कहाली लाग्दा सडक दुर्घटना



मञ्जु भट्ट

केही दिनअगाडिको कुरा हो, काठमाडौंको नयाँ बस्तीनजिकैको गौरीनगरमा एक सात वर्षका बालक स्कुल नखुलेको कारणले घरभित्र बस्दा वाक्क भए ।त्यसैले जसोतसो पैसा जुटाएर बुबाले उनका लागि भर्खरैनयाँ साइकल किनिदिएका थिए । सो साइकल चलाउँदै ती बालक घुम्तीबाट निस्केर अर्कोतिरको सडकमा जान खोजे । त्यतिखेरै अन्धाधुन्ध तीव्र गतिमा मोटरसाइकल चलाउँदै आएका एकजना १७–१८ वर्षका युवकले ती बालकको साइकललाई बेस्सरी ठोक्कर दिए । साइकलबाट उछिट्टिएर ती बालक बीचसडकमा बजारिन पुगे । उनको घुँडामा ठूलो चोट लाग्यो । साइकलको पाङ्ग्रा, अगाडिको ह्यान्डल कुच्चिएर डल्लो प¥यो । भुइँमा पछारिएका बालकडरले काँपिरहेका थिए । धेरैजसो सुनसान रहने त्यो सडकमा यदि धेरै गाडीहरु गुड्थे भने ती बालकलाई जे पनि हुन सक्थ्यो ।

आफ्नै कोठा तथा आँखा अगाडि घटेको यो घटनाले मलाई पनि धेरै दिनसम्म राम्ररी निद्रा परेन । ती युवक पनि केहीअगाडि गएर भुइँमा लडे । उनलाई कुइनामा सामान्य चोट लाग्नुबाहेक खासै केही भएन । दुई महिनाअगाडिको घटना भएपनि ती बालक भने अहिलेसम्म पनि सडकमा हिँड्न डराउँछन् । मोटरसाइकल आइरहेको देख्यो भने सडकको छेउमा आफन्तको हात समाई टाढै उभिइहाल्छन् । उनको मस्तिष्कमा यो घटनाले ठूलो डर पैदा गरिदिएको छ ।गतवर्ष सडकमा गुडिरहेको गाडी, तरकारी तथा फलफूल पसलभित्र पस्दा एकजना व्यापारीको ठूलो नोक्सान भएको थियो । कुनामा बसेका उनी मुस्किलले बाँच्न सफल भएका थिए । अर्को दिननै उनले त्यो पसल बन्द गरेर अन्तै लागे । मेरै एकजना भाइ सडक दुर्घटनामा पर्दा हात तथा खुट्टामा स्टील राखेर महिनौं बस्नुप¥यो ।

गतवर्ष बिहानै कलेज पढाउन हिँडेका एकजना साथीको मोटरसाइकल दुर्घटनामा परी घटनास्थलमै मृत्यु भयो ।सानो बच्चा, कलकलाउँदी श्रीमती र बूढी आमालाई बेसहारा बनाई उनी सदाका लागि अस्ताए । यही माघ २ गते काठमाडौंको चन्द्रागिरि नगरपालिकामा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु भयो ।यी तनजिकबाट मैले देखेका केही घटना मात्र हुन् ।विश्व स्वास्थ्य संगठनले सन् २०२० मा गरेको एक अध्ययनअनुसार प्रत्येक वर्ष विश्वमा करिब १३ लाख मानिसको सवारीसाधन दुर्घटनाका कारणले मृत्यु हुने गरेको छ । २ देखि ५ करोड मानिस आंशिकदेखि पूर्णरुपमा अपांग हुने गरेका छन् । कुल दुर्घटनाको ९३ प्रतिशत दुर्घटनाहरु अल्प तथा मध्यम विकसित देशहरुमा मात्रै भएको पाइन्छ जबकि यी देशहरुमा मात्रै विश्वको ६० प्रतिशत सवारीसाधनहरु गुडेको पाइन्छ । शहरको हकमा पैदल यात्री, साइकल तथा मोटरसाइकल चालक सबैभन्दा बढी सडक दुर्घटनामा पर्ने गरेका छन् भने लामो रुटका ठूला सवारीसाधनसमेत त्यत्तिकै दुर्घटनामा पर्ने गरेका छन् ।

