कालीगण्डकीमा जल यातायातको सम्भावना



नेपाल समाचारपत्र, पाल्पा ।

 प्रसिद्ध कालीगण्डकी नदीमा जल यातातको सम्भाव्यता अध्ययन भएको छ । जलयातायात सञ्चालनका निम्ति हालै स्थलगत सर्भे समेत भएको छ । पाल्पाको राम्दीदेखि तनहुँको देवघाटसम्म जल यातायात सञ्चालनका निम्ति छ वटा समूहले स्थलगत परीक्षण तथा सर्वे गरेको हो ।

राम्दीदेखि देवघाटसम्म १ सय ३५ किलोमिटर जल यातायात सञ्चालनको योजनाअन्तर्गत सर्भे गर्दा सम्भावना देखिएको जनाइएको छ । सरकारले विभिन्न नदीमा जस्तै कालीगण्डकीमा पनि पानीजहाज सञ्चालनका निम्ति परीक्षण गर्न सर्भे गरिएको नेपाल पानी जहाज कार्यालय काठमाडौंका निमित्त प्रमुख विपीनराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रियस्तरमा सञ्चालन हुने पानी जहाजमा नेपालको झण्डा राखेको पानीजहाज सञ्चालन गर्ने योजना रहेको र आन्तरिक रुपमा नेपालका नदीमा पानीको बहाव अनुसारका साना खालका पानी जहाज सञ्चालन गरिने योजना छ ।

यहाँका अनुसार कोशी नदीमा तुम्लीङटारदेखि चतरासम्म, नारायणीमा देवघाटबाट गण्डकसम्म, कालीगण्डकीमा राम्दीदेखि देवघाटसम्म तथा कर्णाली नदीमा जहाज सञ्चालनका निम्ति सर्भेको काम गरिएको छ । जलस्रोतविद् अनुप खनालले नदीमा पानीको सतहलाई हेर्दा पानीजहाज सञ्चालनका निम्ति सम्भव रहेको बताउनुभयो । जलस्रोतविद् खनालले कालीगण्डकी नदीमा नेपालमै पहिलोपटक अत्याधुनिक मेसिनबाट पानीको गहिराई नाप गरिएको, केही ठाउँमा गहिराई नपुग्ने तथा छेउछाउका ढुंगा हटाउनुपर्ने ठाउँमा हटाउने र अन्तर्राष्ट्रियस्तरमा भएका प्रयासलाई प्रयोग गरी तयार गरेको प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिनुभयो । यसअघि पानीजहाज सञ्चालनका सम्बन्धमा नेपाल पानीजहाज कार्यालय काठमाडौंको टोलीले रामपुर नगरपालिकाका पदाधिकारीसँग पनि छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्