खडक वारियर्स र रुपनी राईडर्स विजयी



सप्तरी, (एजेन्सी) ।

सप्तरीको राजविराजमा जारी ‘राजविराज मेयर कप सप्तरी प्रिमियर लिग’ अन्तर्गत तेश्रो दिन मंगलबार रुपनी राईडर्स र बजाज खडक वारियर्सले जित दर्ता गरेका छन् ।राजरंगशालामा पहिलो खेलमा रुपनी राईडर्सले तिलाठी कोईलाडी जायन्टसलाई १५ रनले पराजित गर्यो । रुपनी राईडर्सले १ सय ५४ रनको लक्ष्य दिएकोमा तिलाठी कोइलाडीले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्रै बनाउन सक्यो ।

तिलाठीका लागि कप्तान कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४९ रन बनाए, तर जितसम्म पु¥याउन सकेनन् । यस्तै, सन्तोष कार्कीले ३७ रन र दीपेश कंडेलले २८ रन बनाए । रुपनी राईडर्सको बलिंगमा अनिल यादव र सुमित झाले समान २ विकेट लिए । यस्तै, सुनिल धमला, फिर्दोश अन्सारी र कप्तान कुशल भुर्तेलले समान १ विकेट लिए ।यसअघि टस जितेर ब्याटिंग गरेको रुपनी राईडर्सले २० ओभरमा ७ विकेट क्षतिमा १ सय ५३ रन बनाएको थियो । रुपनीको लागि ओपनर अमित यादवले सर्वाधिक ४६ रन बनाए । उनले ४८ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै, अर्का ओपनर सुनील धमलाले १९ बलमा ३ चौका र ३ छक्का मद्दतले ३२ रन बनाए । लोकेश बमले २२ रन, फिर्दोश अन्सारीले २० रन तथा निरज मुखियाले १७ रन बनाए । तिलाठी कोइलाडीको बलिङमा दीपेश कँडेलले सर्वाधिक ३ विकेट भने राशिद खान र आदिल अन्सारीले समान १ विकेट हात पारेका थिए ।

दोश्रो खेलमा खडक वारियर्सले बोदे बर्साइन थन्डर्सलाई ४१ रनले पराजित ग¥यो । खडक वारियर्सले दिएको १ सय ८७ रनको लक्ष्यमा बोदे बर्साइन थन्डर्सले २० ओभरमा १ सय ४५ रन मात्र बनाउन सक्यो । बोदे बर्साइनको लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २९ रन बनाए । यस्तै, अविनाश कर्णले १९ रन, योगेन्द्र सिंह कार्कीले १७ रन, सकिम आलम र विशाल सुश्लिंगले समान १४ रन तथा वसन्त रेग्मीले १३ रन बनाए । बजाज खडकको बलिङमा अनिल खरेलले सर्वाधिक ४ विकेट लिए । यस्तै, भुलावन सहानीले ३ विकेट तथा पप्पु यादव र पवन सर्राफले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको खडक वारियर्सले २० ओभरमा ३ विकेट क्षतिमा १ सय ८६ रन बनाएको थियो । टिमका लागि ओपनर अनिल शाहले १ सय रन बनाए । उनी प्रतियोगितामा शतक बनाउने पहिलो ब्याटसम्यान हुन् । उनले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा केवल ५० बल सामना गर्दै ७ चौका र ८ छक्का प्रहार गरे । यस्तै, कप्तान विवेक यादवले १७ बलमा ३० रन, प्रशान्त राईले ३६ बलमा २७ रन तथा पवन सर्राफले ५ बलमा अविजित २२ रन योगदान दिए । बोदे बर्साइन थन्डर्सको बलिङमा वसन्त रेग्मीले सर्वाधिक २ विकेट लिए । पप्पु यादवले १ विकेट लिए भने अन्य बलर विकेटविहीन रहे ।

प्रतिक्रिया दिनुहोस्