महिलाहरुभन्दा तीन गुणा बढी पुरुषहरु सवारी दुर्घटनाको जोखिममा पर्ने विश्व स्वास्थ्य संगठनको तथ्याङ्क रहेको छ । सडक दुर्घटनामा पर्ने जम्मा संख्याको ७३ प्रतिशत पुरुषहरु २५ वर्षभन्दा कम उमेरका रहेको तथ्यांक छ ।घुम्ती, चोक, दायाँ–बायाँ, भीडभाड, गतिको ख्यालै नगरी मनलाग्दी मोटरसाइकल तथा अन्य सवारीसाधन चलाउने युवाहरुका कारण बढीजसो सडक दुर्घटना हुने गरेका छन् । आफ्नो दिशा, घुम्ती, मोड, चोक, सवारीसाधनको गतिलाई नियन्त्रणमा राखेर चनाखो भई, सावधानीपूर्वक अनुशासनमा रहेर सबैले सवारीसाधन चलाउने हो भने धेरैजसो सडक दुर्घटना आफैं न्यूनीकरण भएर जान्थे । धेरैजसो दुर्घटनाहरु दुर्घटना नभएर जानी–जानी भएका, गराइएका घटनाहरु हुन् ।तीव्र गतिमा सवारीसाधन चलाउनाले दुर्घटना निम्तिन सक्छ भन्ने थाहा हुँदाहुँदै पनि त्यसरी नै चलाउनु भनेको चालकको गल्ती हो ।ट्राफिक प्रहरी महाशाखाका अनुसार मुलुकभर सवारी दुर्घटनामा दिनहुँ सातजनाको ज्यान जाने गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाको २०७५ को रिपोर्टअनुसार मुलकभर भएका १३ हजार ४२१ दुर्घटनामा ९ हजार ९४० वटा दुर्घटनाको कारण चालकको लापरबाही थियो । काठमाडौंमा आठ वर्षमा भएका ४६ हजार दुर्घटनामध्ये ४० हजार ४०८ दुर्घटना चालकको लापरबाहीले भएको महाशाखाले जनाएको छ । सडक दुर्घटनाका कारण काठमाडौं उपत्यकामा मात्र दिनहुँ एकजनाले ज्यान गुमाउने गरेका छन् । यो आँकडाअनुसार दुर्घटना जुनसुकै ठाउँमा भएपनि सबैभन्दा बढी सावधान हुनुपर्ने सवारी चालकले नै हो । सवारीसाधन दुर्घटना हुनुका अन्य कारणहरुमा खाल्टाखुल्टी भएका साँघुरा सडक तथा पुराना, थोत्रा, बिग्रिसकेका सवारीसाधन मर्मत–सम्भार नगरी सडकमा गुडाउनु पनि हो । धेरैजसो सवारीसाधन दुर्घटना, चालकले जानी–जानी लापरबाहीपूर्वक चलाउनाले नै हुने गरेका छन् । तीव्र गतीमा सवारीसाधन चलाउँदा रोक्न समय लाग्ने, सवारीसाधन अनियन्त्रित हुने, कसैलाई ठोकिहालेमा ज्यानै जानेसम्मका घटना हुन्छन् भने सवारीसाधन मन्द गतिमा किन नचलाउने ? सबैले बुझ्नु जरुरी छ ।

