वीरगन्ज नाकाबाट आयात घट्यो



कृष्णउदास खनाल, वीरगन्ज ।

मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाट चालू आर्थिक वर्षको आठ महिनामा आयात व्यापार घटेको छ । वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकीबाट आयात ११ अर्ब रुपियाँले घट्दा निर्यात करिब ३ अर्ब रुपियाँले बढेको भन्सारको तथ्यांक छ ।चालू आर्थिक वर्षमा साउनदेखि फागुनसम्मको अवधिमा सो नाकाबाट ३ खर्ब ६ अर्ब रुपियाँ मूल्यबराबरको मालसामान भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७६-७७ को समीक्षा अवधिमा ३ खर्ब १७ अर्ब रुपियाँको वस्तु आयात भएको भन्सार अधिकृत रमेश सुकमनीले बताउनुभयो ।

चालू आर्थिक वर्षको आठ महिनामा यो नाकाबाट आयात व्यापार करिब ४ प्रतिशतले बढेको र यस अवधिमा निर्यात व्यापारमा तुलनात्मक सुधार देखिएको र निकासी व्यापार १० प्रतिशतले बढेको उहाँले बताउनुभयो । अघिल्लो वर्ष यो भन्सार हुँदै २३ अर्ब रुपियाँबराबरको मालसामान निकासी भएको थियो । यो वर्ष निर्यातकर्ताहरूले २६ अर्ब रुपियाँको वस्तु भारत र तेस्रो मुलुकतर्फ निकासी गरेको भन्सारको तथ्यांक छ । वीरगन्जबाट मुख्य रुपमा भटमास र सूर्यमुखीको तेल, जुस जाम, कपडा, जुत्ता, पिना, धागो, दन्तमञ्जन, गलैंचा, कार्पेटलगायतका वस्तु निकासी भएको छ । आयाततर्फ इन्धन, सवारी साधन, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख छन् ।चालू आवको आठ महिनामा यो भन्सारले १ खर्ब ४ अर्ब रुपियाँ राजस्व उठाएको छ ।

यो रकम लक्ष्यको तुलनामा ७ प्रतिशत न्यून भएको भन्सारको लेखा शाखाले जानकारी दिएको छ ।भन्सारले १ खर्ब १३ अर्ब रुपियाँको लक्ष्य पाएको थियो । कोरोनाका कारण लगाइएको बन्दाबन्दीले शुरूका महिना आयातनिर्यात प्रभावित भएकाले राजस्व लक्ष्य भेट्टाउन नसकिएको भन्सार अधिकारीहरू बताउँछन् । पछिल्ला केही महिना व्यापार लयमा फर्किएकाले सुधार आएको दाबी उनीहरूको छ । बितेको फागुनमा यो भन्सारले लक्ष्यको तुलनामा १९ प्रतिशत बढी राजस्व उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्