नेकपा एमालेभित्रको ओलीवाद



  • मनिषा कार्की

नेकपा एमालेभित्रको ओलीवाद अलोकतान्त्रिक, असंवैधानिक, अराजनीतिक, सर्वसत्तावादी, निरंकुश, अहंकार, व्यक्तिवाद, गुटगत मनोवृत्ति, पूर्वाग्रही र अधिनायकवादको चरम पराकाष्ठा मात्र होइन, नेकपा एमाले र नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जनको बाटोतर्फ लैजान प्रयोग भएका विदेशी शक्तिहरुको गतिलो हतियार पनि हो भन्ने प्रधानमन्त्री ओलीका परिस्थितिजन्य घटनाक्रमबाट पुष्टि हुन्छ ।

नेकपा एमालेभित्र दलाल तथा नोकरशाही पुँजीवादको नयाँ ब्रान्ड जबर्जस्त स्थापित गर्न सफल ओलीवाद यथास्थिति र पश्चगमनको मतियार, ढोंगी राष्ट्रवाद, अधिनायकवादका चिन्तक हुन् । अहंकारको पिण्ड, कम्युनिस्ट आन्दोलनको कलंक र विध्वंशात्मक गतिविधिका नाइके ओलीवादले नेकपा एमालेलाई हेर्ने दृष्टिकोण नै वाक्कदिक्क लाग्ने मात्र होइन राजनीतिक छलछाम र षड्यन्त्रको उद्योग हो भन्ने प्रतिनिधि उदाहरणसमेत बने ।

जसको प्रभाव ७५ साल जेठ ३ को पूर्ववत् अवस्थामा फर्किएको नेकपा एमाले कमजोर र थला परेको जस्तो महसुस आमकार्यकर्तालाई भएको छ ।शक्ति र सत्ता टिकाउन जुनसुकै कदम चाल्ने, राष्ट्र, जनता र सहकर्मी भनेका केही पनि होइनन् भन्ने लाग्ने, अहंकार पाल्ने, आफ्नो स्वार्थको निम्ति सहकर्मीको इतिहासमाथि तीर चलाउने, जनताको भविष्यमाथि खेलबाड गर्ने, राष्ट्रिय स्वाधीनता नै धरापमा पारिदिने, लाखौं कार्यकर्ताको भविष्य अन्यौल पार्ने एमालेभित्रको ओलीवादलाई परास्त गर्नु र ओली प्रवित्तिको अन्त्य गर्नु, सुदृढीकरणसहितको नेकपा एमाले पुनर्निर्माण गर्नु हामी सबैको साझा दायित्व र अभिभारा हो भने आम युवापुस्ताको परिकल्पना र जनअपेक्षा पनि यही हो ।

२०४६ सालपछिको खुला राजनीतिमा एमालेप्रति जनआकर्षणको मुख्य केन्द्र महासचिव मदन भण्डारी हुन्, जसको प्रभाव आज सम्म छ । नेकपा एमालेमार्फत नेपालको कम्युनिस्ट आन्दोलनलाई उनले नयाँ दिशा दिए । ‘जनताको बहुदलीय जनवाद’ को राजनीतिक कार्यक्रम अघि सारेर कम्युनिस्टहरू पनि प्रतिस्पर्धाको राजनीतिमा अटाउन सक्छन् भन्ने मार्गसमेत कोरिदिए । त्यही बाटो हिँडेर एमाले यहाँसम्म आइपुगेको छ । अब कहाँ जाने र कसरी जाने ? भन्ने पहिलो आधार र मार्गचित्र पार्टी नेतृत्व पंक्तिले दिनुपर्छ । आज पनि हिजोजस्तै मदन भण्डारीको फोटो र ब्यानर टाँसी आदर्शको कुरा गरेर नेकपा एमाले युवाहरूको आकषर्णको केन्द्रविन्दु बन्न सक्छ कि सक्दैन भन्ने मूल प्रश्न हो ।

नेकपा एमालेको विगतमा जस्तै फेरि पनि राष्ट्रियता, लोकतन्त्र र जनजीविका, स्वास्थ्य, शिक्षा, रोजगार, विकास, सामाजिक सुरक्षा, न्याय, सामाजिक र राजनीतिक रुपान्तरण, भ्रष्टाचारमुक्त समाजको परिकल्पना र आर्थिक क्रान्तिमा जोड दिनु अनि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै समाजवादी यात्रामा जानु हाम्रो पहिलो अभिभारा हो ।

मजदुर, किसान, श्रमिक, पेसागत संघ–संगठन, विद्यार्थी र आमजनताका जनअपेक्षालाई सम्बोधन गर्नु अपरिहार्य छ । त्यस्तै व्यवस्थित र जुझारु कार्यकर्तालाई क्षमताअनुसारको कार्यविभाजन अनि जुर्मुराउन सक्ने ऊर्जा भर्दै युवापंक्तिलाई व्यवस्थित परिचालन गर्न सक्नुपर्छ । यसो गर्ने हो भने नेकपा एमालेभित्रको ओलीवादको अन्त्य र फरक शक्तिहरुसँग स्वस्थ प्रतिस्पर्धा गर्दै रुपान्तरणसहितको सुदृढ शक्तिशाली नेकपा एमाले निर्माण गर्न सकिन्छ भन्ने आमकार्यकर्ताको आशा एवम् विश्वास हो ।२०५१ सालको एमालेको नौमहिने सरकारले केही दूरगामी प्रभावका कार्यक्रम ल्यायो ।

आफ्नो गाउँ आफैं बनाऔं, वृद्ध भत्ताजस्ता केही कार्यक्रमको प्रभाव र अनुभूति आमजनतामा प्रत्यक्ष प-यो । अहिलेसम्म जनताको विश्वास र भरोसा कायम छ । जसको प्रभावलाई र जनमतलाई साथ लिएर ओलीले आफूलाई शक्तिमा रुपान्तरण गर्नु एमालेभित्र ओलीवादको रुपमा हाबी हुनु आफैंमा दुर्भाग्यपूर्ण र पार्टीलाई ठूलो क्षति थियो ।

अहिले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीको अस्वाभाविक कदमले जनतासँगको भरोसा र विश्वास टुटेको छ । जनजीविका, वर्ग उत्थान र विकासबारे बौलाएर ठूला–ठूला गफ, भाषण हाँक्ने तर विचार र ज्ञानमा विचलन हुँदा आन्दोलन एवम् पार्टी पूर्णतः कमजोर बनाएको छ । वैचारिक आवरणमा गुटहरू निर्माण हुनुपर्नेमा ओली केन्द्रित गुट निर्माण हुँदा ओलीवादको जबर्जस्ती हाबीले नेकपा एमालेलाई ठूलो क्षति पुगेको छ । अतः प्रधानमन्त्री ओलीले अहंकार, व्यक्तिवाद, गुटगत मनोवृत्ति, सबै खाले गलत प्रवृति त्यागेर, पूर्वाग्रह छोडेर आउने हो, फेरि पनि नेकपा एमालेलाई एकताबद्ध बनाउने अभियानमा लाग्ने हो, आमकार्यकर्ताको भावनाको कदर गर्दै जाने हो भने नेकपा एमाले एकतासहितको सुदृढ नेकपा एमाले बन्नेछ । आजको आवश्यकता सुदृढ नेकपा एमाले हो ।

(लेखक मनिषा कार्की त्रिभुवन विश्वविद्यालयमा अध्यनरत अनेरास्ववियुका प्रभावशाली विद्यार्थी नेत्री हुन् ।)

प्रतिक्रिया दिनुहोस्