सिन्धुलीमा तेस्रो मेयरकप जिल्लास्तरिय ब्याडमिन्टन प्रतियोगिता सुरु



बुद्ध नेपाली सिन्धुली ।

सिन्धुलीमा शुक्रवार देखि तेस्रो मेयरकप जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगीता सुरु भएको छ । शुत्रवार र शनिवार गरी दुई दिन सम्म चल्ने प्रतियोगिताको नगरप्रमुख खड्ग बहादुर खत्री र सिन्धुलीमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले ब्याडमिन्टन खेलेर उद्घाटन गरेका छन् । जिल्ला ब्याडमिन्टन संघ सिन्धुलीको आयोजना तथा कमलामाई नगरपालिकाको प्रायोजनमा सुरु भएको प्रतियोगितामा खुल्ला डबल र भेन्ट्रान ईभेन्टका खेल हुनेछ ।

प्रतियोगितामा जिल्लाका खेलाडीहरुको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा खुल्ला डबल ( ए) ईभेन्टमा १५ टिम, खुल्ला डबल ( बि ) ईभेन्टमा ३२ टिम र भेन्ट्रान ईभेन्टमा १० टिमले प्रतिस्पर्धा गर्ने जिल्ला ब्याडमिन्टन संघ सिन्धुलीका उपाध्यक्ष शुक्र थिङले जानकारी दिनुभयो । प्रतियोगितामा खुल्ला डबल ‘ए’ तर्फ प्रथम हुनेलाई ३० हजार र मेडल प्रदान गरिने छ । यस्तै, द्वितीयलाई २० हजार र मेडल एवं तृतीयलई १० हजार रुपैयाँ र मेडल प्रदान गरिने संघका अध्यक्ष मिन कुमार दाहालले जानकारी दिनुभयो । त्यस्तै, खुल्ला डबल ‘बी’ मा प्रथम हुनेलाई २० हजार नगद, मेडल र प्रमाणपत्र, दोस्रोलाई १० हजार नगद, मेडल र प्रमाणपत्र र तेस्रो बिजेतालाई पाँच हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । भेट्रान इभेन्टमा प्रथम बिजेतालाई २० हजार नगद, मेडल र प्रमाणपत्र, दोस्रो बिजेतालाई १० हजार नगद, मेडल र प्रमाणपत्र र तेस्रो बिजेतालाई पाँच हजार नगद, मेडल र प्रमाण पत्र दिईने अध्यक्ष दाहालले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख खत्रीले खेल र खेलाडी नगर र राष्ट्रका गहना भएकाले खेल क्षेत्र र खेलाडीको विकासका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले कमलामाई नगरपालिका ६ शिवनगरमा रहेको जिल्लाको एक मात्रै ब्याडमिन्टन कभर्डहललाई आवश्यक पर्ने लाईट र ब्याकपको लागि ईन्टर उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले खेलाडीको क्षमता विकासका लागि नगरपालिकाले आगामी बर्ष खेल प्रशिक्षक नियुक्ती गर्ने समेत बताउनुभएको छ । उहाँले अहिलेका बेरोजगार युवाहरुलाई कुलत तथा गलत बाटोमा हिड्नबाट जोगाउन र खेलकुदको माध्यमबाट नगरलाई चिनाउन विभिन्न विधामा मेयरकप प्रतियोगिता संचालन गरिएको बताउनुभयो । उहाँले आफ्नो पाँच बर्षे कार्यकाल सम्म पाचौ मेयरकप जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगीताको आयोजना गर्न नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्