साहित्य सङ्गमद्वारा विभिन्न सम्मान तथा पुरस्कार घोषणा



वाग्मती ।

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । साहित्य सङ्गमका अनुसार १० सम्मान तथा १० पुरस्कार प्रदान गर्ने व्यक्तिको नाम सार्वजनिक गरिएको हो ।

मकवानपुरको अग्रणी साहित्य संस्था सङ्गमले रु २० हजार राशिको गोपालप्रसाद रिमाल स्मृति सम्मान काठमडाौं निवासी कवि तथा नाटककार गोपाल पराजुलीलाई प्रदान गर्ने जनाएको छ । यो सम्मान साहित्यकार गोपालप्रसाद रिमालको स्मृतिमा उनको परिवारले स्थापना गरेको सङ्गमका अध्यक्ष निमेष निखिलले जानकारी दिए । यसअघि यो सम्मानबाट साहित्यकार एवं नाटककार सरुभक्त, अशेष मल्ल, तुल्सी थापा सम्मानित भइसकेका छन् ।

यस्तै पारिजात स्मृति सम्मानबाट डा अरुण उप्रेतीलाई सम्मान गर्ने संस्थाले जनाएको छ । आर्दश टोल विकास संस्था हेटौँडा–१० ले स्थापना गरेको सम्मानको राशि रु १५ हजार ५५५ रहेको छ । साहित्यकार पारिजात निकट रही साहित्यमा सेवा पुर्याएबापत उहाँलाई यो सम्मान प्रदान गर्न लागिएको जनाइएको छ ।यसैगरी मकवानपुर साहित्य श्री सम्मान अप्सरा तिम्सिना लम्साललाई प्रदान गरिने भएको छ । सङ्गमले उनलाई मरणोपरान्त मकवानपुर साहित्य श्रीबाट सम्मानित गर्न लागेको हो । सम्मानपत्रसहित रु १५ हजार ५५५ प्रदान गर्न लागिएको हो । उनले साहित्य सङ्गमको उपाध्यक्ष र आँचल साहित्य कला पुञ्ज मकवानपुरको संस्थापक उपाध्यक्ष र अध्यक्ष पदमा रहेर नेतृत्व गरेका थिए । यो सम्मान साहित्य सङ्गमले स्थापना गरेको हो ।

व्यङ्ग्यकार भैरव अर्यालको परिवारले स्थापना गरेको रु २१ हजार १११ राशिको भैरव स्मृति सम्मान वीरगञ्जका साहित्यकार एवं व्यङ्ग्यकार गणेश लाठलाई प्रदान गरिने भएको छ । यो सम्मानबाट धुर्मुस सुन्तली फाउन्डेसन, राजकुमार लामिछाने, चट्याङ मास्टर, मनोज गजुरेललगायतका स्रष्टा सम्मानित भइससकेका छन् ।यस्तै सुभद्रादेवी मदन मुडवरी स्मृति सम्मान साहित्यकार राम बर्तोलालाई प्रदान गर्ने जनाइएको छ । मकवानपुरको पालुङ निवासी बर्तौलालाई नगद रु १० हजार राशिसहित सम्मानपत्र प्रदान गरिने जनाइएको छ । हाल अमेरिका निवासी मकवानपुरे साहित्यकार दीपक मुडवरीले मातापिताको स्मृतिमा यो सम्मान स्थापना गरेका हुन ।

श्यामप्रसाद शर्मा स्मृति साहित्य सम्मान मकवानपुरे व्यङ्ग्यकार आरसी रिजाललाई प्रदान गरिने भएको छ । मकवानपुरे साहित्यको संस्थागत विकासमा समेत टेवा पुर्याउँदै आएका रिजाललाई नगद रु १५ हजारसहित सम्मानपत्रले सम्मानित गर्ने सङ्गमका सचिव डिबी बर्तौलाले जानकारी दिए। यो सम्मान हेटौँडा उपमहानगरपालिका–४ को कार्यालयले स्थापना गरेको हो ।त्यसैगरी मङ्गलादेवी श्रेष्ठ स्मृति नारी सम्मान महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ । शिक्षा तथा सािहत्यसेवी देव श्रेष्ठले आफ्नी माताको नाममा स्थापना गरेको उक्त सम्मानको राशि रु सात हजार ७७७ रहेको छ । यो पुरस्कार यसै वर्षदेखि प्रदान गर्न लागिएको सङ्गमले जनाएको छ ।

भेषनाथ अधिकारी स्मृति सम्मान साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गरिने भएको छ । सङ्गमका कार्यसमिति सदस्य विशाल अधिकारी (आशुतोष) ले पिताको स्मृतिमा स्थापना गरेको यो सम्मान काठमाडौं निवासी सिग्देललाई नगद रु १५ हजार राशिसहित प्रदान गर्न लागिएको हो । यो सम्मानको राशि अघिल्ला वर्षमा रु १० हजार रहेको थियो यस वर्षदेखि यसको राशि रु १५ हजार पुर्याइएको छ ।

यस्तै शेषजङ्ग स्मृति कथा पुरस्कार चन्द्रोदय माविमा अध्ययनरत छात्र उज्ज्वल बराललाई प्रदान गर्ने जनाइएको छ । हेटौँडा–८ मा रहेको चन्द्रोदय माविमा कक्षा १० मा अध्ययनरत बराललाई रु दुई हजार ५०० राशिसहित यो पुरस्कार प्रदान गर्न लागिएको हो । शिक्षासेवी डण्डीजङ्ग शाहले आफ्ना छोराको स्मृतिमा यो पुरस्कार स्थापना गर्नुभएको हो । जिल्लाका माध्यमिक तहमा अध्ययनरत् विद्यार्थीबीच कथा लेखन प्रतियोगितामार्फत उत्कृष्ट एकजनालाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।यसैगरी कुमारी साहित्य पुरस्कार प्रशन्ना चौलागाईंलाई प्रदान गरिने भएको छ । व्यङ्ग्यकार आरसी रिजालले आफ्नी माताको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशि रु पाँच हजार रहेको छ । यो पुरस्कार जिल्लाका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राबीच साहित्यका विभिन्न विद्यामा प्रतिष्पर्धा गराई उत्कृष्ट एकलाई प्रदान गरिँदै आएको छ ।

सम्मान तथा पुरस्कार २०७८ वैशाख ११ गते सङ्गमको नियमित सन्ध्यामा आयोजना गरिने विशेष साहित्यिक कार्यक्रममा प्रदान गरिने उपाध्यक्ष अनिता न्यौपानेले जानकारी दिनुभयो । सम्मान तथा पुरस्कार सम्बन्धित स्रष्टाको स्मृतिमा प्रदान गरिँदै आएकोमा कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष एकपटक प्रदान गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्