गीत–संगीत किनेर सुन्नुपर्छ: वसन्त सापकोटा



रश्मी थापा

नेपाली गीत–संगीत क्षेत्रलाई लगातार राम्रा र हिट गीत संगीतमार्फत योगदान दिँदै आएका गायक तथा संगीतकार हुन् वसन्त सापकोटा। गीत–संगीत भनेपछि सानैदेखि हुरक्कै हुने वसन्तको व्यावसायिक सांगीतिक करिअरले दुई दशक पार गरिसकेको छ। यस अवधिमा उनले १६ सयभन्दा बढी गीतमा संगीत, तीन दर्जनभन्दा बढी गीतमा स्वर तथा शब्द रचना दिँदै आएका छन्। सागर सरी चोखो माया, सिम्पल सिम्पल कान्छीको, माया अन्तै सार, सान्नानीलाई भेट्न, रुमाल चिनो, सुन न पियारीदेखि हालै मात्र रिलिज भएको पोखरेली झापाली जस्ता बोलका लोक, आधुनिक, फिल्मीलगायतका विधाका गीत–संगीतमा आफूलाई अब्बल सावित गर्दै आएका छन्। फिल्म नाइ नभन्नु ल का विभिन्न सिरिजमा समावेश फेरि फेरि नाइ नभन्नु ल यी आँखा तिमी छौ, बालापनको उमेर, कम्मरमाथि पटुकी, मैना राजा मैना रानी जस्ता वसन्तका अधिकांश गीतले लगातार लोकप्रियता कमाउँदै आएको छ। उनै वसन्तसँग
नेपाल समाचारपत्रका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

हाल के गर्दै हुनुहुन्छ?
हाल गीत–संगीतकै काममा व्यस्त छु। एल्बम तथा केही फिल्मका गीत–संगीतमा काम भइरहेको छ। हालै मात्र संगीत र म तथा रचना रिमालको स्वरमा तिमी त पोखरेली बोलको गीत सार्वजनिक भएको छ। गायन तथा संगीतकै काम भइरहेको छ।

हालै नातिकाजी स्मृति समाजमार्फत राष्ट्रपतिको हातबाट नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा पुरस्कृत हुँदा कस्तो अनुभव गर्नुभयो?
नातिकाजीज्यूलाई संगीत महर्षि भनेर चिनिन्छ। सानैबाट उहाँको नेपाली हामी रहौंला कहाँ, फूलको थुंगा  जस्ता गीतहरु सानैबाट गाउँदै हुर्कियौैैं। उहाँको नाम जोडिएको पुरस्कार पाउँदा अवश्य पनि खुसी भए। नेपाली संगीत क्षेत्रमा आफूले कर्म गरिरहँदा उहाँको नामसँग जोडिएको पुरस्कारबाट पाएर आफूलाई भाग्यमानी ठानेको छु। अहिलेसम्म जति काम गरेको छु, यो भन्दा पनि धेरै काम गरौं, अझ राम्रा सिर्जनाहरु लिएर आउँ भन्ने हौसला बढेको छ। उहाँको नाम जोडिएको प्रतिभा पुरस्कार प्राप्त गरेपछि आफ्ना सिर्जनामा अझै धेरै निखार ल्याउनुपर्छ र नेपाली गीत–संगीतलाई अझ माथि पुर्‍याउन धेरै मेहनत गर्नुपर्छ भन्ने जिम्मेवारी बढेको महसुस गरेको छु।

गीत रचना गर्दा, संगीत गर्दा र गाउँदा कुन चाहिँ काममा आनन्द महसुस हुन्छ?
शब्द रचना गर्नु, संगीत भर्नु र गाउनु एउटै विधाभित्र पर्छन्। मैले गीत लेख्दा नै गुनगुनाएर लेखेको हुन्छु। ती शब्दमाथि हार्मोनियममा बसेर गाउँदै मेलोडी बनाउँछु भने त्यही गीतलाई स्टुडियोमा गएर ट्र्याकमा गाएको हुन्छु। त्यति मात्र फरक हो। फिल भनेको त चाहे शब्द लेख्दा होस्, कम्पोज गर्दा होस् वा रेकर्डिङ गर्दा, सबैमा आनन्द महसुस हुन्छ। यी तीनै विधाको काम गर्दा मज्जा लाग्छ।

