रेसुङ्गा विमानस्थलको काम तीव्र गतिमा



नेपाल समाचारपत्र, गुल्मी ।

गुल्मीको सिमीचौरमा निर्माणाधीन रेसुङ्गा विमानस्थलको कामले गति लिन थालेको छ । पछिल्लो समयमा विमानस्थलको टर्मिनल भवन र धावन मार्गको कामले तीव्रता पाएको छ ।रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा निर्माणाधीन सो विमानस्थलमा घेराबारको काम सम्पन्न भइसकेको छ । ९१ लख रुपियाँको लागतमा विमानस्थलको कम्पाउन्डमा घेरावारको काम मौसम हरिष निर्माण सेवा डोल्पाले पूरा गरेको हो ।

विमानस्थल दशैंसम्म सम्पन्न गर्ने गरी काम अगाडि बढेको रेसुङ्गा नगरपालिका–१० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले बताउनुभयो । उहाँका अनुसार सबै क्षेत्रको चासो बढेकाले अब कुनै पनि हालतमा निर्माण कार्य ढिलो गतिमा नहुने बताउनुभयो । जनप्रनिधि र नागरिकको चासो बढिरहेकाले निर्माण व्यवसायीले पनि समयमै काम सम्पन्न गर्ने गरी तीव्र गतिमा काम गरिरहेको वडाअध्यक्ष अर्यालले बताउनुभयो । टर्मिनल भवन निर्माणको लागि २०७६ चैत ४ गते ४ करोड ५ लाखमा सम्झौता भई बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ । व्यवसायीले २०७८ असोज अन्तिममा भवन निर्माणको काम सम्पन्न गर्नुपर्ने समय अवधि रहेको छ ।

त्यस्तै धावनमार्गको निर्माणको कार्य रौताहा हरि जेभीले ७ करोड ५ लाख रुपियाँमा गरिरहेको छ । धावनमार्गको कालोपत्रे गर्ने कार्य गत कात्तिकसम्म भए पनि सम्पन्न नभएका कारण जेठसम्मका लागि म्याद थप भएको छ । २०६३ सालमा विमानस्थलको शिलान्यास भए पनि २०७२ सालपछि मात्रै निर्माणले निरन्तरता पाएको हो । विमानस्थल ५२० मिटर लम्बाई र २० मिटर चौडाइमा धावनमार्ग निर्माणको काम भइरहेको छ । विमानस्थलको कुल १५६ रोपनी जग्गामा विमानस्थलको क्षेत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्