ओलीलाई भुसालको प्रश्न : राजनीतिमा नैतिक मूल्य हुन्छ कि हुँदैन ?



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले राजनीतिमा नैतिकताको मूल्य हुन्छ कि हुँदैन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेकी छन् ।

प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रकोतर्फबाट बोल्दै भुसालले प्रधानमन्त्री ओलीसँग रहेका मन्त्री र सांसदलाई छातीमा हात राखेर प्रभानमन्त्रीले नैतिकता देखाए वा देखाएनन् भन्नेबारे आत्मसमिक्षा गर्न सुझाव दिएकी छन् ।

‘राजनीतिमा नैतिक मूल्य हुन्छ कि हुँदैन ? मूल्य पद्धतिको अलिकति पनि स्थान राजनीतिमा छ कि छैन ?,’ उनले भनिन्, ‘अहिले पनि जिताहा शैली देखाउने ? प्रधानमन्त्रीसँग रहेका मन्त्री, सांसद र कार्यकर्ता साथीहरु बिहान–बिहान योग गर्ने समयमा छातीमा हात राखेर सोच्नुस् त प्रधानमन्त्री नैतिकता देखाउँदै हुनुहुन्छ ?’

त्यस्तै, ओलीले संविधानमाथि गरेको कू अदालतले खारेज गरेर संविधानको रक्षा गरको बताउँदै भुसालले भनिन् ‘संविधानमाथि नै कू मार्फत गरिएको प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतको प्रधानन्यायाधीशसमेत संलग्न संवैधानिक इजलासले खारेज गरेर संविधानको रक्षा गरिदिएको छ,’ उनले भनिन्, ‘यसका लागि म संविधानको रक्षाका लागि डटेर लाग्ने नागरिक समाज, मिडियासहित सबैलाई धन्यवाद दिन चाहन्छु ।”

त्यस्तै, जनताले लामो आन्दोलनबाट ल्याएको परिवर्तन, संविधान र गणतन्त्र समाप्त पार्ने कदमले ओलीको नाम इतिहासमा कालो अक्षरले लेखिएको जनाउँदै भुसालले भनिन् ‘कुनै बेला आन्दोलन गर्नुभयो, लामो समय जेल बस्नुभयो। तर घटना कस्तो हुँदो रहेछ भने मान्छेको जीवनमा धेरै राम्रा काम गरे पनि एउटै कुकृत्यले इतिहासलाई कालो बनाइदिन्छ’, उनले भनिन्, ‘जनताले ७ दशक लामो आन्दोलन गरेर ल्याएको परिवर्तन, संविधान, संविधानवाद र लोकतान्त्रिण गणतन्त्रलाई समाप्त पार्ने कदमले तपाईंको नाम इतिहासका कालो अक्षरले लेखिएको छ।’

प्रतिक्रिया दिनुहोस्