गोरखा भर्ती र नेवार



रवीन्द्रदास श्रेष्ठ

बेलायती साम्राज्य र नेपालबीच सुगौली सन्धि (सन् १८१६ मार्च १६) भएको पनि २०५ वर्ष पुगेछ । याने कि गोरखा भर्ती शुरु भएको पनि २०५ वर्ष पूरा भयो । शुरुदेखि झन्डै ७० वर्षसम्म नेपाल सरकारबाट गोरखा भर्तीको लागि असहयोग रहेको थियो । बेलायती साम्राज्यले गोरखा भर्तीको लागि आफ्नो प्रमुख रोजाइमा रहेको गुरगं, मगर, खस, ठकुरी मागअनुसार भर्ती गर्न नसकिरहेको बेला नेवारसहित अन्य जातिहरुले पनि गोरखा भर्ती हुन मौका पाएका थिए । अन्य जाति भर्ती गर्न कडिकडाउ नभएको बेला नेवारले गोरखा भर्ती भएर प्रशंसायोग्य काम गरेको थियो । (पी.डी. ब्यानर्जी, ‘अ ह्यान्ड बुक अफ द फाइटिङ रेस अफ इन्डिया’, न्यु देल्ही एसियन पब्लिकेसन सर्भिस– १९९५, प्र.संस्करण १८९९, पेज १११–११२)।

वीरशमशेर प्रधानमन्त्री भएपछि बेलायती साम्राज्यले आफ्नो रोजाइको गुरुङ, मगर, खस, ठकुरी जाति नियमित पाउन थाल्यो । त्यस बेला रोजाइको जाति गुरुङ,मगर, खस, ठकुरीबाहेक पूर्वको राई–लिम्बूहरुका लागि पनि भर्ती गर्न नेपाल सरकारले स्वीकृति दियो । त्यस बेलासम्म केही नेवारहरु नियमितरुपमा गोरखा भर्ती हुन्थे । नेवार लडाकू जाति त हैन तर पहाडमा बसाइँ सरेका केही नेवारहरु (नगरकोटी) त्यस बेला धेरैजसो गोरखा पल्टनमा थिए । तीमध्ये श्रेष्ठ थरका सुवेदार किशनवीर नगरकोटीले दोस्रो अफगान युद्धको बेला (सन् १८७८–१८८०) ठूलो बहादुरी देखाएका थिए । (इडन वान्सिटार्ट, ‘नोट्स अन नेपाल’ न्यु देल्ही, एसियन एडुकेसनल सेन्टर–१९९२, प्र.संस्करण १८९६, पेज ९१, १२० र १४४) ।सन् १८६० मा भर्ती भएका पाँचौं गोरखा राइफलका सुवेदार किशनवीर नगरकोटीले दोस्रो अफगान युद्धको बेला (सन् १८७८–१८८०) पटक–पटक बहादुरी देखाएर बेलायती साम्राज्यले हिन्दुस्थानी र गोर्खालीका लागि भनी सन् १८३७ मा स्थापना गरेको उच्च बहादुरीको मेडल ‘अर्डर अफ मेरिट’ (सन्१९०२ देखि इन्डियन अर्डर अफ मेरिट) एउटै युद्धमा प्रथम, द्वितीय र तृतीय श्रेणी गरी तीनवटा मेडल पाएका थिए । उनले ब्ल्याक माउन्टेन एक्सपेडिसन (सन १८८८ जुलाई महिना) मा पठानहरुसँग भएको लडाइँमा आफ्नो कम्पनी कमान्डर र अर्को एक क्याप्टेन बचाउन पुनः बहादुरी देखाए । उनको सो बहादुरीको कदर गर्न बेलायती साम्राज्यसँग अर्को कुनै उच्च मेडल नभएको कारण गभर्नर जनरलको आदेशमा निजले लगाउने गरेको इन्डियन अर्डर अफ मेरिट प्रथम तहको मेडलको रिबनमा सुनको बार लगाउन पाए । (के.एल.राव, ‘हिस्ट्री अफ इन्डियन आर्मी’, न्यु देल्ही, मानस पब्लिकेसन–२०१०, पेज ३७५) ।

