सरकारले नवीन्द्रराज जोशीको उपचारमा आर्थिक सहयोग गर्ने



न्युज अफ नेपाल काठमाडौं ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने भएको छ । गत फागुन १४ गते मष्तिष्कघात भई नर्भीक इन्टरनेशनल अस्पतालमा भर्ना भएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ ।

उपचार सुरु भएको केही दिनपछि उनको अवस्थामा सुधार देखिएसँगै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर, त्यसको केही दिनपछि स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको अस्पतालले बताएको छ ।

नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भीक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई सहयोगबारे जानकारी गराएका हुन् ।उपप्रधानमन्त्री पोखरेलले नर्भीक अस्पतालमा पुगेर कांग्रेस नेता जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए । सो क्रममा उनले जोशीको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्