विद्युतीय शवदाह गृहको आवश्यकता



सधैँ झगडा गर्न रुचाउने नेताहरु हाम्रो मुलुकमा धेरै छन् । यसबाहेक नेताहरुलाई कुुर्सीकै चिन्ता पनि धेरै छ । यता जनतालाई आर्थिक उपार्जन गरी दालभात खाने र मनोरञ्जनसमेत गर्नेमा मतलब छ । खराब लालची व्यक्तिहरुलाई नगद नारायणकै तृष्णा छ । यदि नेताहरुले कुर्सीको चिन्ता छोडी देशका समस्या समाधानको बारेमा सोचेको भए आज देशमा कृषि उद्योगको विकास हुन्थ्यो । आयातभन्दा निर्यातको संख्यामा वृद्धि हुन्थ्यो । रोजगारमा विदेश पलायन हुनेहरु हुँदैनथे होला । तर हामीले सधैँ राज्यलाई दोष दिनुभन्दा प्रत्येक नागरिकले आफ्नो दायित्व निर्वाह गर्ने र समयलाई कुर्ने हो ।

जनताको कुरा गर्ने हो भने एउटा चित्त नबुझेको कुरा छ । त्यो के भने, हरेक क्षेत्रमा महँगी बढेको छ, सुविधा र सहुलियतमा सरकारहरुबाट जतिसुकै पेल्ने बानी भए पनि हामीमा सहने संस्कार भएको छ । तर अब देशको लागि समाज परिवर्तन हुनु जरुरी छ । ठूलो विडम्बना भनेकै अर्थात् सबै समस्याको कारण नै ‘गलत धन कसरी कुम्ल्याउने ?’ भन्ने हो । तर त्यस्ता व्यक्तिले यो सोच्दैनन् कि एकदिन भगवान्ले हाम्रो खप्परमा हथौडा हान्नेछन् भनेर । तर भनेर पनि के गर्ने, त्यति बेला निकै अबेर भइसकेको हुन्छ ।वास्तवमा भन्ने हो भने अहिले मुलुक द्रुत विकासमा नगए पनि मानिसहरुका लागि हरेक प्रकारका सुविधा छन् । फरक यत्ति हो कि निम्न र मध्यम वर्गका लागि अलि धौ–धौ परेको छ, जीवन निर्वाह गर्नका लागि । हामी भन्छौं– यसैको कारणले गर्दा मानिसहरु हरसमय धन कमाउन पछि परिराखेका हुन्छन्, चाहे त्यो कालो धन होस् या गोरो । तर यति धनको तृष्णा पनि किन ? कारण मानिसको मृत्युपछि शरीर भष्म भएर स्वाहा हुनै पर्छ ।

मानिसको शरीर स्वाहा भएपछि नेपाली परम्पराअनुसार यसलाई याने कि लासलाई दाउरामार्फत जलाइन्छ । तर अहिले आएर समयअनुसार यसलाई स्वाहा गर्ने तरिकाका लागि मानिसहरुले विद्युतीय यन्त्रलाई पनि अपनाइराखेका छन् । तर यस क्षेत्रको मलुकमा विकास हुन सकिराखेको छैन । यी कुराहरुको विकास नहुनाले पनि बढी अनावश्यक खर्च, खोलाहरु निरन्तर फोहोर, समय बर्बाद आदि कुराहरुले गर्दा समाजले अहिले आएर असुविधा तथा असजिलो महसुस गरिराखेका छन् ।हामी सधैँ अन्धविश्वासमा डुबिराख्नुभन्दा अहिलेको घडीमा सरकार तथा सम्बन्धित निकायहरुले यस क्षेत्रमा पनि विकास गरिदिनुपर्दछ । त्यसकारण हरेक घाटहरुमा समयको मूल्यांकन गरी शवदाह विद्युतीय यन्त्रहरु स्थापना गरिदिनु आजको आवश्यकता हो । मानिसहरुले पनि पुरानो सोचलाई त्यागी यही विधिलाई अपनाउँदै अघि बढ्नुपर्दछ ।समाजमा थरी–थरीका व्यक्तिहरु हुन्छन् । कसैलाई यो प्रक्रिया मन पर्दैन भने कसैलाई मृत्युपश्चात् नेपाली परम्पराअनुसार लासलाई सुकुटीजस्तै पोलेर भष्म गरेकै मन पर्छ ।

यसको खास कारण जबसम्म दाउराको आगोले लासलाई खरानी बनाउँदैन तबसम्म मानिसको मरेको आत्मालाई शान्ति हुँदैन भन्ने पुरानो सोचवालाहरुको धारणा हो । एकपल्ट फेरि भन्नुपर्दा हामीले समयलाई अपनाई आफूलाई पायक पर्ने हिसाबले अघि बढ्नुपर्दछ । यो होइन कि सधैँ अन्धविश्वासमा लागेर हिड्नु हो । वास्तवमा भन्ने हो भने प्रायः मानिसको अन्धविश्वास, पुरानो विचार, सानो सोचले गर्दा पनि हाम्रो मुलुक पछि परेको हो । शहरहरुमा जनसंख्याको चाप बढेसँगै मृत्युको संख्या बढ्दो छ । यस अवस्थामा दाउराले शव जलाउँदा वातावरण प्रदूषण बढ्दो छ । कुनै बेला पिउनयोग्य वाग्मतीको पानी अहिले हात धुन पनि योग्य छैन । त्यसैले खुल्लारुपमा दाउराले शव जलाउने कार्य बन्द गरी विद्युतीय शवदाह गृहमा जलाउने कार्यमा जुट्नु जरुरी भइसकेको छ ।
– रमेशकेशरी वैद्य, छत्रपाटी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्