रियल र सिटी क्वार्टरफाइनलमा



लन्डन, (एजेन्सी) ।

स्पेनिस क्लब रियल मेड्रिड र इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।अन्तिम १६ अन्तर्गत मंगलबार भएको दोस्रो लेगको खेलमा इटालियन क्लब एटलान्टामाथि ३–१ को प्रभावशाली जित निकाल्दै १३औं पटकको च्याम्पियन रियल क्वार्टरफाइनलमा पुगेको हो ।

रियलको घरेलु मैदान अल्फ्रेडो डे स्टेफानो रंगशालामा भएको सो खेलमा रियललाई जिताउन कप्तान सर्जियो रामोस, करिम बेन्जेमा र मार्को एसेन्सियोले एक–एक गोल गरे । पहिलो लेगमा एट्लान्टालाई उसैको घरेलु मैदानमा १–० ले हराएको रियलले आफ्नो मैदानमा भएको दोस्रो लेग ३–१ ले जितेपछि समग्रमा ४–१ को प्रभावशाली जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेको हो ।रियलले खेलको ३४औं मिनेटमा पहिलो गोल गरेर अग्रता लिएको थियो । उक्त गोल क्रोएसियन प्ले मेकर लुका मोड्रिचको क्रस पासमा फ्रेन्च फरवार्ड करिम बेन्जेमाले गरेका थिए । त्यसपछि रियलले दोस्रो गोल भने दोेस्रो हाफमा पेनाल्टीमार्फत् गरेको थियो । ब्राजिलियन युवा स्टार भिनिसियस जुनियर बल लिएर डी–बक्सभित्र प्रवेश गर्दा एट्लान्टाका खेलाडीले फाउल गरेर लडाएपछि रेफ्रीले सोझै घरेलु टोलीलाई पेनाल्टीको मौका दिएका थिए । जसमाकप्तान रामोसले गोल गरेर रियलको अग्रता दोब्बर बनाए ।

यता ८३औं मिनेटमा पाहुना टोली एट्लान्टाका लागि लुइस फुरिएल फ्रुटोले फ्री किक मार्फत गोल गरेपछि खेल २–१ भएको थियो । तर, गोल बेहोरेको एक मिनेटपछि नै खेलको ८४औं मिनेटमा सब्सिच्युट खेलाडी एसेन्सियोले मैदान प्रवेश गर्नासाथ लुकास भासक्वेजको पासमा गोल गरेपछि रियलले दोस्रो लेग ३–१ तथा एग्रीगेटमा ४–१ ले जित्यो ।त्यस्तै, अन्तिम १६ अन्तर्गत भएको अर्को खेलमा म्यानचेस्टर सिटीले पनि जर्मन क्लब मोन्चेङ्लाडवाचमाथि २–० को जित निकाल्दै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान तय गरेको हो । सिटीलाई घरेलु मैदानमा जिताउन केभिन डे ब्रुयेने र इकाए गुन्डोगानले एक–एक गोल गरे । पहिलो लेग पनि २–० ले जितेको सिटी क्लिन सिटसहित एग्रीगेटमा ४–० को फराकिलो गोलअन्तरको जितका साथ क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको छ । पुस्कास एरिना रंगशालामा भएको खेलमा सिटीका लागि पहिलो गोल बेल्जियन प्ले मेकर डे ब्रुयेनेले गरेका थिए । खेलको १२औं मिनेटमा रियादम हारेजको पासमा मोन्चेङ्लाडवाचका कुनै पनि डिफेन्डर नरहेको अवस्थामा अनमार्क रहेका डे ब्रुयेनेले बललाई जाली चुमाएका थिए ।

त्यसपछि, सिटीका लागि दोस्रो गोल इकाए गुन्डोगानले खेलको १८औं मिनेटमा गरेका थिए । युवा खेलाडी फिलफोडेनले डी–बक्स बाहिर दिएको छोटो पासमा गुन्डोगानले गोलकिपरलाई चलाखीपूर्वक बिट गरेर हलुका प्रहारमै बललाई जाली चुमाएपछि खेलमा सिटीले अग्रता दोब्बर बनायो । त्यसपछि खेलमा कुनै गोल नभएपछि खेल सिटीले २–० ले जित्यो । अघिल्लो लेगको समेत नतिजा जोड्दा सिटीले समग्रमा ४–० को सहज जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गर्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्