तानीको तिलाठी कोईलाडी जायन्टसले मेहबुब आलम कप्तानीको टीभीएस किंग्स राजविराजलाई ४ विकेटले पराजित ग¥यो । किंग्स राजविराजले दिएको १ सय ४५ रनको लक्ष्य तिलाठीले ६ विकेट गुमाएर १५.१ ओभरमा पूरा गरेको थियो । तिलाठीको जितमा राशिद खानले अविजित अर्धशतक बनाए । उनले २९ बलको सामना गर्दै ८ छक्काको सहयोगमा ६५ रन जोडेका थिए ।त्यस्तै, दीपेश कंडेलले १५ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ३० रन बनाए । राशिद र दिपेशले सातांै विकेटको लागि अविजित ८७ रनको साझेदारी गरेका थिए । किंग्सको बलिङमा दिनेश अधिकारी र मेहबुब आलमले समान २ विकेट तथा रोहित सिंह र सुरज कुर्मीले समान १ विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिङ गरेको किंग्स राजविराजले १८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । किंग्सको लागि कप्तान मेहबुब आलमले सर्वाधिक अविजित ७८ रन बनाए । उनले ४६ बलमा ३ चौका र ९ छक्का प्रहार गरे । तिलाठीको बलिङमा राशिद खान र दीपेश कंडेलले समान ३ विकेट, कप्तान दिपेन्द्र ऐरीले २ विकेट तथा मनीष मण्डलले १ विकेट लिएका थिए । ‘प्लेयर अफ द म्याच’ राशिद खान घोषित भएका थिए ।प्रतियोगिता चौथो दिनको खेल समाप्ति पछि समान तिन खेलमा दुई जित र एक हार बेहोरेका खडक वारियर्स, रुपनी राईडर्स र तिलाठी कोईलाडी क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन् । एक जित हात पारेको किंग्स राजस्थान चौथो र जितविहिन बर्साईन थन्डर्स पाँचांै स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्