हिजोआज संगीतकारहरू आफैंले गीत गाउन थाले भन्ने आरोप छ नि?
संगीतकारले आफूलाई सुट हुने खालको गीत गाउने हो। मैले कुनै चिज उत्पादन गरेको छु भने त्यो उत्पादन गरेको चिजमा सबैभन्दा पहिले मेरो नै अधिकार हुन्छ। यो त मलाई सुट हुने खाना चाहिँ म आफैं खान्छु भनेको जस्तै हो। आफूले सिर्जना गरेको संगीतमा आफैं गाउन पाउनु नैसर्गिक अधिकार नै हो नि। म त्यही अधिकार उपभोग गरिरहेको छु।

आफ्नो प्रतिस्पर्धी संगीतकारका रूपमा कसलाई लिनुभएको छ?
मेरो विचारमा कसैको प्रतिस्पर्धी कोही छैन। सबैको आ–आफ्नै विशेषता हुन्छन्। मेरो हेर्ने नजर फरक छ। अरूको हेर्ने रहर फरक हुन्छ। मैले जस्तो अरूले गर्न सक्नुहुन्न भने अरूले जस्तो मैले गर्न सक्दिनँ। त्यसैले म आफैंसँग प्रतिस्पर्धा गरिरहेको हुन्छु। यस हिसाबले आफ्नो प्रतिस्पर्धी म आफैं हो, अरू कोही होइन।

समीक्षा अधिकारी, प्रेम परियार, रचना रिमाल जस्ता नवकलाकारलाई संगीत क्षेत्रमा डोहोर्‍याउनुभयो। कस्तो रेस्पोन्स पाउनुभएको छ?
म एउटा संगीतको विद्यार्थी र संगीतको पुजारी भएको नाताले प्रतिभा भएकाहरुलाई अगाडि ल्याउनुपर्छ भन्ने सोच राख्छु। राम्रो स्वर भएका, प्रतिभा भएकाहरुलाई अगाडि ल्याउँदा डेफिनेट्ली राम्रो गर्दा सबैलाई राम्रै हुन्छ, नराम्रो गर्दा नराम्रो नै हुन्छ। मैले राम्रै गरिरहेको छु, रेस्पोन्स राम्रै आइरहेको छ। सबैतिरबाट जस पाइरहेको छु। जसरी छोराछोरीले प्रगति गर्दै जाँदा बुबाआमा खुसी हुन्छन्, आफूले डोहोर्‍याएको मान्छेहरूले प्रगति गर्दा मलाई पनि खुसी लाग्छ। उनीहरुलाई बेला–बेलामा सुझाव पनि दिइरहेको छु।

संगीतमा लाग्दाखेरी र अहिलेको माहोलमा कति फरक महसुस गर्नुभएको छ? पहिले सजिलो कि अहिले?
पहिले मिडियाहरु पनि कम थिए र संगीत क्षेत्रमा आउनलाई मेहनत पनि गर्नुपथ्र्यो। पहुँच पुग्नै गाह्रो थियो। अहिले चाहिँ अनलाइन तथा विभिन्न मिडियाका कारण प्रतिभा भएकाहरु सोझै केन्द्रसम्म पुग्न सक्ने अवस्था छ। अहिले प्रतिभा भएका मानिसलाई विभिन्न प्लेटफर्म छन्। धेरै रियालिटी शो पनि छन्। मिडियाहरुले पनि प्रतिभा भएकालाई उत्तिकै सपोर्ट गरिरहेका हुन्छन्। तर, अहिले मिडियामार्फत एकैचोटी हाइलाइटमा आउँदाखेरी सिक्न समय पनि नमिल्ने र म हाइलाइटमा आइहालें सिक्न पर्छ र? भन्ने सोच हावी हुँदै गइरहेको छ जस्तो लाग्छ। संगीत सिकेर आउनेहरु पनि छन्, तर संगीत सिकेर आउने पहिलेको भन्दा कम छन् जस्तो लाग्छ।

