विन्दुको ‘मावली दिदी’ लोकार्पित



काठमाडौं, (नेस) ।

साहित्यकार विन्दु अधिकारी ढकालको कथासङ्ग्रह मावली दिदी लोकार्पित भएको छ । ढकालको पहिलो कथासङ्ग्रह मावली दिदीको एक कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्राज्ञ प्राडा हेमनाथ पौडेल, प्राज्ञ माया ठकुरी, कथाकार ढकालकी आमा लक्ष्मी अधिकारी, पति नेपाल प्रहरीका एसएसपी भीमप्रसाद ढकाल, पुत्र विप्लव ढकाल ‘विपु’लगायतले लोकार्पण गर्नुभयो ।

लोकार्पणपश्चात् बोल्दै प्रमुख अतिथि कुलपति उप्रेतीले कथाकार ढकाल ऊर्जाशील र सिद्धहस्त साहित्यकार भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘मावली दिदीभित्र समाविष्ट विन्दुजीका कथाहरूमा समाजका विविध पक्ष मिहीन ढङ्गबाट प्रतिबिम्बित भएका छन् । एउटा पठनीय कृतिका रूपमा मावली दिदी आएको छ ।’प्रज्ञा–प्रतिष्ठानको आख्यान विभाग प्रमुखसमेत रहनुभएकी वरिष्ठ कथाकार प्राज्ञ ठकुरीले मावली दिदी हाम्रै गाउँसमाजकी एउटी प्रतिनिधिमूलक पात्र भएको बताउँदै कथासङ्ग्रहभित्रका सबै कथाले पाठकलाई तान्ने दाबी गर्नुभयो ।

लोकार्पित कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै समालोचक डा. यज्ञेश्वर निरौलाले सङ्ग्रहभित्रका सबै कथाहरू पठनीय रहेको उल्लेख गर्नुभयो । उहाँले कथाकार ढकालले नयाँ शैलीबाट कथा वाचन गर्नुभएको बताउनुभयो ।धनकुटाको चुङमाङमा जन्मिनुभएकी कथाकार विन्दु अधिकारी ढकालको यसअघि ‘विन्दुहरू’ नामक कविताकृति प्रकाशित छ । मावली दिदी ब्रदर बुक्स पब्लिकेसनले प्रकाशन गरेको हो । सङ्ग्रहभित्र १५ ओटा कथा समाविष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्