त्यस्तै गरी सन् १८९० को बेला ४३ औं गोरखा लाइट इन्फ्यान्ट्रीका जमदार वीरबल नगरकोटीले हिन्दुस्थानको उत्तर–पूर्व मणिपुर राज्यमा विद्रोहीसँगको लडाइँमा बहादुरी देखाए । निजले बहादुरी देखाएबापत इन्डियन अर्डर अफ मेरिट तेस्रो तहको मेडल पाएका थिए । सोही कारबाहीमा बेलायती लेफ्ट्नेन्ट ग्य्रान्टले भिक्टोरिया क्रस मेडल पाएका थिए । (बाइरन फरवेल, ‘द गोरखा’, देल्ही, द पेन्गुइन बुक्स लि.–१९८४, पेज ६५) ।सन् १८५६ फेब्रुअरी ५ तारिखदेखि दिन थालेको बेलायतको उच्च बहादुरीमेडल भिक्टोरिया क्रस झन्डै ५५ वर्षपछि सन् १९११ अप्रिल २१ तारिखदेखि मात्र हिन्दुस्थानी र गोरखालीका लागि दिन थालेको थियो । इन्डियन अर्डर अफ मेरिट मेडलको ११० वर्ष (सन् १८३७ देखि सन् १९४७ सम्म) को इतिहासमा एउटै युद्धमा तीनवटा सो मेडल पाउने र चारपटक बहादुरी देखाएबापत कदरस्वरुप इन्डियन अर्डर अफ मेरिट मेडलको रिबनमा सुनको बार लगाउन पाउने सुबेदार किशनवीर नगरकोटी एकमात्र थिए । (‘पर्वते’, २०० वर्षको विशेषांक, प्रकाशक ब्रिगेड अफ गोरखा, क्याम्बर्ले–२०१५, पेज २३) । भारत सरकारले इन्डियन अर्डर अफ मेरिट मेडल पाएका बहादुरहरुका लागि भत्ताको व्यवस्था गरेको छ । भारत सरकारले इन्डियन अर्डर अफ मेरिट पाउने बहादुर व्यक्तिका लागि वा निजको मृत्यु भइसकेको भए निजकीश्रीमतीका लागि प्रतिमहिना प्रतिमेडल आजीवन भत्ता भा.रु. ४०००।– बाट भा.रु. ८०००-सन् २०१७ अगस्त १ तारिखबाट वृद्धि गरेको छ । (भारत सरकार, रक्षा मन्त्रालय, प.स.नं. ७९६२)-२१४–डी (ए.जी.) मिति ४ डिसेम्बर २०१७) ।

नवौं गोरखा राइफलको रेजिमेन्टल इतिहासको पाना पल्टाउँदा सन् १८८३ मा नवौं नेटिभ इन्फ्यान्ट्रीमानेपालको नेवारको दुई कम्पनीसहित अन्य हिन्दुस्थानीको ६ कम्पनी राखेर ८ कम्पनीको पल्टन बनायो । सन् १८९३ अप्रिल १५ तारिखमा सो इन्फ्यान्ट्रीका लागि गोरखालीको पल्टन बनाउने निर्णय गरेपछि त्यस इन्फ्यान्ट्रीमा भएको ६ वटा हिन्दुस्थानी कम्पनीका लागि अन्य बंगाली पल्टनहरुमा सारेर बाँकी भएको नेवारको २कम्पनी र अन्यन्त्रबाट ३ वटा गोरखालीको कम्पनी ल्याएर ५ कम्पनीको नवौं (गोरखा रेजिमेन्ट) बंगाल इन्फ्यान्ट्री बनाएको थियो । नवौं (गोरखा रेजिमेन्ट) बंगाल इन्फ्यान्ट्रीबनाउने बेला हिन्दुस्थानी आर्मी हेडक्वार्टरले नेपालसम्बन्धी जानकार जो नेपालस्थित बेलायती रेजिडेन्समा सहायक अधिकृत र गोरखपुर भर्ती डिपोमा सहायक गोरखा भर्ती अधिकृत भई काम गरिसकेका क्याप्टेन इडन भान्सिटार्टका लागि सोधेको थियो । आर्मी हेडक्वार्टरले सो पल्टनमा नेवारका लागि थप भर्ना गरी नेवारको संख्या बढाउन मागेको सल्लाहको ठाउँमा क्याप्टेन इडन भान्सिटार्टले खस ठकुरीले नेपालको एकीकरणको बेला र एङ्ग्लो नेपाल युद्धको बेला देखाएको सौर्य बहादुरीको बयान गरेर नेवारको ठाउँमा खस ठकुरीको पल्टन बनाउन सुझाव दिएका थिए ।. निजको सुझावअनुसार सन् १९०३ मा सो पल्टनका लागि खस ठकुरीको नवौं गोरखा राइफल्स बनाइयो ।. त्यसकारण क्याप्टेन इडन भान्सिटार्ट नवौं गोरखा राइफल्सको पिता भनिन्छ । (ले.क.पी. चौधरी, ‘नाइन्थ गोरखा राइफल्स, ए रेजिमेन्टल हिस्टोरी १८१७–१९४७’,देल्ही, भिजन बुक्स प्राइभेट लिमिटेड–१९८४, पेज ११–१४) ।

