किर्गिस्तानविरुद्ध खेल्न नेपाली टिमको घोषणा



नेपाल समाचारपत्र, काठमाडौं ।

आज हुने किर्गिस्तानविरुद्धको खेलका लागि नेपाली टिमका २३ खेलाडीको नाम सार्वजनिक गरिएको छ ।‘थ्री नेसन्स कप’ अन्तर्गत आज नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्दै छ । यसैका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिम घोषणा गरेको हो । गोलरक्षक किरण चेम्जोङको कप्तानीमा रोहित चन्द टिमका उपकप्तानमा रहेका छन् । किरणसँगै तीन गोलरक्षकले नेपाली गोलपोस्ट सम्हाल्नेछन् । वैकल्पिक गोलरक्षकमा विकेश कुथु र दीप कार्की रहेका छन् । दीपले खेल्न पाएमा उनको अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु हुनेछ ।

डिफेन्डसमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान विराज महर्जन राष्ट्रिय टिममा फर्किएका छन् । तर, उनी यस प्रतियोगितालाई आफ्नो अन्तिम अन्तर्राष्ट्रिय सहभागि बनाउने सोचमा छन् । उनले बताएअनुसार उनी अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिन गइरहेका छन् । पछिल्ला अन्तर्राष्ट्रिय खेलहरूमा त्यति मौका नपाएका विराजले संन्यासको समय आएको बताएका छन् ।डिफेन्समा विराज र रोहितसँगै छनोट हुने अन्य खेलाडीमा रन्जीत धिमाल, निशान खड्का, अनन्त तामाङ, दिनेश राजवंशी, अजीत भण्डारी र छिरिङ गुरुङ छन् । मिडफिल्डका लागि त्रिदेव गुरुङ, एरिक विष्ट, सुजल श्रेष्ठ, विशाल राई, रवि पासवान, सुनील बल, सन्जोक राई, तेज तामाङ र सुजल श्रेष्ठ छनोट भएका छन् । सन्जोक र त्रिदेव अन्तर्राष्ट्रिय करियरमा डेब्यु गर्न लागिरहेका छन् ।फरवार्डको जिम्मा अनुभवी स्ट्राइकरहरू अन्जन विष्ट र भरत खवासलाई दिइएको छ । उनीहरूलाई दर्शन गुरुङ र अभिषेक रिजालले सघाउनेछन् । यसपटक राष्ट्रिय टिममा नियमितमा रहेका स्ट्राइकर नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्की छनोट हुन सकेनन् । दुवैजना त्रिभुवन आर्मी क्लबका उत्कृष्ट फरवार्ड हुन् ।

प्रतियोगितामा तीन टिमको सहभागिता रहेका छन् । मंगलबार उद्घाटन खेलमा बंगलादेशको टिमले किर्गिस्तानको यु–२३ टिमलाई १–० ले हराएको थियो । नेपालले किर्गिस्तानलाई हराएमा सोमबार हुने फाइनलमा बंगलादेशसँग खेल्ने पक्का हुनेछ । नेपालले दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्दै छ । यो प्रतियोगिता विश्वकप छनोट खेल नहुने भएपछि एन्फाले नेपाली खेलाडीलाई व्यस्त राख्न सञ्चालन गरेको हो ।
नेपाली टिमः
३ गोलरक्षकः किरण चेम्जोङ (कप्तान), विकेश कुथु र दीप कार्की ।
८ डिफेन्डरः रोहित चन्द (उपकप्तान), अनन्त तामाङ, दिनेश राजवंशी, अजीत भण्डारी, विराज महर्जन, निशान खड्का, रञ्जित धिमाल, छिरिङ गुरुङ ।
८ मिडफिल्डरः सुजल श्रेष्ठ, तेज तामाङ, सुनील बल, रवि पासवान, त्रिदेव गुरुङ, एरिक विष्ट, विशाल राई र सन्जोक राई ।
४ फरवार्डः भरत खवास, अन्जन विष्ट, दर्शन गुरुङ र अभिषेक रिजाल ।

प्रतिक्रिया दिनुहोस्