क्रियाशील सदस्यता वितरणमा केन्द्रको हस्तक्षेप



राम धामी, डडेल्धुरा ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवाद टुंग्याउन जिल्ला नेतृत्वले सक्रियता बढाएको छ।केही दिनभित्रै क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याउने उद्देश्यले नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लसहितका जिल्लास्तरीय नेताहरू हाल स्थानीय तहसम्म पुगेर दनहुँ छलफल र बैठक गरिरहेका छन्।

क्रियाशील सदस्यता वितरणका लागि अन्य जिल्लामा फारम पठाइए पनि डडेल्धुरामा फारम पाउन निकै हम्मेहम्मे परेको थियो। नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता फारम नपाएको सन्दर्भमा राष्ट्रिय चर्चा बनेपछि कांग्रेस केन्द्रीय समितिले अन्तिममा आएर डडेल्धुरामा क्रियाशील सदस्यता फारम उपलब्ध गराएको थियो।नेपाली कांग्रेस केन्द्रीय समितिले जिल्ला कार्यसमितिमार्फत निर्धारित संख्यामा क्रियाशील सदस्यता फारम पठाइए पनि २०७४ सालको आम निर्वाचनका बेला पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेका तत्कालीन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य जनक कलौनीमार्फत थप १ हजार १ सय ७ क्रियाशील सदस्यता फारम डडेल्धुरा पठाइएपछि विवाद उत्पन्न भएको हो।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय अधिकांश कार्यकर्तालाई माओवादी केन्द्रबाट प्रवेश गरेको भन्दै क्रियाशील सदस्यता उपलब्ध गराइन थालेपछि विवाद उत्पन्न भएको नेपाली कांग्रेस डडेल्धुराका नेताहरू बताउँछन्। माओवादीबाट कांग्रेस प्रवेश गरेका भन्दै क्रियाशील सदस्यता पाउने सूचीमा कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको नामसमेत समावेश गरिएको छ।दशकौंदेखि कांग्रेसका विभिन्न एकाइ कार्यसमितिमा जिम्मेवारी निर्वाह गर्दै निरन्तर राजनीतिमा क्रियाशील व्यक्तिहरूको नाम माओवादीबाट प्रवेश गरेको भन्दै सूचीमा राखिएपछि स्थानीयस्तरमा आक्रोश बढेको हो। सो विषयमा उत्पन्न विवादका सन्दर्भमा स्थानीय तहमा बैठक बोलाई छलफल गरेर विवाद समाधान गर्ने प्रयास भइरहेको नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले बताउनुभयो।

समायोजन कार्यविधिअनुसार प्राप्त क्रियाशील सदस्यता वितरणमा उत्पन्न विवाद हल गर्ने क्रममा जिल्लाको गन्यापधुरा गाउँपालिका, अजयमेरु गाउँपालिका, परशुराम नगरपालिका र नवर्दुगा गाउँपालिकामा विवाद समाधानका लागि बैठक सम्पन्न भइसकेको र वास्तविकरूपमा माओवादीबाट प्रवेश गरेका व्यक्तिलाई मात्रै क्रियाशील सदस्यता दिने सहमति स्थानीयस्तरबाटै भइसकेको उहाँले जानकारी दिनुभयो।नेपाली कांग्रेसका सभापति देउवाको वडाबाट गत मंसिर पहिलो सातादेखि क्रियाशील सदस्यता वितरण शुरू गरेको नेपाली कांग्रेस डडेल्धुराले क्रियाशील सदस्यता वितरणका बेला समायोजनका नाममा थप पुगेका सदस्यता फारामका कारण विवाद उत्पन्न भएको हो।

समायोजनका नाममा आएका क्रियाशील सदस्यताको विवाद समाधान हुनै लाग्दा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले केही व्यक्तिलाई सोझै क्रियाशील सदस्यता उपलब्ध गराएर सोको विवरण राख्न वडा कार्यसमितिलाई पत्राचार गरिरहेको नेपाली कांग्रेस परशुराम नगरपालिका–१२ का सभापति राज भण्डारीले बताउनुभयो। उहाँले हालसम्म ९० जनाभन्दा बढीले केन्द्रीय कार्यालयबाट सदस्यता लिएर वडा कार्यसमितिमा पत्र पेस गरिसकेको जानकारी दिनुभयो।नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला कार्यसमितिलाई सो विषयमा कुनै जानकारी गराएको छैन। पार्टी सभापतिको गृहजिल्लामा केन्द्रबाटै पटकपटक विवाद उत्पन्न हुने गरी क्रियाशील सदस्यता वितरणमा हस्तक्षेप भइरहेकाले विवाद समाधान गर्न निकै कठिनाइ भइरहेको जिल्लास्तरीय नेताहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्