हेटौंडामा ८४ फिटका हनुमान



न्युज अफ नेपाल,हेटौंडा ।

गोरक्षेश्वरपरिसरमा हिजोआज सबैको ध्यान केन्द्रित छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् पर्ने उक्त बाटो भएर यात्रा गर्नेको नजर त्यहाँ निर्माण भइरहेको हनुमान मूर्तिमा केन्द्रित हुने गरेको छ । श्रीरामभक्त हनुमान सेवा समितिले २०७० चैत २५ गते मूर्ति निर्माण शिलान्यास गरेको थियो । हाल मूर्ति करिब अन्तिम चरणमा पुगेको छ । काठमाडौं साँगाको शिवको मूर्ति तयार गर्ने प्राविधिक टिमले नै उक्त मूर्ति निर्माण गरेको हो ।

समिति अध्यक्ष महेन्द्रनाथ अधिकारीका अनुसार निर्मित मूर्तिले धार्मिक संरक्षणमा टेवा पु-याउन मद्धत गर्नेछ । सोही उद्धेश्यले मूर्ति निर्माणमा लागिएको उहाँले बताउनुभयो । मूर्ति निर्माण कार्य छिट्टै सम्पन्न गरिने उहाँको भनाइ छ । ८४ फिट अग्लो मूर्तिको खुट्टा २० फिट तलसम्म छ । ५४ फिटदेखि माथिको भाग देख्न सकिने अध्यक्ष अधिकारीले जानकारी गराउनुभयो । हालसम्म करिब ७३ लाख खर्च भएको भन्दै अधिकारीले दुई करोड ८४ लाखमा निर्माणसम्पन्न हुने अनुमान गर्नुभयो ।

यस अवधिमा हेटौंडा उपमहानगरपालिकाले १० लाख, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले २५ लाख र अन्य संघसंस्था तथा व्यक्तिगत् खर्च भएका छन् । हनुमानको मूर्ति घेर्ने रेलिङसहित भ-याङ निर्माण हुँदैछ । पर्यटक आकर्षण गर्ने विभिन्न संरचना निर्माण हुने समिति अध्यक्ष अधिकारीले बताउनुभयो ।

साधुहरुका लागि बासस्थानसमेत निर्माण भइरहेको छ । कतै गन्तव्यका लागि हिँडेका सन्तहरुका लागि यहाँ बासका लागि भौंतारिनुनपर्ने अधिकारीको भनाइ छ । समितिको हलमा सात जना साधुले आश्रय लिइरहेका छन् । उक्त स्थानमा साधनाकक्ष समेत बन्ने उहाँले बताउनुभयो । विभिन्न जडिबुटीबाट निर्माण हुने आयुर्वेदीय औषधिका लागि समितिले आयुर्वेद भवन छुट्याएको छ ।

आयुर्वेद भवनमा सेवा लिन मिल्ने गरी सञ्चालन गरिने छ । हनुमानको मूर्तिनजिक नौं ग्रह राखिने अधिकारीले बताउनुभयो । पर्यटकलाई आकर्षण गर्न र धार्मिकरुपले ग्रहको नमूना राख्दा उचित हुने भएकोले यस कार्य अघि बढाइएको हो । हनुमानको मूर्ति नजिक बजेटले भ्याएसम्म शिवपार्वतीको पाँच फिट उचाईंको मूर्तिसमेत निर्माण गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्