फेरि संसद् विघटन गर्ने प्रधानमन्त्रीको संकेत

राष्ट्रपति र प्रधानमन्त्रीको एउटै बोली



मधुसूदन रायमाझी, काठमाडौं  ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाउनुभएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाले काम गर्न नसकेकाले तत्काल नै निर्वाचनमा जानुपर्ने बताउनुभएको छ। उहाँले संसद्ले प्रभावकारीरुपमा काम गर्न नसकेको भन्दै ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने बताउनुभएको हो।सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गर्दै प्रतिनिधिसभा पुनस्र्थापित गर्ने फैसला गरेको थियो।

संसद् पुनस्र्थापित भएपछि सरकार हेरफेरका लागि लागि राजनीतिक दलहरू सत्ता समीकरणमा जुटिरहेका बेला मंगलबार राष्ट्रपति भण्डारीले शीतलनिवासमा आयोजना गर्नुभएको सर्वदलीय बैठक एवं चियापानमा नेताहरुले सर्वदलीय बैठक उचित समयमा नराखेकोप्रति असन्तुष्टि जनाएका थिए।बैठकको शुरूमै राष्ट्रपति भण्डारीले आफू बंगलादेशको भ्रमणमा जान लागेको र कोरोनाका कारण लामो समयदेखि दलहरुसँग भेटघाट नभएकाले बैठकको आयोजना गरिएको जानकारी गराउनुभएको थियो। राष्ट्रपतिले छोटो मन्तव्य राखेलगत्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्नुभन्दा पहिला नै बोलाएको भए पो हुन्थ्यो भनेर जवाफ दिनुभएको थियो।त्यसै गरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश अहिलेको परिस्थितिमा पुग्नुमा बढी जिम्मेवार राष्ट्रप्रमुख रहेको बताउनुभएको थियो।

सामान्य कुराकानी सकेसँगै चियापान कार्यक्रममा नेताहरु सहभागी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको प्रतिनिधिसभा विघटनको मुद्दालाई सर्वोच्च अदालतले उल्टाइदिए पनि विघटन गरेर जाने प्रावधान रहेको बताउनुभएको बैठकमा सहभागी एक नेताले बताए। उनले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने– ‘पुनस्र्थापित प्रतिनिधिसभाले काम गर्ला जस्तो छैन, अब फेरि विघटन गरेर चुनावमा जाऊँ त्यसका लागि छलफल गरौं।’ प्रधानमन्त्रीको बोलीको कांग्रेसका नेता पौडेलले प्रतिवाद गर्दै संविधान मिच्नका लागि सल्लाह हुन नसक्ने बताउनुभएको थियो।नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिले संकटका बेलामा छलफल गरौं भनेर भन्न सक्ने भए पनि अहिले उपयुक्त समय नभएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो।‘प्रधानमन्त्री र दलका नेताहरुबीच सवालजवाफ सकिएसँगै अन्तिममा आफ्नो मन्तव्य राख्दै राष्ट्रपति भण्डारीले चुनाव त ठूलो कुरा होइन तर चुनाव गर्दा के हुन्छ भन्नुभयो।’ –भेटमा सहभागी ती नेताले भने। प्रधानमन्त्रीले संसद्ले काम गर्न नसकेको र ताजा जनादेशमा जानुपर्ने अभिव्यक्तिलाई बल पुग्ने गरी राष्ट्रपति भण्डारीले पनि निर्वाचनमा जोड दिनुलाई सर्वदलीय बैठकमा सहभागी नेताहरूले निकै अर्थपूर्णरुपमा लिएका छन्। राष्ट्रपति भण्डारी चैत ९ गते बंगलादेशको दुई दिने राजकीय भ्रमणमा जाने कार्यक्रम रहेको छ।

सर्वदलीय बैठकपछि प्रतिक्रिया दिँदै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रप्रमुखले जिम्मेवारी निर्वाह नगर्दा अहिलेको परिस्थिति आएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘जिम्मेवार ठाउँमा बसेकाहरुले जिम्मेवारी पूरा नगर्दा अहिलेको अवस्था आएको हो, राष्ट्रपति र प्रधानमन्त्रीले चुनावको कुरा गर्नुभयो, हामीले हुँदैन भन्यांै।’राष्ट्रपति भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल सहभागी हुनुभएन। त्यसै गरी जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराई पनि अनुपस्थिति रहनुभएको थियो।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादीका नेता महन्थ ठाकुर, उपेन्द्र यादवलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्