प्रज्ञामा अनिताको आवाज 



नेपाल समाचारपत्र, काठमाडौं ।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान ‘अनिताको आवाज’ शीर्षक एकल कविता वाचनले गुन्जियो । ‘समर्पण’, ‘अर्पण’ र ‘आतुङ’ गरी ३ ओटा कविता संग्रह ल्याइसकेकी अनिता लामा मंगलबार एकल कविता वाचनमा उत्रिनुभएको हो ।प्रधानमन्त्रीपत्नी राधिका शाक्यलाई साक्षी राखेर उहाँले भुइँमान्छेका आवाज मुखरित सिर्जनाहरू समेत सुनाउनुभयो ।

जेसुम अभियानद्वारा आयोजित एकल कविता वाचनको शुरुवात लामाले आमा र बुबामा समर्पित गरेर दुई छोटा कविता ‘दियो’ र ‘बुबा’बाट गर्नुभएको थियो ।त्यसपछि वैदेशिक रोजगारमा गएका आफ्ना पति सम्झेर पत्नीले लेखेको चिठ्ठी आधारित कविता ‘पसिना’ सुनाइएको थियो । मुलुकलाई समृद्धितिर लैजान रेमिट्यान्स पठाउने युवा पसिनाको कथा, उनीहरूको पारिवारिक मनोदशा, पैसासँगै यादहरू पठाए पनि भौतिकरुपमा नजिक हुन नसकेको दाम्पत्य जीवनको पीडालाई यो कविताले सशक्तरुपमा उजार गरेको थियो ।लगत्तै ‘प्रसाद’, कवितामा भुइँमान्छेको कथा सुनाइएको थियो । मन्दिर आसपास फूल र प्रसादका सामग्री बेच्ने श्रमिकहरूको वास्तविकता उजागर गरिएको यो कविताले पनि राम्रै ताली पायो ।

अनिताका कविता सुनेपछि हालै आत्मकथा कृति ल्याएकी प्रधानमन्त्रीपत्नी राधिका शाक्यले शुभकामना दिँदै भन्नुभयो– ‘अनिताको कविता लेखनबारे मलाई राम्रोसँग थाहा छ । उनको साहित्यिक लेखन कविताबाट अन्य विधामा पनि फड्को मारेको हेर्न चाहन्छु ।’नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले एक दशकअघि कवि अनिताको कृति विमोचन गरेको सन्दर्भ सम्झनुभयो । ‘कवि अनिता हामी बाँचिरहेको समयकी आवाज हुनुहुन्छ । उहाँका कविताहरूले समसामयिक विषयवस्तुका अलवा समय, सभ्यता र संस्कृतिको वकालत गरेका छन् । उहाँ एक अब्बल कवि हुनुहुन्छ भन्ने कुरा आज वाचित कविताहरूले पुष्टि गरेका छन् ।’

कवि अनितालाई अर्का कविहरू स्नेह सायमि, शशी लुमुम्बू, सुरेश हाचेकाली र फूलमान वलले एकएक ओटा कविता वाचन गरेर साथ दिएका थिए । जन्मदिनको समेत अवसर पारिएको कार्यक्रममा कवि अनितालाई बुबा कान्छा लामा, आमा माया लामा र दिदी एवं बागमती प्रदेश सांसद सीता लामाले तामाङ परम्पराअनुसार टोटलाको फूलको टीका लगाइदिएर शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्