विगत तीन वर्षमा सुदूरपश्चिममा मात्रै ८८५ दुर्घटना हुँदा ५९४ जनाले ज्यान गुमाउँदा ९५९ जना गम्भीर घाइते भएका थिए । कार्तिक महिनामा मात्रै बैतडीको खोडपे बजारनजिकै भएको बस दुर्घटनामा ९ जनाको मृत्यु हुँदा ३४ जना घाइते भएका थिए । अनुसन्धानका क्रममा बस पुरानो भएको कारणले ब्रेकले राम्ररी काम नगरेको पाइएको थियो । मंसिर महिनामा बैतडीको झुलाघाटमा भएको जीप दुर्घटनामा ६ जना घाइते हुँदा ५ जनाले ज्यान गुमाएका थिए । साँघुरो पहाडी सडकमा तीव्र गतिका कारण यो दुर्घटना भएको थियो । मंसिर महिनामा डोटीमा भएको जीप दुर्घटनामा एकै परिवारका आमा, छोरा र श्रीमतीको मृत्यु हुँदा आफन्त गुमाएको पीडामा बाँचेका एक्लाश्रीमान्को जीवन पनि बाँच्नु न मर्नुको दोसाँधमा गएर अडियो ।

सवारीसाधन दुर्घटनाका कारण उमेरै नपुगी कलिला लालाबाला, श्रीमान्, श्रीमती, आमाबुबा, भाइबहिनी, आफन्त गुमाउनुको पीडा बयान गर्न सकिँदैन । कुनै दम्पतीको एकमात्र सन्तान हुन्छ । जसलाई उनीहरुले रगत, पसिना बगाएर हुर्काई ऋण, पैंचो गरेर पढाइलेखाइ गरेर ठूलो मान्छे बनाउन खोजिरहेका हुन्छन् । अरुको लापरबाहीको कारणले एक्लो सन्तान सडक दुर्घटनामा पर्दा वंश नै नाश भई बुढेसकालमा एक्लो जीवन बिताइरहेका कतिपय आमाबुबाहरुका कहाली लाग्दा दृश्यहरु हाम्रै आँखाअगाडि छन् ।एकजना चालकको लापरबाहीको कारणले अन्य कैयौंले ज्यान गुमाउनु, अंगभंग भएर जीवनभर दुःख पाउनु, आफन्त गुमाउनु ठूलो दुर्भाग्य हो, अरुमाथि गरिने अन्याय तथा अत्याचार हो । यात्रुको ज्यान जोखिममा पार्दै आफ्नै लापरबाहीले दुर्घटना गराएर गैरजिम्मेरवार बनी भाग्ने, सवारीसाधन ब्याक गरी किचेर मार्ने चालकलाई जति नै कडा सजाय दिए पनि कम हुन्छ ।

जिल्ला प्रहरी कार्यालय, गजुरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुदर्शनदेव जोशीका अनुसार दुर्घटना हुनुमा मुख्य जिम्मेवार चालकहरु नै हुन्छन् । उनका अनुसार विगतमा भएका दुर्घटनाहरुको विश्लेषण गर्दा ९० प्रतिशत दुर्घटनामा मोटरसाइकल दुर्घटना भएकोले यसको न्यूनीकरणका लागि पृथ्वी राजमार्ग लक्षित गरी हालै प्रहरीले सचेतना अभियान शुरु गरेको छ । तीव्र गतिमा मोटरसाइकल चलाउने कार्यलाई निरुत्साहित गर्न नेपालगन्जमा हालै प्रथम पुरस्कार १० हजारदेखि विभिन्न सान्त्वना पुरस्कारसमेत रहेको स्लो बाइक प्रतियोगित सम्पन्न भएको छ ।काठमाडौंको महानगरीय ट्राफिक महाशाखाले पनि बढी दुर्घटना हुने सडकका स्थानहरु पहिचान गरी अँध्यारोमा समेत टल्कने ४३० थान ट्राफिक कोनहरु राखेको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंका विभिन्न चोक, आकाशेपुल र जेब्राक्रसिङमा ३०० ट्राफिक स्वयंसेवकलाई प्रशिक्षण गरी परिचालन गरेको छ । यस्ता स्वयंसेवकले बढी सवारी चाप तथा भीडभाड हुने ठाउँमा सुरक्षित सवारी आवागमन गराउन मद्दत गर्नेछ भने जथाभावी बाटो काट्नुको सट्टा आकाशेपुल तथा फुटपाथ प्रयोग गर्दै यात्रु नियम पालना गर्न सन्देश प्रवाह गर्नेछ ।