प्रधानमन्त्री चन्द्रशमशेरका पालामा गोरखाभर्तीको निम्ति पुरानो सबै बन्देज हटाई खुल्ला दिलले सहयोग गरियो । बेलायती साम्राज्यले आफ्नो रोजाइको गुरुङ, मगर, खस, ठकुरी, राई, लिम्बु आफ्नो मागअनुसार पाउन थाले । सोही अनुसार बेलायती साम्राज्यले पल्टन थप्नुको साथै जातिअनुसार पल्टन बनायो । त्यसपछि नेवारहरुका लागि भर्ती गर्न छाडी नपुग र आवश्यकता परेको बेलामा मात्र भर्ती गर्न थाल्यो । दुवै विश्वयुद्धको बेला आफ्नो प्रथम रोजाइको गुरुङ, मगर, खस, ठकुरी, राई, लिम्बु जाति आवश्यकता अनुसार उपलब्ध नभएपछि नेवारलगायत अन्य जाति भर्ती गरेको थियो ।. सन् १९१५ मा तत्कालीन बेलायती रेजिडेन्ट्स जे. म्यानर स्मिथले प्रधानमन्त्री चन्द्रशमशेरसँग भेटवार्तामा प्रथम युद्धको बेला नपुग फौजको लागि नेवार भर्तीको माग उठाएका थिए । तर चन्द्रशमशेर सो मागप्रति नकारात्मक रहे । (प्रेमराज उप्रेती, ‘नेपाल अ स्मल नेसन इन द भोर्टेक्स अफ इन्टर्नेसनल कन्फ्लिक्ट’, काठमान्डौंः पुगोमी १९८४, पेज १४९) । पहिला विश्वयुद्धमा ९०,७८० जना र दोस्रो विश्वयुद्धको बेला १,३७,८८१ जना गोरखाली बेलायती साम्राज्यको तर्फबाट युद्धमा होमिएका थिए । तीमध्ये केही नेवार पनि थिए ।
भारत स्वतन्त्रता भएपछि नेपाल, भारत र बेलायतबीच गोरखाभर्तीसम्बन्धी त्रिपक्षीय सन्धि भयो ।

सो सन्धिअनुसार भारतीय सेनाको गोरखा सैन्य आपूर्ति नेपालबाट हुने भयो । भारतीयहरुको पनि पहिलो रोजाइ गुरुङ, मगर, खस, ठकुरी र राई–लिम्बु नै रह्यो । भारतीयहरुको आवश्यकता परेको र नपुगको बेलामा नेवारहरु पनि भर्ती हुने गरेका छन् । यसरी भर्ना भएका नेवारहरुमध्ये ५÷१ गोरखा राइफल्सका मोतीकुमार नेवारले सन् १९७१ मा भारत–पाक युद्धको बेला बंगलादेशको उथालीमा भएकोे लडाइँमा आफूले वीरगति प्राप्त गरेर अन्य बचाउन गरेको बहादुरीको कदरस्वरुप निजका लागि भारतको तेस्रो ठूलो बहादुरी मेडल वीर चक्र मरणोपरान्त प्रदान गरिएको थियो ।गोरखाभर्ती हाल पनि निरन्तर छ । गोरखा भर्ती नेपालको सामाजिक र सांस्कृतिक हिस्सा भएको छ । अहिलेपनि बेलायत र भारतले आफ्नो रोजाइको गुरुङ, मगर, खस, ठकुरी र राई–लिम्बु प्रथम प्राथमिकताअनुसार भर्ती गरिरहेका छन् । हालसम्म जति नेवार बेलायती सेनाको गोरखाभर्ती भएका छन्, ती सबै उपत्यकाबाहिरका नेवार हुन् । उपत्यकाभित्रका स्थायी बासिन्दा नेवारका लागि बेलायती गोरखा भर्ती गरिँदैन । उपत्यकाभित्रका नेवारका लागि किन भर्ती गरिँदैन?यो प्रश्नको उत्तर पनि अवश्य होला । साथै २१ औं शताब्दीमा गोरखा भर्ती जायज छ कि नाजायज छ? यो प्रश्नको उत्तर पनि अवश्य होला ।

प्रतिक्रिया दिनुहोस्