लिखत कीर्ते गर्ने महर्जन पक्राउ



काठमाडौं, (नेस) ।

सरकारी र सार्वजनिक लिखत कीर्ते गर्ने काममा संलग्न रहेको अभियोगमा ललितपुर भैँसेपाटी बस्ने रवीन्द्र महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

भ्याली कन्स्ट्रक्सन प्रालिले ललितपुर पुल्चोक श्रीमहलस्थित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवद्र्धधन तथा गुम्बा विकास समितिको लेटरप्याड कीर्ते गरी ‘चपुर–९ स्थित बहुतले अस्पताल भवन, मेडिटेसन हल, कक्षाकोठा र कम्पाउन्ड वालसमेत २०७१ भदौ २४ गते निर्माण कार्य सुरु गरी भ्याटबाहेक ४३ करोड ३७ लाख ५५ हजार ६ सय ९ रुपियाँ ८८ पैसा २०७३ असोज ८ गते सम्पन्न गरी संस्थालाई हस्तान्तरण गरेको प्रमाणित गरिन्छ’ भन्ने व्यहोरा उल्लेख गरी संस्थाका योजना अधिकृत गंगाकुमारी गुरुङ र शाखा अधिकृत दीर्घकुमारी गुरुङको हस्ताक्षर भएको विभिन्न ६ वटा पत्र कीर्ते गरेको प्रहरीले जनाएको छ ।

ती पत्रहरू विभिन्न मिति र समयमा नेपाल सरकारका विभिन्न निकायहरुद्वारा आह्वान गरिएका बोलपत्रहरुमा भाग लिने क्रममा बौद्ध दर्शन प्रवद्र्धधन तथा गुम्बा विकास समितिको अनुभवको प्रमाणितपत्र समेत संलग्न गरी सरकारी र सार्वजनिक लिखत कीर्ते गर्ने काममा समेत उनी संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

उनको साथबाट १ थान मोबाइल, २ थान ल्यापटप, २ थान कम्प्युटरको सीपीयू, ७ थान मागी गुम्बा समिति संस्थाको छापसहितको खाली लेटरप्याड, १ थान मागी गुम्बा समिति संस्थाको छाप, मागी गुम्बा समिति संस्थासँगको सहमतिपत्र र बौद्ध दर्शन प्रवद्र्धधन तथा गुम्बा विकास समितिको थप रकम निकासासम्बन्धी लेखिएको चिठीको छायाँप्रति, २३ थान रकम समेत लेखिएको विभिन्न बैंकहरुको चेक लगायतका कागजपत्र प्रहरीले बरामद गरेको छ ।पक्राउ महर्जन उपर लिखत सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्