श्रीमतीको हत्या गरेर प्रहरीलाई फोन !



राम धामी, डडेल्धुरा ।

डडेल्धुरामा एक श्रीमानले काठको चिर्पटले हिर्काएर श्रीमती हत्या गरेका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउँदले २८ वर्षीय श्रीमती मनिषा साउँदको निर्मम किसिमले हत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

डेढ फिट चिरेको काठको चिर्पटले हिर्काएर मनिषाको हत्या गरेको डडेल्धुराका प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । शनिबार दिउँसो ३ बजे साउँदले श्रीमतीको हत्या गरेर स्थानीय प्रहरी चौकीमा बेलुकी ७ बजे फोनबाट खबर गरेको उँहाले बताउनु भयो ।

श्रीमतीको हत्या गरेका साउँदलाई शनिबार राति नै प्रहरीले पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याइएको छ । सामान्य घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

‘म बाहिर थिए । घरमा आउँदा श्रीमती रक्ताम्य देखे । मृत्यु भइसकेको जस्तो छ भनेर साउँदले प्रहरीकहाँ खबर गरेको प्रहरीले जनाएको छ । ‘प्रहरीको टोली त्यहाँ गएर हेर्दा मनिषाको मृत्यु भइसकेको थियो । पछि प्रहरी समक्ष श्यामले आफैं हत्या गरेको स्वीकार गरेका छन् ।’ प्रहरी नायब निरीक्षक चन्दले भन्नुभयो ।

मृतक मनिषाका एक छोरा र एक छोरी छन् । मृतक मनिषाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल डडेल्धुरा पु¥याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अभियुक्त साँउदलाई जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखी कानूनी कारवाही शुरु गरिएको डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्