थ्री नेसन्स कपको विजेतालाई ५ हजार डलर



नेपाल समाचारपत्र, काठमाडौं ।

विश्वकपका छनोट खेलहरू नहुने भएपछि यसको सट्टामा हुने थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको विजेता र उपविजेता टिमको पुरस्कार रकम तय गरेको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता किरण राईले जनाएअनुसार पहिलो हुने टिमले ५ हजार र दोस्रो हुने टिमले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यस्तै, प्रत्येक खेलका उत्कृष्ट हुने खेलाडीलाई २ सय ५० डलर दिइनेछ । प्रतियोगिता आगामी साता दशरथ रंगशालामा हुनेछ । चैत १० गतेदेखि १६ गतेसम्म चल्ने प्रतियोगिताका लागि एन्फाले टिकटको मूल्य पनि तोकेको छ । भिआईपी प्याराफिटका लागि टिकटको मूल्य १५ सय र साधारण प्याराफिटका लाििग ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।

कोरोनाको कारण एन्फाले साधारणतर्फ १० हजार ५ सय र भिआइपीतर्फ १ हजार ५ सय दर्शकका लागि मात्रै टिकट बिक्री गरिने जनायो । प्रतियोगितामा १ करोड रकम खर्च हुने र १ करोड ५० लाख रुपैयाँ आम्दानी हुने आयोजकले अनुमान लगाएको छ । प्रतियोगितामा नेपालसहित बंगलादेश र किर्गिस्तानले सहभागिता जनाउनेछन् । नेपालले पहिलो खेल चैत १२ गते किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा बंगलादेशविरुद्ध चैत १४ गते खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्