बाघका प्रकार, अस्तित्व र संरक्षणमा जोड



बाघ फेलिडी (फेलिडाई) परिवारको प्यान्थरा वर्गअन्तर्गत पर्ने ‘ठूलो बिरालो’ समूहको सबैभन्दा ठूलो र शक्तिशाली जङ्गली जनावर हो । कुनै समय पश्चिममा टर्की, उत्तरमा साइबेरियादेखि दक्षिणमा बालीसम्मको भूभागमा शीर्ष सिकारीको रूपमा राज गरेको यो जनावर अहिले पूर्वी र दक्षिणी एसियाका १३ देशहरूमा मात्र सीमित हुन पुगेको छ ।

करिब ३.३ मिटर (११ फिट) लामो शरीर, ३०० किलोग्राम तौल र ४ इन्चसम्म लामा तिखा कुकुर दाँत हुने यो जनावर एक भयानक हिंस्रक मांसाहारी जनावर हो । विशाल काया र शक्तिका अलावा बाघहरू सेतो वा गाढा सुन्तला रंगको भुत्लाले ढाकेको शरीरमा हुने काला पाटाहरूका कारण पनि हेर्नलायकका हुन्छन् ।जंगली अवस्थामा रहेका बाघहरू १० देखि १५ वर्षसम्म बाँच्ने गर्दछन् भने खोरमा थुनेर पालिएका बाघहरू २० वर्षसम्म पनि जीवित रहने गर्दछन् । एकदमै उच्च वातावरणीय अनुकूलन क्षमता भएको यो जनावर साइबेरियाको चिसो वातावरणदेखि खुल्ला घाँसे मैदान र उष्ण सदावहार भूभागहरूमा समेत रैथाने जनावरका रूपमा पाइन्छन् ।बाघहरू साम्राज्यवादी र साधारणतया एक्लै बस्न रुचाउने जनावर हुन् । आफ्नो सिकार आवश्यकतालाई पूरा गर्न यिनीहरूले तुलनात्मकरूपमा ठूलो क्षेत्र ओगटेका हुन्छन् । बाघको यही बानीका कारण घना आवादी भएका क्षेत्रहरूका रैथाने जनावरको रूपमा बाघले आफ्नो अस्तित्व कायम गरेको छ । बाघका आधुनिक नौ प्रजातिमध्ये तीनवटा प्रजातिहरू यस संसारबाट लोप भैसके भने अहिलेसम्म अस्तित्वमा रहेका ६ प्रजातिहरू पनि लोपोन्मुख जनावरका रूपमा सूचीकृत भएका छन् ।

यसो हुनुको प्रमुख कारण बासस्थानको विनाश, अवैध सिकार र आफ्नो समूहबाट एक्लिँदै जानुलाई मान्ने गरिन्छ ।पृथ्वीमा पाइने जनावरहरूमध्ये बाघ एकदमै प्रसिद्ध र परिचित जंगली जनावर हो । प्राचीन धर्मग्रन्थहरू तथा लोककथाहरूमा पनि बाघको प्रसंगहरु उल्लेख्य मात्रामा पाइन्छन् भने आधुनिक साहित्य र चलचित्रहरूमा पनि बाघको प्रयोग गर्ने गरिन्छ । धेरै देशका झन्डाहरू, राष्ट्रिय चिह्नहरू र खेलकुदका मस्कटहरूमा बाघको आकृतिको प्रयोग भएको छ भने भारतलगायत धेरै एसियाली देशहरूमा बाघ राष्ट्रिय जनावरको रूपमा परिचित छ ।
आधुनिक कालमा बाघका ९ प्रजातिहरूमध्ये तीनवटा बाघका प्रजातिहरू लोप भइसकेका छन् । प्राचीनकाल देखि अहिलेसम्म आइपुग्दा बाघको संख्यामा अत्यन्तै ठूलो मात्रामा ह्रास आएको छ । प्राचीन कालमा साइबेरिया, इरान, अफगानिस्तान, भारत, चीन र दक्षिण पूर्वी एसियामा इन्डोनेसियाका केही टापुहरूमा बाघहरूको उपस्थिति प्रशस्त थियो । हाल अस्तित्वमा रहेका बाघहरूमध्ये संख्याको घट्दो क्रममा तल उल्लेख गरिएको छ ।
