सामी परियोजनाका उपलब्धी : विदेश जानु अघि परामर्श, फर्किए पछि मनोसामाजिक परामर्श



मोतीराम तिमल्सिना, काभ्रे ।

महाभारत गाउँपालिका वडा नम्वर ६ बनखुचौर घर भई सानै देखि काठमाडौमा मजदुरी गर्दै आउनु भएका २१ बर्षिय आषिश दमाई बैदेशिक रोजगारमा जाने तयारीका साथ राहदानी बनाउन सदरमुकाम धुलिखेल आउनु भयो ।  राहदानी बनाउनु अघि सुरक्षित आप्रवासन परियोजना (सामी) ले संचालन गरेको परामर्शमा सहभागि हुनु भयो । नेपालमा बसेर आर्थिक उपलब्धी नहुने निर्णय सँगै दमाई विदेश जाने निर्णयमा पुगेर राहदानी बनाउन आउनु भएको हो ।

दिगो विकासका लागि नागरिक मञ्च (सिविक फोरम) ले नेपाल सरकार र स्वीटजरल्याण्ड सरकार बीच भएको सम्झौता अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत सुरक्षित आप्रवासन परियोजना (सामी) अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लामा सुरक्षित बैदेशिक रोजगार सम्वन्धी सूचना तथा परामर्श केन्द्र सञ्चालन तथा धुलिखेल, मण्डनदेउपुर नगरपालिका र रोशी भुम्लु गाउँपालिकामा समुदाय सचेतिकरणका कार्यक्रमहरु, मनोसामाजिक परामर्श र वित्तिय साक्षरता सम्वन्धी कार्यक्रम संचालन गरिरहेको छ ।

उक्त कार्यक्रमहरुको सहजिकरण स्थानीय सेवा प्रदायक संस्था सिविक फोरामले गरको प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय काभ्रेमा हरेक दिन राहदानी बनाउन आउने नागरिकहरुलाई परामर्श गरिएको उहाँले बताउनु भयो ।

महाभारत गाउँपालिका घर भएका आशिष दमाईको पारिवारीक समस्या छ । बाबु मादक पदार्थ सेवन गरी बरालिए पछि भएका सन्तानहरु आफुखुशी गर्न थाले । राजधानीको एक कम्पनीमा काम गरिरहेको भए पनि ठेकेदारले तोकेको पैसा नदिए पछि जीवन धान्न कठिन बन्यो । अध्ययन नभएको र आर्थिक अवस्था कमजोर भए पछि बैदेशिक रोजगार जाने निर्णय गरेका आशिषलाई परामर्शदाताले नेपालमै निशुल्क सिप सिकेर रोजगारी गर्न सुझाव दिए पनि तयार भएनन् । बरु उल्टै बैदेशिक रोजगारमा हुने अल्झनमा तपाईहरुले के सहयोग गर्न सक्नु हुन्छ ? भन्दै जिज्ञासा राखे । दिदी दुबईमा गएकाले दिदीकै माध्यमबाट बैदेशिक रोजगार जान लागेका आशिष जस्ता ३ हजार १ सय १४ जनालाई परामर्श गरिएको प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले बताउनु भयो ।

परियोजनाले संचालन गरेका कृयाकलापहरुका बारेमा सरोकारवालाहरुले अनुमगन गरी आवश्यक सुझाव दिएका छन् । अनुगमनमा धुलिखेल नगरपलिका उपप्रमुख विमला शर्मा, जिल्ला समन्वय अधिकारी केशव रिजाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, सामाजिक विकास अधिकृत विदुर गौतम, सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवर लगायतको सहभागिता रहेको थियो ।

अवलोकन टोलीले प्रगतिशिल महिला वित्तिय साक्षरता र मनोसामाजिक परामर्श समुहका सहभागिहरुसँग छलफल र अन्र्तक्रिया गरेको थियो । साथै मनोसामाजिक परामर्श प्रदान गरिरहेका सेवाग्रहिहरुसँग भेटघाट गरी उनिहरुको समस्या र परियोजना संचालन भए पछिको उपलब्धीहरुका बारेमा जानकारी लिएको थियो । सुरक्षित बैदेशिक रोजगारका लागि आप्रवासी श्रोत केन्द्र(सुचना तथा परामर्श केन्द्र) अनुगमन एवं आप्रवासी श्रोत केन्द्रको सुचना तथा परामर्शकर्ताहरुसँग छलफल गरेको थियो । साथै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र राहदानी शाखाका कर्मचारीहरुसँग पनि टोलीले छलफल गरेको प्रमुख कार्यकारी अधिकृत कुँवरले बताउनु भयो ।
परियोजना अन्र्तगत विभिन्न सेवाहरु उपलब्ध गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्