बेलायती प्रधानमन्त्री जोन्सनले लगाए कोरोना भ्याक्सिनको पहिलो डोज



लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको पहिलो खोप दिइएको छ ।युरोपेलीसहित कतिपय मुलुकहरुमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै बेला बेलायती प्रधानमन्त्रीले त्यही खोप लगाउनु भएको हो ।

“मैले भर्खरै कोरोनाभाइरस विरुद्धको अस्ट्राजेनिका खोप लगाएको छु, यो मेरो पहिलो मात्रा हो, खोप लगाउन सहयोग गर्ने सवैलाई हार्दिक धन्यवाद,” उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ ।

उहाँले खोप लगाउँदा आफुलाई सुरक्षित महसुस भएको बताउदै अरुलाई पनि खोप लगाउन आह्वान गर्नुभएको छ । “कोरोनाविरुद्धको खोप लगाउन राम्रो हो, यही लगाउन नपाएर हामीले धेरैलाई गुमाउनु पर्यो, आशा गरौँ अव त्यस्तो हुनेछैन,” उहाँले उल्लेख गर्नुभएको छ ।
खोप लगाएपछि आफुलाई कुनै असजिलो नभएको जानकारी दिदै उहाँले खोप लगाउदाँ छिटो र सजिलोसँग भएको बताउनुभयो ।

प्रधानमन्त्री जोन्सन गतवर्ष सन् २०२० को अप्रिलमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल नै भर्ना हुनुभएको थियो ।बेलायतमा प्रधानमन्त्रीसहित अन्य विशिष्ट व्यक्तिहरुले पनि कोरोनाविरुद्धको खोप लगाउनु भएको छ भने आम नागरिकलाई पनि खोप लगाउने अभियान चलिरहेको छ । कोरोनाविरुद्धको खोपको प्रयोग पनि सवैभन्दा पहिले बेलायतबाटै भएको हो । त्यसपछि मात्रै अन्य देशहरुमा लगाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्