विदेश जाने घटे पनि रेमिट्यान्स भने बढ्यो



काठमाडौं, (नेस) ।

वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आए पनि वैदेशिक रोजगारीको कमाइबाट प्राप्त हुने रेमिट्यान्स भने बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाह १० दशमलव ९ प्रतिशतले वृद्धि भई ५६७ अर्ब ७० करोड रुपियाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव ७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६ दशमलव ७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह शून्य दशमलव ५ प्रतिशतले घटेको थियो ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५ दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१ द्यशमलव ७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७ दशमलव ४ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या शून्य दशमलव ६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८ दशमलव ८ प्रतिशतले वृद्धि भई ६२९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ दशमलव ५ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्