नेपालमा संगीत क्षेत्रबाटै निर्भर हुन सकिने अवस्था छ?
संगीत क्षेत्रमा मात्र होइन, व्यापार व्यवसायलगायत अन्य क्षेत्रमा पनि औंलामा गन्न सकिने स्थानमा भइयो भने मात्र त्यसैमा निर्भर हुन सकिन्छ। चाहे गीतकार होस् संगीतकार होस् या गायकगायिका हुन्, औंलामा गन्न सकिने स्थानमा आउँछु र व्यावसायिकरूपमा नै संगीतमा लाग्छु, मैले राम्रो सिर्जना दिनुपर्छ र अब्बल सिर्जना दिन सक्छु भनेर आउनुपर्छ। आफूले फरक खालका काम गर्छु भन्ने सोच राखेर आउने र त्यहीअनुसारको मेहनत गरे आत्मनिर्भर हुन सजिलो छ।

अहिलेको सांगीतिक बजारका अवस्था कस्तो छ?
राम्रो तरिकाले गीत–संगीत सिर्जना गर्छु भन्नेका लागि यसबाट रिटर्न आउने वातावरण राम्रो छ। सांगीतिक हिसाबमा अहिले प्रविधि हामी भन्दा अगाडि गएको छ। हामीले विस्तारै ती चिजलाई कन्ट्रोल गर्र्दै छौं। संगीत भनेको किनेर सुन्नुपर्छ भन्नेतिर हामी लागिरहेका छौं। विभिन्न अनलाइन पोर्टलमार्फत स्रोताले गीत सुनेर किन्ने बानी विस्तारै पर्दै छ। नेपाललगायत विदेशमा पनि धेरै नेपाली गीत सुन्ने नेपाली स्रोता छन्। संगीत किनेर सुन्ने एक्सेस सबैतिर भयो भने संगीतको बजार अझ राम्रो हुनेछ। जसका लागि हामी काम गरिरहेका छौं। त्यस कारण संगीतको भविष्य राम्रो छ।

फिल्मीसँगै संगीतका धेरै विधाका गीतमा संगीत गर्नुभएको छ। कुन विधाको गीतमा काम गर्र्न बढी मन पर्छ?
मलाई सबै मन पर्छ। सबै गीतका स्रोता त्यहीअनुसारको हुन्छन्। सबैमा मज्जा आउँछ। सबैभन्दा पहिलो कुरा शब्द राम्रो हुनुप¥यो। शब्द राम्रा छन् भने जुनसुकै गीतमा पनि काम गर्दा मज्जा लाग्छ।

नयाँ पुस्तालाई के सल्लाह दिन चाहनुहुन्छ?
आफूमा के प्रतिभा छ भनेर आफूले बुझेर आउनुपर्छ। गायन, कम्पोज, लिरिक्स जेमा लागे पनि म सिर्जना गर्न सक्छु र अब्बल काम गर्न सक्छु भन्ने सोचका साथ आउनुस्। तर, संगीत क्षेत्रमा आउँदा संगीत सिकेर आउनुभयो भने यो क्षेत्र धेरै राम्रो छ।

अबको योजना के छ?
अबको योजना भनेको म्युजिक क्षेत्रलाई राम्रो हुने काम गर्ने हो। संगीतकार संघको महासचिवको नाताले संघको अगुवाईमा नेपलमा मौलिक संस्कृतिलाई बचाउने हेतुले काम गर्ने योजना छ। संगीत क्षेत्रलाई राम्रो गरौं र मौलिक चिजलाई बचाऔं भनेर अगाडि बढिरहेका छौं र त्यहीअनुसारको योजना तय गरिरहेका छौं।

प्रतिक्रिया दिनुहोस्