झाडापखालामा झोलिलो पदार्थ



तारन्तार तीनपटकभन्दा बढी पातलो दिसा जानु, बान्ता हुनु, पेट दुख्नुलाई झाडापखाला वा झाडाबान्ता भनिन्छ । झाडापखाला हुँदा शरीरमा पानीको कमी हुन्छ । यसलाई जलवियोजन हुनु भनिन्छ । जलवियोजन हुँदा शरीरबाट प्रशस्त पानी, नून तथा पोषण तत्वहरु खेर जान्छन् । यसलाई समयमै पूर्ति गर्न नसक्दा बिरामीको ज्यानसमेत जान सक्ने खतरा हुन्छ ।

यस्तो झाडापखालालाई सामान्य उपचारले एक हप्तामा नै ठीक हुन्छ । तर एक हप्ताभन्दा बढीसम्म रह्यो भने त्यो कर्निक डायरियामा परिवर्तन हुन्छ । उपचार नगरेको अवस्थामा यसले गम्भीर परिणाम ल्याउन सक्छ । यसको ठीकसँग उपचार नगरेको अवस्थामा जलवियोजन (शरीरमा पानीको मात्रा कम) अर्थात् डिहाइड्रेसन हुन सक्छ । शरीरमा पानीको कमी भएमा बिरामीको मृत्यु नै हुन सक्छ ।

मौसममा आएको परिवर्तनले शरीरको तापक्रम सन्तुलन हुन नसक्दा र हामीले खाने खाना र पानीमा ध्यान नदिँदा झाडापखाला लाग्ने गर्छ । गर्मीमा खाना छिट्टै बिग्रने र लामो समय राख्दा ढुसी पर्ने र नमीठो बास्ना पनि आउने हुन्छ । त्यस्तै पाचन शक्तिले पचाउन नसक्ने खानेकुरा खाएमा पनि यो रोग लाग्छ । शरीरलाई अनावश्यक अथवा अति धेरै तेलमा तारेका खाना जस्तै– तारेको भुटेको मासु, भटमास खानुहुँदैन । त्यस्तै धेरै नुनिलो, धेरै पिरो र मसलायुक्त खानेकुरा नखाँदा बेस हुन्छ ।
– स्वरुपा भुजेल, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्