बा ! सँगै फोटो खिचम् भन्न नि पाइएन



  • मनोज रेग्मी 

क्यामेरा शब्दले होइन तस्वीरले बोल्छ । यसले काल्पनिकताभन्दा यथार्थतालाई मात्र आफूभित्र तान्ने गर्दछ । त्यसैले क्यामेरामाथि सबैले विश्वास गर्छन् । सानैमा स्कुल पढ्दा हामी किताबका पानामा भएका फोटा गन्ने खेल खेल्थ्यौं । एकापट्टिको पेज साथीको, अर्कोपट्टिको मेरो । जसकोमा धेरै फोटो आयो, उसले जित्यो । किताबका फोटाले हामीलाई खुशी बनाउँथ्यो ।
मलाई पहिल्यैदेखि नै फोटाहरु हेर्न मन पथ्र्यो । फोटाहरु हेर्दा निकै आनन्द लाग्थ्यो ।

कहिलेकाहीँ पुराना फोटाहरुको ‘एल्बम’ पल्टाउँथे । आफू सानै हुँदाका, रोएका कराएका, विवाह, वर्तबन्ध तथा कार्जेमा सामेल भएका । पुराना दिनहरु र यादगार क्षणहरुको सम्झना गराउने नै फोटोहरुले हो । एल्बम पल्टाउँदा त्यति बेला आफ्नै बासँगको एउटै फोटो पनि नदेख्दा दुःख लाग्थ्यो । अनि भन्न मन लाग्थ्यो, ‘बा ! आउनुस् न एउटा फोटो खिचम् सँगै । आउनुस् न सँगै सेल्फी खिचम् !

यी कुरा भन्न नै पाइएन । सँगै पनि कसरी फोटो खिच्नु र ! सानै हुँदा बाबु बितेर गए । फेरि त्यति बेला क्यामेरा रिलबाट चल्थ्यो । फोटो खिच्न साह्रै गाह्रो हुन्थ्यो । कसैले झुक्किएर खिचे मात्रै आफू क्यामेरामा कैद भइन्थ्यो । त्यसैले कहिलेकाहीँ भन्न मन– जमाना फोटो र भिडियोको छ । नराम्रो फोटो हेर्नै मन पर्दैन । हरेक दिन, हरेक पल । विभिन्न फोटाहरु क्यामेरामा कैद हुन्छन् । हात–हातमा स्मार्टफोनहरु छन् । जस्तो भन्यो त्यस्तै क्यामेरा मोवाइलमै आउँछ । फोटो खिच्न खासै समय लाग्दैन । रिल सकियो भन्न पनि पर्दैन ।

फेसबुकमा पोस्टिएका बाबु–आमा, दिदी–बहिनी भाइ–भतिज, दाजु–भाउजूसँगका तस्वीरहरु हेर्दा मन प्रफुल्ल हुन्छ । जन्मदिन, पार्टी, भोज, संगीत, सुटिङ, विवाह, कार्जे, ब्रेकफास्ट, डिनर हरेक पाइला–पाइलाका गतिविधि आजकल क्यामेरामा कैद हुन्छन् । यो एउटा यादगार पल र सम्झनाको रुपमा जुनीभर रहन्छ । सोसल मिडियामा तमाम तस्वीरहरु आउँछन् । कोही कस्तो पोजमा त कोही कस्तो भेषमा ।

पुराना दिनहरुमा पनि आजका जस्तै झलक्क झल्किने क्यामेराहरु भइदिएको भए इतिहासका कैयौं काला दिनहरू उज्याला हुने थिए । हामी पनि आफ्ना पोज–पोजमा कैयौं फोटाहरु क्यामेरामा कैद गर्न सक्थ्यौं । अरुको जस्तै बा–आमासँग तस्वीर खिचाउन सक्थ्यौं । सेल्फी खिच्न सक्थ्यौं । बाल्यकालका ती दिनहरु, मृगहरूसँगै चर्ने बाघ, रुखको टुप्पोमा गीत गाउँदै स्याउला काटिरहेकी आमा, सुसेली हाल्दै बगेका नदी, साँझमा काम सकेर गीत गाउँदै घर फर्केका दमेरा, हिलो छ्याप्दै धान रोपेका रोपार, रोदीका रोइला भाकाहरु आदि–आदि आहा ! कस्ता देखिन्थे होलान् यदि क्यामेरामा कैद भएको भए ।

रिलमा खिचिएका त्यस बखतका सेता–काला तस्वीरहरुले आजकलका रंगीन तस्वीरहरुसँग कहाँ प्रतिस्पर्धा गर्न सक्छन् र ? क्यामेराकै कारणले आज विश्वका जुनसुकै कुना पनि नजिकै छन् जस्तो भान हुन्छ । तर पृथ्वी कतिसम्म सुन्दर र जीवनदायी थियो भनेर ती पुर्खाले थाहै पाएनन् । मेरा बाबुले पनि पाएनन् । तर सधैँ अगेनामुनि जीवन गुजारेकी मेरी आमाले आज सुन्दर नीलो आकाशको कल्पना गर्न थालेकी छिन् । यो सब क्यामेराकै कमाल हो ।

पँधेरीको पानीमा, टल्कने थालीमा आफ्नो अनुहार हेर्ने जमाना अब धेरै पुराना भए । ती कुरा सुनाउँदा आजकल लाज लाग्छ, हाँसो लाग्छ । कथा सुनाएजस्तो लाग्न सक्छ । मेरो अनुहार कस्तो छ, हेर त ? भनेर अरुलाई हेर्दिन लगाउने जमाना पनि सकियो । अब त आफ्नो गोजीमा भएको फोन झिक्यो, अनुहार हे-यो । कति सहज, कति आनन्द । अझ त्यो भन्दा पनि बढी जमाना ‘सेल्फी’को छ । आफ्नो फोटो आफैंले खिच्न मिल्ने कति मज्जा, कति सजिलो ।

लेखापढी वा कर्मकाण्डका बेला तीन पुस्ता चाहिने भएकाले बाजेको नाउँ सबैलाई थाहा हुन्छ । तर धेरैलाई थाहै हुँदैन उनीहरुको अनुहार कस्तो हुन्छ । याद होस् पनि कसरी ? त्यति बेला क्यामेरा नै थिएन । तर अहिले त थाहा हुन्छ नि ! मलाई कहिले लाग्छ, पृथ्वीनारायण शाहको फोटो छ तर हाम्रा बाजेहरुको छैन । काठमाडौं झर्ने ताका मेरो गाउँका मानिस को थिए, के गर्थे होला भनी कल्पना गर्न मन लाग्छ । मेरो गाउँको अस्तित्व कस्तो थियो भनी जान्न मन लाग्छ ।

मानव आचरण नै हुन्छ, सानोतिनो कुरामा एक–अर्कासँग तुलना गर्ने । यो प्रतिस्पर्धी संसारमा हामीलाई हरकुरा सिक्नु छ, जान्नु छ जस्तो लाग्छ । अरुले सेल्फी खिचेर फेसबुकमा पोस्ट गरे भने आफूलाई पनि त्यसै गर्न मन लाग्ने । कसैले बा–आमासँगको फोटो राख्दा आफूलाई पनि खिच्न मन लाग्ने । त्यसैले कहिलेकाहीँ बूढी आमालाई सोध्न मन लाग्छ, ‘मेरो बाल्यकालको फोटो खोइ ? मेरो बाबुसँगको फोटो खोइ ?’

प्रतिक्रिया दिनुहोस्