पाटे बाघ:
वैज्ञानिक नाम प्यान्थेरा टिग्रिसले चिनिने पाटे बाघ (बंगाली बाघ) हरू मूलतः भारत र बंगलादेशको रैथाने जनावर हो । बाघहरू विभिन्न प्रकारका बासस्थानमा बस्न सक्छन् । घाँसे मैदानदेखि उष्ण तथा समशीतोष्ण सदावहार जंगलहरू र झाडीहरूमा मात्र नभएर मरुभूमि आसपासका पतझर वनहरू, सुख्खा झाडीहरूमा र ओसिला दलदलहरूमा समेत बाघले आफ्नो बासस्थान बनाएको हुन्छ ।
जंगलमा खुल्लारूपमा विचरण गर्ने भाले बाघहरू साधारणतया २०५ देखि २२७ किलोग्रामसम्म तौल भएका हुन्छन् भने पोथी बाघहरू औसतरूपमा करिब १४१ किलोग्राम तौलका हुन्छन् । यद्यपि नेपाल तथा उत्तर भारतमा पाइने पाटे बाघहरू दक्षिण भारतमा पाइने बाघहरूभन्दा केही ठूलो शरीरका हुन्छन्, जसको भालेको तौल लगभग २३५ किलोग्रामसम्मको हुन्छ ।
इन्डो चिनिया बाघ:
यसको वैज्ञानिक नाम पान्थेरा टाइगर्स कर्बेटिफ भएकोले यसलाई कर्बेटको बाघ भनेर पनि चिनिन्छ । यी बाघहरू कम्बोडिया, चीन, लाओस, म्यानमार, थाइल्यान्ड र भियतनाममा पाइन्छन् । यी बाघहरू बंगाली बाघहरूभन्दा केही साना र गाढा रंगका हुन्छन् । इन्डोचिनिया बाघका भालेहरू १५० किलोग्रामदेखि १९० किलोग्रामसम्म तौल भएका हुन्छन् भने पोथी बाघको तौल ११० देखि १४० किलोग्राम मात्र हुन्छ । यिनीहरूको प्रमुख बासस्थान हिमाली तथा पहाडी क्षेत्रका जंगलहरू हुन् ।
मलेसियन बाघ:
वैज्ञानिक नाम पान्थेरा टाइगर्स ज्याकसोनीले चिनिने यी बाघहरू मुख्य गरी माले प्रायद्वीपको दक्षिणी भूभागहरूमा पाइन्छन् । अन्य बाघहरूभन्दा धेरै अर्थमा फरक भएका कारण सन् २००४ सम्म यसलाई बाघको प्रजातिको रूपमा सूचीकृत गरिएको थिएन । अमेरिकाको जेनोमिक विविधता अध्ययन प्रयोगशालाले गरेको अध्ययनपश्चात् यसलाई बाघको प्रजातिको रूपमा वर्गीकृत गरियो । ताजा गणनाअनुसार करिब ६०० देखि ८०० को संख्यामा यी बाघहरू अस्तित्वमा रहेको तथ्य सार्वजनिक गरिएको छ । संख्याको दृष्टिकोणले बंगाली बाघ र इन्डोचिनिया बाघपछिको तेस्रो स्थानमा मलेसियन बाघ पर्दछन् ।
सुमात्रा बाघ:
