दीपाश्री धनियाँको होली अहिले नै



फागु पूर्णिमा नजिकिँदै गर्दा लोकप्रिय हास्य अभिनेत्री तथा निर्माता, निर्देशक दीपाश्री नीरौलाले यससम्बन्धी गीत धनियाँको होली म्युजिक भिडियोसहित हालै सार्वजनिक गरेकी छिन्।

पहिले रेडियो नेपाल र हाल रेडियो अडियोको चर्चित हास्य कार्यक्रम धनियाँकी दुनिया सञ्चालन गर्दै आएकी दीपा सोही कार्यक्रममार्पmत धनियाँका रूपमा समेत प्रख्यात छिन्। दीपाले गीतमा आफूलाई धनियाँकै पात्रका रूपमा प्रस्तुत गरेकी छिन्। गीतमा दीपाका साथ सुमित खड्काको स्वर, निरज श्रेष्ठको संगीत तथा दीपनारायण राजवंशीको शब्द रहेको छ। उनले यसअघि छक्का पञ्जाको गीत देखन चम्पाका लागि पनि स्वर दिएकी थिइन्। उनले केही रंगमञ्चीय कार्यक्रममा समेत सो गीत गाउँदै आएकी छिन्।

फिल्मी शैलीमा निर्माण गरिएको होलीको गीतको भिडियोमा दीपाको साथमा दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा), किरण केसी (राता मकै), शिवहरि पौडेल (मुखाँ हान्नुजस्तो), जयनन्द लामा, रवि डंगोल (बेमान), अनुराग कुँवर, सुमन गिरी ‘भँन्जा’ लगायतका कलाकारको अभिनय र नृत्य रहेको छ। तराई भेगमा मनाइने लोभलाग्दो होलीको माहोल बनाएर छायांकन गरिएको भिडियो निकै रमाइलो र आकर्षक बनेको छ। भिडियो दिपाश्रीकै निर्देशनमा तयार पारिएको छ भने शिशिर खातीको कोरियोग्राफी, हरि हुमागार्इंको छायांकन र विपीन मल्लको सम्पादन रहेको छ। गीत मैथिली भाषामा गाइएको छ। दीपाश्री सामान्य मैथिली भाषा पनि बोल्न सक्छिन्। आमा सरस्वतीको प्रस्तुति रहेको गीत छक्का पञ्जा परिवारले निर्माण गरेको हो।

प्रतिक्रिया दिनुहोस्