चालकले रक्सीको नशामा सवारीसाधन चलाउने, ब्रेक फेल हुने, यात्रुहरुले भनेको नसुन्ने, गन्तव्यमा छिटो पुग्ने होडबाजी, साहुसँग मनमुटावका कारण पनि कतिपय दुर्घटना हुने गरेको देखिन्छ । अवैज्ञानिक सडक निर्माणका कारणले पनि पहाडी इलाकाहरुमा बढी दुर्घटना भएको पाइन्छ । कहिलेकाहीँ चालकले रक्सीको नशामा रातदिन नसुती लगाताररुपमा लामो रुटमा सवारीसाधन चलाउनाले पनि बेला–बेलामा दुर्घटना हुने गरेका छन् । टिपर चालकको मनोमानी पनि दुर्घटना हुन जिम्मेवार देखिन्छ ।सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि चालक सबैभन्दा सचेत हुनु जरुरी छ । उमेर बढ्दै गएसँगै आँखा कमजोर हुने, टाढाको राम्ररी देख्ने तर नजिकको वस्तुलाई नदेख्ने समस्या पनि कतिपयमा देखिन्छ । चालकले समय–समयमा आँखा जाँच गराएसँगै आवश्यक परे चश्मा लगाउनु जरुरी देखिन्छ । ट्राफिक प्रहरीले लामो तथा छोटो दूरीका सवारीसाधन तथा चालकको अवस्थाको चेकजाँच पैसाको लोभमा नपरी आफ्नो कर्तव्य सम्झी डटेर गर्नुपर्छ । आवश्यक परेको खण्डमा चालकलाई उचित सल्लाह, सुझाव तथा दण्डसमेत दिन पछि पर्नुहुँदैन । चालकसँगै पैदल यात्रुले समेत दुर्घटनाबाट जोगिन सचेत हुनु जरुरी छ । सडकमा एक्लै जताततैबाट सडक पार गर्नेलाई दण्ड गरिनुपर्छ।

यसै गरी सवारीसाधनको बढी चाप हुने ठाउँहरुमा वैकल्पिक बाटोको व्यवस्था हुुन सकेमा दुर्घटना न्यूनीकरणमा मद्दत पुग्छ । दुर्घटना न्यूनीकरण गर्न ठाउँ–ठाउँमा जेब्रा क्रसिङ, ट्राफिक लाइट, आकाशे पुल, सडकपेटीको व्यवस्था हुनु अत्यन्तै जरुरी छ । सडकमा परेका खाल्टाखुल्टीहरु छिट्टै पुरिनुपर्छ । खुइलिएर गएका जेब्रा क्रसिङ सजिलै नदेखिएपछि जताततैबाट सडक पार गर्दा धेरैजसो दुर्घटना हुने गरेका छन् । बाक्लो सवारीसाधन गुड्ने प्रत्येक चोकहरुमा ट्राफिक लाइट वा ट्राफिक प्रहरी हुनु अतिआवश्यक छ । ट्राफिक प्रहरी नभएका चोकहरुमा जुनसुकै दिशामा पनि चालकले सवारीसाधन घुमाएको सजिलै देख्न सकिन्छ । जुन सवारीसाधन दुर्घटनाको मुख्य कारण हो । सबैभन्दा पहिला सवारीसाधन तथा पैदल यात्रुका लागि बनाइएका ट्राफिक नियमहरु सजिलै सबैको पहुँचमा हुनुपर्छ । त्यसलाई अनुशरण नगर्नेलाई सजायको व्यवस्था हुनु सबैभन्दा जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्