सिन्धुलीका सात स्थानीय तहमा नगर प्रहरी भर्ना, दुई स्थानीय तहमा बाँकी



बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीमा रहेका ७ स्थानीय तहहरुले नगर प्रहरी भर्ना गरेका छन् । ९ स्थानीय तह रहेको जिल्लामा अहिले सम्म दुई स्थानीय तह बाहेक अरु सबैले नगर प्रहरी भर्ना गरेका छन् । पछिल्लो पटक हरिहरपुरगढी गाउपालिकाले चैत १ गते देखि करार अवधि सुरु हुने गरी गाउँ प्रहरी भर्ना गरेसँगै जिल्लामा नगर तथा गाउँ प्रहरी भर्ना गर्ने स्थानिय तहको संख्या ७ पुगेको हो ।

हरिहरपुरगढी गाउपालिकाले ४ जना गाउ प्रहरी भर्ना गरेको गाउपालिका अध्यक्ष कारसाङ लामाले जानकारी दिनुभयो । हरिहरपुरगढी गाउपालिले नयाँ भर्ना गरिएको गाउ प्रहरीलाई मंगलवार सपथ समेत खुवाएको छ । अब सिन्धुलीका सुनकोशी गाउपालिका र घ्याङलेख गाउपालिकाले मात्रै गाँउ प्रहरी भर्ना गर्न बाँकी छ ।

प्रहरी भर्ना गर्न बाँकी यी दुई स्थानिय तहहरुले पनि भर्ना गर्ने योजना बनाएको बताएका छन् । जिल्लाका स्थानिय तहहरुले नगर तथा गाउँ प्रहरीको लागि कार्य विधि तयार गरेर भर्ना गरेका हुन् । कमलामाइ र दुधौली नगरपालिकाले १५÷१५ जना नगर प्रहरी भर्ना गरेका छन् ।

फिक्क्ल गाउपालिकाले ५ जना, गोलन्जोर गाउपालिकाले ३ जना, मरिण गाउपालिकाले २ जना, तिनपाटन गाउपालिकाले २ जना गाउ प्रहरी भर्ना गरेका छन् । स्थानिय तहहरुको आन्तरिक शान्ति सुरक्षा व्यवस्थापनका साथै विकास निर्माणका काम हुने अवरोधलाई अन्त्य गर्नको लागि नगर तथा गाउ प्रहरी भर्ना गरिएको मरिण गाउपालिका अध्यक्ष पानीराज बम्जनले बताउनुभयो । स्थानीय सरकार संचालन ऐन २०७४ ले स्थानीय तहलाई नगर प्रहरी भर्ना गर्न पाउने अधिकार दिएको छ।

प्रतिक्रिया दिनुहोस्