एक सातामा लगानीकर्ताको पुँजी ३३ अर्बले बढ्यो



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा यो साता सुधार देखिएको छ । लगानीकर्ताहरूमा देखिएको मनोवैज्ञानिक त्रासका कारण पछिल्ला केही दिने नेप्सेमा गिरावट हुँदै आएको थियो । साताको अन्त्यमा शेयर बजारमा सुधारको संकेत देखिँदा परिसूचक वृद्धि भएको हो ।

अघिल्लो साता २४५८ दशमलव ४९ बिन्दुमा रहेको नेप्से यस साता १६ दशमलव ६१ अंकले बढेर २४७५ दशमलव शून्य ९ बिन्दुमा पुगेको छ। यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण ३४ खर्ब २० अर्ब रुपियाँभन्दा बढी पुगेको छ । अघिल्लो साता बजार पुँजीकरण ३३ खर्ब ८७ अर्ब रुपियाँको हाराहारीमा रहेको थियो ।

नेप्से परिसूचक बढेसँगै शेयर कारोबार रकममा पनि सुधार भएको छ। तर, अघिल्लो साता १३ अर्ब ८५ करोड रुपियाँ बराबरको शेयर किनबेच भएको थियो। यस साता २० अर्ब ६१ करोड रुपियाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम बढ्नुमा कारोबार दिन पनि पूरै दिन खुल्ला रहनु पनि एउटा करण हो ।

अघिल्लो साता कुल पाँच कारोबार दिनमध्ये ३ कारोबार दिनमात्रै बजार खुलेको थियो। नेप्सेमा कुल कारोबार रकम बढे पनि औसत कारोबार रकम भने घटेको छ। त्यस्तै यस साता सेन्सेटिभ इण्डेक्स भने सामान्य घटेको छ। समीक्षा अवधिमा यो इण्डेक्स १ दशमलव शून्य ८ अंक घटेर ४४४ दशमलव १५ बिन्दुमा पुगेको छ। छोटो समयका लागि लगानी गरेका लगानीकर्ता त्रसित हुँदा नेप्सेमा गिरावट आएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्