इन्डोनेसियाको सुमात्रा टापुमा मात्र पाइने यो प्रजातिको बाघहरूको वैज्ञानिक नाम प्यान्थरा टाइगर्स सुमात्रा हो । यो प्रजातिका बाघहरू अहिले अत्यन्तै लोप हुने अवस्था पुगेका छन् । यी बाघहरू हालसम्म अस्तित्वमा रहेका बाघका प्रजातिमध्ये सबैभन्दा साना बाघ हुन् । यो प्रजतिका वयष्क भालेहरू १०० देखि १४० किलोग्राम र पोथीहरू ७५ देखि ११० किलोग्रामसम्म तौल भएका हुन्छन् ।यिनीहरू बस्ने सुमात्राका घना झाडीयुक्त जंगलहरू र यिनीहरूले आहारका लागि सिकार गर्ने साना आकारका जनावरसँगको अनुकूलनका कारण सुमात्रा बाघको आकार सानो भएको वैज्ञानिकहरूको विश्वास छ । अहिले करिब ४०० देखि ५०० को हाराहारीमा सुमात्रा बाघहरू अस्तित्वमा रहेको अनुमान गरिएको छ, जसमध्ये प्रायजसो यस टापुको राष्ट्रिय निकुञ्ज क्षेत्रमा भेटिन्छन् । बासस्थानको विनाश यसको अस्तित्वको लागि प्रमुख चुनौतीको रूपमा रहेको भनिए पनि सुमात्रा बाघहरू चोरी सिकारीको प्रकोपमा समेत परेका छन् । संरक्षणका लागि प्रयास जारी रहेको भनिए पनि सन् १९९८ देखि २००० सम्म ६६ वटा सुमात्रा बाघहरु गोलीको सिकार भएका छन् ।
साइबेरियन बाघ:
मन्चुरियन, कोरियन, अल्टाइक तथा उत्तर चिनिया बाघ आदि नामले चिनिने यो बाघको वैज्ञानिक नाम प्यान्थरा टाइगर्स अल्टाइका हो । बाघको यो प्रजाति पृथ्वीको सबैभन्दा उत्तरी क्षेत्रमा पाइने बाघको प्रजाति हो । साइबेरियाको सुदूरपूर्वी क्षेत्रमा यसलाई संरक्षित गरिएको छ । साइबेरियन बाघहरू हाल पृथ्वीमा अस्तित्वमा रहेका बाघहरूमध्ये सबैभन्दा ठूलो आकारका हुन्छन् ।
दक्षिण चिनिया बाघ:
वैज्ञानिक नाम प्यान्थरा टाइगर्स अमोएन्सिसले चिनिने यो प्रजातिका बाघहरू अमोनी बाघ तथा जियामेनी बाघका नामले पनि चिनिन्छन् । हाल अस्तित्वमा रहेका बाघहरूमध्ये सबैभन्दा संवेदनशील अवस्थामा रहेका दक्षिण चिनिया बाघलाई अत्यधिक खतरामा परेका दश जनावरको सूचीमा सूचीकृत गरिएको छ । दक्षिण चिनिया बाघ सानो आकारका बाघहरू हुन्, जसका भाले तथा पोथी दुवैको लम्बाइ २.२ मिटर देखि २.६ मिटर मात्र हुने गर्दछ । यो प्रजातिका भालेहरूको तौल १२७ किलोग्रामदेखि १७७ किलोग्रामसम्म र पोथीहरूको तौल १०० किलोग्रामदेखि ११८ किलोग्रामसम्म हुन्छ । सन् १९८३ देखि २००७ सम्म एउटा पनि दक्षिण चिनिया बाघ देखिएनन् तर सन् २००७ मा एक किसानले देखेको भन्दै केही तस्वीरसमेत सार्वजनिक गरिएको थियो । तर अहिलेसम्म पनि ती तस्वीरहरू विवादमा छन् ।सन् १९७७ मा चिनिया सरकारले बाघको सिकारमा प्रतिबन्ध लगाउने कानुनको व्यवस्था गरे पनि उक्त कानुन दक्षिण चिनिया बाघ संरक्षणका लागि मरेपछिको औषधि साबित भयो । हाल यो प्रजातिको एउटा पनि बाघ प्राकृतिकरूपमा जंगलमा नरहेको विश्वास गरिन्छ ।
– स्वरुप कार्की, बर्दिया 

प्रतिक्रिया दिनुहोस्