बार्सिलोनाद्वारा सोसिडाडमाथि गोलवर्षा



लन्डन, (एजेन्सी) ।

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल सोसिडाडमाथि गोलवर्षा गरेको छ ।आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई उसैको घरेलु मैदानमा ६–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको सहज जितमा २० वर्षीय युवा डिफेन्डर सर्जिनो डेस्ट र कप्तान लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गर्दै समान दुई–दुई गोल गरे । उक्त म्याचमा दुई गोल गरेका मेसीले बार्सिलोनाको इतिहासमै सबैभन्दा धेरै खेल खेल्ने खेलाडीसमेत बनेका छन् ।सोसिडाडको घरेलु मैदानमा पहिलो हाफमा पाहुना टोली बार्सिलोनाले २–० को सहज बनाएको थियो । फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यानले खेलको ३७औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि दोस्रो गोल ४३औं मिनेटमा डिफेन्डर सर्जिनो डेस्टले गरेपछि बार्सिलोना पहिलो हाफमा २–० ले अगाडि भयो । कप्तान मेसीले सोसिडाडका खेलाडीका बीचबाट दिएको पासमा डेस्टले कुनै गल्ती नगरी बललाई पोस्टको दिशा दिएका थिए । ला लिगामा अमेरिकन खेलाडीका लागि यो पहिलो गोल थियो ।

खेलको ५३औं मिनेटमा डेस्टले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता तेब्बर बन्यो । त्यसपछि खेलको ५६औं मिनेटमा मेसीले चौथो गोल गोल गरे । त्यस्तै, खेलको ७१औं मिनेटमा उसामान डेम्बेलेले मोरिबाको पासमा निकै शानदार गोल गरेपछि बार्सिलोनाको पाँचांै गोल सम्भव भयो ।तर, खेलको ७७औं मिनेटमा सोसिडाडका सब्सिच्युट १९ वर्षीय युवा खेलाडी एन्डर बारेनेटेक्साले एक गोल फर्काए । त्यसपछि ८९औं मिनेटमा मेसीले जोर्डी अल्बाको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल बार्सिलोनाले ६–१ ले जित्यो । अब यो जितपछि बार्सिलोनाले २८ खेलबाट कूल ६२ अंक जोडेको छ । यता, सोसिडाडको भने ४५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्