नेपालमै पहिलोपटक पत्रकारलाई पेन्सन



न्युज अफ नेपाल, हेटौंडा ।

नेपालमा सम्भवतः पहिलोपटक ६० वर्ष पूरा भएर सक्रिय पत्रकारिताबाट विश्राम लिएका ज्येष्ठ पत्रकारले आफूआवद्ध महासंघबाट मासिकरुपमा पेन्सन पाउन थालेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरले सदस्य ज्येष्ठ पत्रकारलाई सोमबार पेन्सन बितरण शुरु गरेको हो । हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले नेपाल पत्रकार महासंघ मकवानपुर पूर्वअध्यक्ष नवराज शर्मालाई पेन्सनवापत् रकम हस्तान्तरण गरे ।

करिब ४० वर्ष पत्रकारिता गरेर निवृत्त जीवन बिताइरहनुभएका शर्मालाई चैत महिनाको ४ हजार रुपियाँ पेन्सन बितरण गरिएको हो । २० वर्ष पत्रकारितालाई मुख्य पेशा बनाएर ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक ४ हजारका दरले पेन्सन सुरु गरिएको हो । पेन्सन कोषमा १० लाख रुपियाँ हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको र आगामी दिनमा पनि सहयोगलाई जारी राखिने मेयर महतले विश्वास दिलाए ।

पत्रकार महासंघ मकवानपुरले वाणिज्य बैंकमा खोलिएको खातामा दश लाख रुपियाँ संकलन गरेको छ । त्यसबाट प्राप्त ब्याजबाट पेन्सन बितरण सुरु गरिएको हो । पत्रकार महासंघका सबै जिल्ला, प्रदेश र केन्द्रमध्ये पहिलोपटक महासंघ मकवानपुरले ज्येष्ठ पत्रकारलाई पेन्सन बितरण सुरु गरेको महासंघ जिल्ला अध्यक्ष हरि हुमागाईंले बताए । पेन्सन सम्बन्धि कार्यविधि महासंघको मंसिर २६ गतेको साधारणसभाले पारित गरेको थियो । महासंघ मकवानपुरआवद्ध सदस्यमध्ये ज्येष्ठ सदस्यको वृत्तिविकासका लागि पेन्सन सुरु गरिएको हो ।

पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्टले नेपालमा पहिलोपटक मकवानपुरले राम्रो कामको सुरुवात गरेको भन्दै प्रशंसा गर्नुभयो । ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रम लागु भएपछि कोषबाट व्यय हुने गरी मासिकरुपमा चार हजार रुपियाँ प्रदान गरिने र कोषमा रकम बृद्धि भएसँगै पेन्सन रकम पनि बृद्धि गर्ने तयारी छ । तर, पेन्सन लिने ज्येष्ठ पत्रकारको संख्या बृद्धि भए पेन्सन रकम पनि घटाउने गरी कार्यविधि पास गरिएको छ ।

राज्यबाट उपलब्ध हुने सामाजिक सुरक्षाभत्ता वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट कुनै संघसंस्था, गैरसरकारी संस्थाबाट सेवासुबिधा प्राप्त हुने पदमा बहाल रहेको भए मासिक पेन्सन उपलब्ध नगराइने अध्यक्ष हुमागाईंले बताए । मासिक पेन्सन प्राप्त ज्येष्ठ पत्रकारले अन्य सामाजिक सुरक्षाभत्ता वा सार्वजनिक पदको सुबिधा प्राप्त गरे वा मृत्यु भएमा मासिक लगतकट्टा गर्ने प्रयोजनका लागि सोको जानकारी एकाघरका सदस्यले महासंघ मकवानपुरलाई दिनुपर्ने नियम छ ।

मासिक पेन्सनवृत्ति प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारको मृत्यु वा दोहोरो सुविधा प्राप्त भएको उजुरी वा महासंघमा जानकारी आए लगतकट्टा गरिने महासंघ मकवानपुर सचिव गणेशदर्पण अधिकारीले बताए । पेन्सन प्राप्त गर्न पत्रकार महासंघ मकवानपुरको सदस्य भएको हुनुपर्ने, ६० वर्ष उमेर पूरा भएको हुनुपर्ने, निरन्तर बीस वर्ष पत्रकारितालाई मुख्य पेशा बनाएर सञ्चारक्षेत्रमा कार्य गरेको हुनुपर्ने, कुनै सरकारी संस्था, गैरसरकारी र कम्पनीमा काम गरेर नियमित सरकारी पेन्सन रकम नलिएको र उक्त संस्थाबाट उमेर हदका कारण उपदान रकम नलिएको हुनुपर्ने र ६० वर्षपछि सक्रिय पत्रकारिताबाट विश्राम लिएको हुनुपर्ने उनले बताए ।

पेन्सन कोष सञ्चालनका लागि महासंघ मकवानपुले विभिन्न सरकारी वा अर्धसरकारी संस्था, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्था, विभिन्न व्यक्ति संघसंस्था, उद्योग प्रतिष्ठानबाट प्राप्त रकम कोषमा राख्नेछ । बागमती प्रदेश सरकारले पनि पत्रकारको हकहितका लागि पेन्सन व्यबस्था शुरु गर्ने बताइए पनि कार्यान्वयन हुन सकेको छैन । प्रदेश सरकारको प्रेस रजिस्ट्रारको कार्यालयले ३० वर्ष पत्रकारिता गरेको र ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ पत्रकारलाई पेन्सन व्यबस्था शुरु गर्ने लागिएको जनाएको थियोे । पेन्सनका लागि सरकारले १५ लाख बजेट छुट्याइएको थियो ।

दुर्घटनामा मृत्यु भएका पत्रकारलाई ५० हजार आर्थिक सहायता दिने कार्यविधिसमेत पारित भएको थियो । दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई ३० हजार र क्यान्सर तथा मिर्गौला रोगबाट पीडित पत्रकारलाई ७५ हजारसम्म सहयोग गर्ने सरकारी योजनासहित सुत्केरी पत्रकारलाई प्रोत्साहनस्वरुप ३० हजारका दरले चार वटा फेलोसिप दिने योजना पनि प्रदेश सरकारको थियो ।

प्रतिक्रिया दिनुहोस्