रियलद्वारा सेल्टा भिगो पराजित



लन्डन, (एजेन्सी)।

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा रियल मेड्रिडद्वारा सेल्टा भिगो पराजित भएको छ ।  स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको लिगको २८औं साताको खेलमा रियलले सेल्टालाई उसैको घरेलु मैदानमा ३–१ गोलअन्तरले पराजित गरेको हो । अवे मैदानमा रियललाई जिताउन फ्रेन्च फरवार्ड करिम बेन्जेमा नायक बने । उनले दुई गोल आफ्नो नाममा लेखाए भने तेस्रो गोलमा असिस्टसमेत गरेका थिए । रियलको उत्कृष्ट प्रदर्शनमा बेन्जेमाले दुई गोल गर्दा जर्मन खेलाडी टोनी क्रुसले असिस्ट गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा पाहुना टोली रियलले घरेलु टोलीविरुद्ध २–१ को अग्रता बनाएको थियो । रियलका लागि बेन्जेमाले खेलको २०औं मिनेटमा पहिलो गोल गरेका थिए । क्रुसले डी–बक्स बाहिरबाट सेल्टाका खेलाडीलाई चलाखीपूर्वक छक्याएर बल डी–बक्सभित्र पु¥याएर दिएको पासमा बेन्जेमाले बललाई जाली चुमाएका थिए । त्यसपछि खेलको ३०औं मिनेटमा पनि क्रुसकै पासमा बेन्जेमाले दोस्रो गोल थपे ।

तर, खेलको ४०औं मिनेटमा सेल्टाका लागि फ्रिकिक प्रहारबाट आएको बलमा सेल्टाका सान्टी मिनाले हेडिङमार्फत् उत्कृष्ट गोल गरेपछि पहिलो हाफ २–१ मा सकियो । त्यस्तै, खेलको ९४औं मिनेटमा सब्सिच्युट खेलाडी मार्को एसेन्सियाले करिम बेन्जेमाको क्रस पासमा गोल गरेपछि खेल रियलले खेल ३–१ ले जित्यो । यो जितपछि रियलले २८ खेलबाट कुल ६० अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्