मेलमिलाप समिति मार्फत उजुरीको समाधान



अमृत अर्याल, स्याङ्गजा ।

स्याङ्जाको गल्याङ नगरपालिकाका सबै वडाहरुमा मेलमिलाप समिति गठनको क्रमलाई तिब्रता दिइएको छ । गल्याङ नगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप समिति गठनको क्रमलाई तिब्रता दिइएको हो ।

केही दिन अघि नगरपालिकाको वडा नम्बर ७ मा मेलमिलाप समिति गठन गरिएकोमा हाल वडा नम्बर ८ र ११ मा पनि मेलमिलाप समिति गठन गरिएको छ । नगरपालिका न्यायिक समितिका सदस्य गोपाल भण्डारीले सबै वडामा मेलमिलाप समिति गठन गर्ने क्रममा रहेको जानकारी दिनुभयो ।

उहाँले नगरपालिकामा मुद्वाको चाप धेरै भएपछि वडामा पनि मेलमिलाप समिति गठन गरिएको स्पष्ट पार्नुभयो । सदस्य भण्डारीले वडामा समाधान हुने मुद्वा वडाबाट नै टुङ्गो लगाउनका लागि वडामा गठन गरिएका मेलमिलाप समितिले काम गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो –‘वडाका समस्या सकेसम्म वडामा नै समाधान होउन् भन्नका लागि हामी यो प्रक्रियामा गएका छौं । ११ वटै वडामा मेलमिलाप समिति गठन हुनेछ ।’

अहिले नगरपालिकाको न्यायिक समितिमा मासिक सरदर २० वटा उजुरी आउने गरेको जानकारी दिदै ती मध्ये आधाजसो उजुरी हल भएको उहाँले बताउनुभयो । आएका उजुरी मिलाउन सकेसम्म समितिबाट प्रयास हुने गरेको भन्दै उहाँले समाधान हुनै नसकेका उजुरी अदालतको प्रक्रियामा जाने बताउनुभयो ।

गल्याङ नगरपालिकामा नगर उपप्रमुख देविसरा थापाको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन भई नगरपालिका भित्रबाट आउने उजुरीहरुको छानविन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्