सल्यानमा पाठेघर खसेका २८ महिलाको निःशुल्क शल्यक्रिया



न्युज अफ नेपाल, सल्यान ।

सल्यानमा पाठेघर खसेका २८ जना महिलाको निशुल्क शल्यक्रिया गरिएको छ । लाजका कारण पाठेघर खस्ने समस्या लुकाएर बसेका महिलाको निःशुल्क शल्यक्रिया गरिएको हो । परिवार र समाजबाट अपहेलित हुने डरले रोग लुकाएर बसेका महिलाले निःशुल्क शल्यक्रिया सेवा पाए पछि खुसि भएका छन । स्वास्थ्य सेवा कार्यालय सल्यानले सञ्चालन गरेको निःशुल्क पाठेघर चेकजाँज तथा शल्यक्रिया शिविरमा २८ जना महिलाको निःशुल्क पाठेघरको शल्यक्रिया सेवा लिएका छन् ।

शिविरमा एकसय ६० बढी महिलाले स्वास्थ्य जाँच गराएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । चिकित्सकका अनुसार सुत्केरी तथा गर्भवती अवस्थामा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नपुर्याउने, उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, सुत्केरी बेलामा यौन सम्पर्क राख्ने लगायतका कारण महिलाको पाठेघर खस्ने गर्दछ ।

कलिलै उमेरमा विवाह गरी आमा हुनुले पाठेघर खस्ने समस्याको शिकार हुने गरेको डा. सुवि बस्न्यातले बताउनु भयो । जिल्लामा अप्रेशन गरिएका महिलाहरूमा ५० देखि ७५ वर्ष उमेर समूहका धेरै रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी थलराज डिसीले जानकारी दिनु भयो ।

चेतनाको कमी, लाज मान्ने प्रवृति तथा आर्थिक अभावले महिलाले रोग पालेर बस्ने गरेको उहाँको भनाई छ । डा. बस्न्यातका अनुसार पाठेघर महिलाको प्रमुख प्रजनन् अंग हो । उहाँले भन्नु भयो, पाठेघर खस्ने तीन चरण छन् । पहिलो र दोस्रो चरणलाई रिङ लगाएर उपचार गर्न सकिन्छ भने तेस्रो चरणमा पीडाबाट मुक्तिपाउन शल्यक्रियाबाहेक अर्को विकल्प हुँदैन ।

प्रतिक्रिया दिनुहोस्