चर्को ब्याज दरले उद्योगधन्दा चलाउन गाह्रो’



नेपाल समाचारपत्र, ललितपुर ।

नेपाल उद्योग वाणिज्य महासंका अध्यक्ष शेखर गोल्छाले बैंकले कर्जामा लिने चर्को ब्याजदरका कारण उद्योगधन्दा सञ्चालन गर्न सकिने अवस्था नरहेको बताउँदै ब्याज दर घटाउन जोड दिनुभएको छ । ललितपुर उद्योग वाणिज्य संघको ५४औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरामा जोड दिनुभएको हो ।

‘कोरोनाबाट धराशयी भएको अर्थतन्त्र उकास्दै आर्थिक वृद्धिका लागि बैंकहरुले ब्याजदर घटाउनुको विकल्प छैन ।’ अध्यक्ष गोल्छाले भन्नुभयो– ‘ब्याज दर घटाउने विषयमा नेपाल राष्ट्र बंैकको ध्यान जानुपर्दछ ।’ उहाँले कोरोना महामारीबाट अति प्रभावित उद्योगी व्यवसायीलाई सरकारले मौद्रिक नीति मार्फत सम्बोधन गर्न खोजे पनि ठूला उद्योगी व्यवसायी मात्रै लाभान्वित हुने अवस्था आएको बताउनुभयो ।मौद्रिक नीतिबाट साना तथा मझौला उद्योगी व्यवसायीलाई राहत पाउन सकेको छैन, अध्यक्ष गोल्छाले भन्नुभयो–‘महासंघको प्राथमिकता पनि साना तथा मझौला व्यवसायीलाई राहत उपलब्ध गराउनेतर्फ रहेको छ ।’कृषिलाई व्यावसायिक बनाउँदै साना तथा मझौला उद्योग व्यवसायमा लगानी बढाउन सकिए नेपालको आर्थिक वृद्धिदर दोहोरो अंकमा पु¥याउन सकिने पनि अध्यक्ष गोल्छाको भनाइ रहेको छ । उहाँले कृषि क्षेत्रमा रहेको परम्परागत उत्पादनलाई प्रतिस्थापन गरी बढी फाइदा दिने वस्तुको उत्पादन गर्नेतर्फ किसानलाई प्रोत्साहन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले आयातमुखी अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ रुपान्तरणका लागि उपयुक्त अवसर आएको बताउनुभयो । विदेशमा रहेका दक्ष जनशक्ति फर्किने क्रम रहेकाले अहिले स्वरोजगारमूलक रोजगारी सिर्जना गर्ने अवसर आएको बताउँदै अध्यक्ष न्याछ्योंले भन्नुभयो–‘दक्ष जनशक्तिमार्फत स्वदेशी उत्पादनलाई बढावा दिने र कृषिको व्यावसायिकताको लागि काम गर्ने अहिले उपयुक्त समय हो । यसका लागि तीनवटै तहका सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नु आवश्यक छ ।’सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शैलेन्द्रलाल प्रधानले स्थानीय तहको निर्वाचनताका घन्काइएको नारा गाउँ–गाउँमा सिंहदबार भन्ने नारा व्यवहारमा अझै चरितार्थ नभएको धारणा राख्नुभएको छ।

काम विशेषले सरकारी कार्यालय जाँदा अझै पनि थुप्रै समस्याहरु सामना गर्नुपरिरहेको बताउँदै पूर्वअध्यक्ष प्रधानले उद्योग व्यवसायलाई नै निरुत्साहित गर्ने नीति र प्रवृतिको विषयमा संघ र महासंघ मिलेर सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुपर्ने खाँचो आंैल्याउनुभयो । अहिले पनि स्थानीय तह, संघीय सरकारअन्तर्गत रहेका कार्यालयमा उद्योग व्यवसाय दर्ता, नवीकरण, कर तिर्ने लगायत व्यवसाय सम्बद्ध कार्य गराउन झन्झटिलो, ढिलासुस्ती, अव्यावहारिक कर नीति कायम रहेको पूर्व अध्यक्ष प्रधानले बताउनुभयो । त्यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संघ र महानगरपालिका मिलेर अघि बढ्ने प्रतिबद्धता दोह¥याउनुभयो । सो अवसरमा २५ वर्षसम्म संघको सदस्य रहेका विभिन्न उद्योग व्यवसायलाई कदर पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्